coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जम्मा सिट एउटा, मन्त्रीचाहिँ तीनपटक

काठमाडौं- प्रेमबहादुर सिंह समाजवादी जनता पार्टीका अध्यक्ष हुन्। साना दलका नेतामध्ये उनी भाग्यमानी दरिएका छन्। संसद्मा एक सिटमात्र भएर पनि उनी लोकतन्त्र स्थापनापछि दुईपटक मन्त्री हुन सफल भए। र, फेरि तेस्रोपटक पनि बन्दैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहलाई मन्त्री बनाउनकै लागि बिहीबार मन्त्रिमण्डल पाँचौं पटक विस्तार गर्दैछन्। यसअघिको एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि सिंह मन्त्री भइसकेका छन्।

निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाएको भन्दै सिंहको दलको दर्ता खारेज गत वर्ष गरेको थियो। निर्वाचन आयोगले दर्ता खारेज गरेको दलको नेतालाई मन्त्रिपरिषद्मा लैजान हुन्थ्यो/हुँदैनथ्यो भन्ने विवाद कायमै छ। केपी शर्मा ओली सरकारले फुटाएका मन्त्रालयलाई पुनः जोड्ने भन्ने आफ्नै प्रतिबद्धतालाई समेत लत्याउँदै प्रधानमन्त्री दाहालले सिंहलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिँदैछन्। उनै सिंहलाई मन्त्री बनाउनका लागि नै एमाले अध्यक्ष ओलीले समेत सहरी विकास मन्त्रालयलाई विभाजन गरी खानेपानी तथा सरसफाइ मन्त्रालय नामको नयाँ मन्त्रालय नै खडा गरिदिएका थिए जसलाई पुनः जोड्ने निर्णय दाहालले आफू प्रधानमन्त्रीमा चुनिएपछिको दोस्रो मन्त्रिपरिषद् बैठकबाट गरे तर त्यसमा उनी पाँच महिना पनि टिक्न सकेनन्।

'भोलि (बिहीबार) साढे २ बजे राष्ट्रपतिकोमा शपथ कार्यक्रम राखिएको खबर पाएको छु, प्रधानमन्त्रीज्यूले खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हाल्ने भन्नुभएको छ', सिंहले नागरिकसँग भने। हुन त सिंहलाई मन्त्रिपरिषद्मा लैजाने वचन प्रधानमन्त्री दाहालले आफू निर्वाचित हुनुभन्दा अघि नै दिएका थिए तर 'प्राविधिक' कारण उक्त मन्त्रालय उनले पाँच महिनासम्म पाएनन्। आफू संयुक्त अरब इमिरेट्स जानु अघिल्लो दिन भने प्रधानमन्त्री दाहालले टेलिफोन नै गरी मन्त्रीको शपथका लागि तयार हुन अनुरोध गरे।

ओलीको पालामा खानेपानी तथा सरसफाइ र माधव नेपालको पालामा कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी सम्हालेका सिंह २०५३ सालमा पनि मन्त्री बन्न सफल भएका थिए। २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा कानुन तथा न्यायमन्त्री भएका सिंह त्यति बेला एमालेका केन्द्रीय नेता थिए। 'चन्दजीको नेतृत्वको सरकारमा मन्त्री हुँदा म एमालेबाट भएको थिएँ', सिंह सम्झन्छन्। एमालेको सातौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि ५२ जना नेतासहित उनले तत्कालीन महासचिव माधवकुमार नेपाललाई 'पार्टीमा जिम्मेवारी दिनुपर्ने भन्दै' ज्ञापन पत्रसमेत बुझाएका थिए। ०४६ सालअघि नेमकिपाको राजनीतिमा सक्रिय सिंह बहुदलीय व्यवस्था स्थापनापछि अर्थात ०४७ सालपछि एमालेमा प्रवेश गरेका थिए।

माघ १९ को तत्कालीन राजा ज्ञानेन्द्रको शाही कदमपछि एमाले छाडेर दरबारनजिक भएका सिंहले त्यतबाट भने कुनै लाभको सार्वजनिक पद पाएनन्। त्यसपछि पहिलो संविधानसभाको चुनावमा अलग्गै दल समाजवादी जनता पार्टी दर्ता गरेर चुनावमा होमिए, जसले एउटा सिट दिलायो। त्यही सिटका कारण नै सिंह कानुन तथा न्याय मन्त्रीको जिम्मेवारीमा दोहोरिए।

सुरुमा माधव नेपालको गठबन्धनमा रहेका सिंह पछिल्लो समयमा दाहाल नेतृत्वको गठबन्धनमा छन्। उनी दोस्रो संविधानसभा चुनावपछि माओवादी–मधेस केन्द्रित दलको गठबन्धनको प्रवक्तासमेत रहे। उनी समेत सहभागी भएको ओली सरकार औपचारिक रुपमा नढल्दै माओवादी–कांग्रेसको गठबन्धनमा लागेका सिंहले दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको दिनमा दुबोको माला लगेर दाहाललाई लगाइदिएका थिए।

सिंहसँगै अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का पनि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीको सपथ लिँदैछन्।

प्रकाशित: ६ माघ २०७३ ०४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App