coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अपराध नियन्त्रण गर्न सहकार्यमा जोड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध नियन्त्रणका लागि एसियाली राष्ट्रसँग सामूहिक सहकार्यका लागि आह्वान गरेका छन्। इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आतंकवाद, संगठित अपराध र प्रविधिजन्य अपराध एसियाका सबै देशको सामूहिक समस्या रहेको बताए।

३३ राष्ट्रका १ सय ३२ प्रतिनिधि सहभागी सम्मेलनमा दाहालले साइबर अपराध समस्या जटिल भएकाले यसविरुद्ध लड्न सबै राष्ट्रबीच सहकार्यको आवश्यकता औंल्याए। उनले भने, 'आतंकवाद, संगठित अपराध र साइबर अपराधविरुद्ध लड्न सामूहिक सहकार्य गरौं।'

दाहालले प्रविधिको विकाससँगै कानुन कार्यान्वयन गर्ने निकायलाई शान्तिसुरक्षा व्यवस्थापनमा चुनौती बढेको बताउँदै प्रविधि दुरुपयोग गरी हुने अपराध नियन्त्रण गर्न सम्मेलनले उपाय खोज्ने विश्वास व्यक्त गरे।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संगठित अपराध पहिचान र रोकथामका लागि सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। संगठित अपराधको सीमा नहुने बताउँदै उनले सम्मेलनमा अनुभव साटासाट गर्दा फलदायी हुनेमा जोड दिए।

इन्टरपोलका अध्यक्ष मेङ होङवेईले इन्टरपोल सदस्य राष्ट्रहरुले अपराध नियन्त्रणमा गरेका प्रयास तथा अनुभव साटासाट गर्न सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले आतंकवाद, संगठित अपराध र साइबर अपराध नियन्त्रणमा देखिएका चुनौतीसँग जुध्ने उपाय खोज्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले इन्टरपोलमा आबद्ध एसियाका देशबीच आतंकवाद, संगठित अपराध, साइबर क्राइम, आर्थिक अपराध नियन्त्रण गर्न एकआपसमा सहयोग तथा सहकार्य आवश्यक रहेको बताए। उनले इन्टरपोलको सहयोगमा अपराध नियन्त्रणका लागि प्रविधि तथा सूचना आदानप्रदान गर्न समेत सम्मेलनले महŒवपूर्ण भूमिका खेल्ने बताए। शुक्रबार सकिने सम्मेलनमा मानव बेचविखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतंकवाद, साइबर अपराध, बन्यजन्तुसम्बन्धी अपराधबारे छलफल हुनेछ ।

प्रकाशित: ६ माघ २०७३ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App