७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेसी मोर्चाले मनायो बलिदानी दिवस

काठमाडौं- मधेसी मार्चाले बुधबार दसौं बलिदानी दिवस मनाएको छ। यस अवसरमा काठमाडौंको मण्डलामा मधेसका बुद्धिजिवी र दलका नेताले बुधबार साँझ दीप प्रज्वलन गरे। समृद्धि मधेस युवा विद्यार्थी नागरिक फोरमको तर्फबाट दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

यस्तै तराईका विभिन्न जिल्लामा पनि कार्यक्रम आयोजना गरी बलिदानी दिवस मनाइयो। मधेस केन्द्रित दलले गरेको मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते लहानमा रमेश महतोको मृत्यु भएको थियो। सो दिनलाई सम्झना गर्दै मोर्चाले हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ।

सरकारले पहिलो र दोस्रो मधेस आन्दोलनको क्रममा मृत्यु भएका ५३  र तेस्रो मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनालाई सहिद घोषणा गरेको छ। मधेसी मोर्चाले थप १९ जनालाई सहिद घोषणा गर्न सरकारसँग आग्रह गरेको छ।

तेस्रो मधेस आन्दोलनका क्रममा २ हजार २ सय ३९ जना घाइते भएको विवरण मोर्चाले तयार पारेको छ। यसैगरी आन्दोलनका क्रममा ४२ व्यक्ति अंगभंग भएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी गराए।

पहिलो मधेस आन्दोलन २०६३ माघ १ गते र दोस्रो मधेस आन्दोलन २०६४ फागुन १ गतेबाट सुरु भएका थिए। यसैगरी तेस्रो मधेस आन्दोलन २०७२ साउन ३१ मा सुरु भई २०७२ माघ २५ गते सकिएको थियो ।

प्रकाशित: ६ माघ २०७३ ०२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App