coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा

काठमाडौं-अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सदस्य बनेको ५० वर्षयता नेपालले दोस्रोपटक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर पाएको छ । २७ वर्षअघि नेपालले पहिलोपटक इन्टरपोलको १०औं एसिया क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो।

आपराधिक समूहको जालो च्यात्न क्रियाशील विश्वका एक सय ९० मुलुकका प्रहरी र कानुन कार्यान्वयन निकायका समकक्षीलाई नेपालीले दोस्रोपटक राजधानीमा स्वागत गर्ने अवसरका लागि भने  वर्षौं कुर्नुपर्‍यो।

जापानको क्युटोमा २७ सेप्टेम्बर १९६७ मा सदस्य भएयता नेपालले १२ अभियुक्तलाई मात्र विदेशबाट विभिन्न अपराध सिलसिलामा अनुसन्धान तथा कारबाहीका लागि स्वदेश ल्याउन सकेको छ । यसबाट नेपालले इन्टरपोलबाट अपेक्षित लाभ लिन नसकेको महसुस भएको छ । 

इन्टरपोलको रेड कर्नर नोटिसमार्फत विभिन्न अपराधमा संलग्न दुई विदेशी नागरिकसहित १६ जनाको खोजी भने जारी छ । बेपत्ता र हराएको आशंका गरिएका १३ जनाको ‘यलो नोटिस’ मार्फत खोजी जारी छ ।

सदस्य भएको ५० वर्षमा अपराधका शैली, अपराधमा प्रविधि प्रयोग र विश्वव्यापी भएको अपराधसँग लड्न नेपालका थुप्रै चुनौती छन् । यसका लागि बलियो विकल्पका रुपमा व्याख्या गर्दै आएको नेपालले इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलन आयोजना गरेको छ ।

विश्वभर रहेका कानुन कार्यान्वयन इकाइका वरिष्ठ अधिकारी सम्मिलित सम्मेलन तीन दिनसम्म चल्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने इन्टरपोलको एसिया क्षेत्रीय भेलामा ५२ सदस्य ब्युरो र तीन सहायक–ब्युरो गरी ५५ मुलुकका करिब २ सय ५० जना भन्दा धेरै कानुन कार्यान्वयन निकायका उच्चअधिकृत सहभागी हुनेछन् ।

प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको कार्यालयका अनुसार सन् २०११ मा वित्तीय अपराधमा संलग्न रोशन पाण्डे र जमिम साहका हत्याआरोपी श्रीकृष्ण पौडेल पक्राउ गर्न नेपालले इन्टरपोलको सहयोग लिएको हो ।

यस्तै, सन् २०१२  वरिष्ठ चिकित्स उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटा अपहरणका मुख्य योजनाकार राजु थापालाई इन्टरपोलको सहयोगमा नेपालले फिर्ता ल्यायो । यसै वर्ष भारतको अनुरोधमा वित्तीय अपराधमा संलग्न विनिता प्रधानलाई पक्राउ गरी भारतलाई बुझाइएको थियो । सोही वर्ष हत्याआरोपी अनिल राई र युनिटी ठगीका मुख्य आरोपी काशिराम गुरुङ इन्टरपोलको सहयोगमा पक्राउ परेका थिए ।

सन् २०१३ मा ललितपुरबाट चलेको दिवाकर चन्द हत्याकाण्डका मुख्य अभियुक्त ईश्वर भण्डारी पक्राउ परे । सन् २०१४ मा मेघा देवकोटा अपहरणका मुख्य आरोपी गोकुल गिरी पक्राउ परे । यस्तै, सोही वर्ष पर्सामा भएको एउटा अपहरणपछिको क्रूर हत्याका आरोपी दिपंकर दत्त पक्राउ परेका हुन् ।

सन् २०१५ मा कुख्यात गैंडा सिकारी राजकुमार प्रजालाई इन्टरपोलको सहयोगमा मलेसियाबाट पक्राउ गरी नेपाल ल्याउन प्रहरी सफल भयो । सोही वर्ष जमिम साह हत्यामा संलग्न प्रहरीका डिएसपी जगदीश चन्दलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याउन प्रहरी सफल भयो ।

यस्तै, सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न सञ्जय इस्माइली मगर इन्टरपोलको सहयोगमा साउदी अरबबाट नेपाल फिर्ता ल्याइए ।

दुई महिनाअघि मात्र इन्डोनेसियामा सम्पन्न महासभाबाट चयन भएका इन्टरपोल अध्यक्ष मेङ हङवेईलाई पहिलोपटक नेपालले स्वागत गर्न पाउनेछ ।

अपराध अनुसन्धान विभाग (सिआइडी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले भारत र चीनका नागरिक र भूमिबाट भइरहेका अपराध नियन्त्रणको विषय प्राथमिकतामा रहेको जानकारी दिए । उनले सम्मेलनमा भारत र चीनबाट आउने अधिकारीसँग नेपालले एकल र द्विपक्षीय वार्ता गर्ने बताए । सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतंकवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा छलफल हुनेछ । 

एआइजी शर्माले नेपालबाट अपराध गरी फरार अभियुक्त र नेपालमा रहेका अन्तर्राष्ट्रिय अभियुक्तलाई सुपर्दगी गर्न मौजुदा कानुनमै सुविधा र सहमति खोज्ने प्रयास सम्मेलनमा हुनेछ । यस्तै, अन्तर्देशीय अपराध र प्रविधिजन्य अपराधको रोकथाम, नियन्त्रण र प्रभावकारी अनुसन्धानका लागि आवश्यक सहयोग र सहकार्यका लागि सम्मेलन फलदायी हुने उनले बताए ।

प्रकाशित: ५ माघ २०७३ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App