८ वैशाख २०८१ शनिबार
खेल

एसी मिलानको पुनरागमन

मिलान(एएफपी)– दुई गोलले पछि परेको एसी मिलानले उत्कृष्ट पुनरागमन गर्दै सोमबार लिग खेलमा टोरिनोसँग २–२ को बराबरी गरेको छ। बराबरीसँगै सिरी ‘ए’ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको मिलानले युरोपियन च्याम्पिनसिपमा छनोट हुने आशा जीवित राखेको छ।

२१ औं मिनेटमा इयागो फल्काओको पासमा आन्द्रिया बेलोटीले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए। जारी सिजनमा बेलोटीको यो १४ औं गोल हो र उनी धेरै गोल गर्ने खेलाडी सूचीकोे दोस्रो स्थानमा छन्। १५ गोल गरेका इन्टर मिलानका माउरियो इकार्डी शीर्ष स्थानमा छन् । त्यसको ५ मिनेटपछि बेलोटीको पासमा मार्को बेनासीले गोल गर्दै टोरिनोको अग्रता दोब्बर पारेका थिए ।

तर ३१ औं मिनेटमा इडेम लिजाजिकको पेनाल्टी मिलानका १७ वर्षे गोलकिपर जियानलुगी डोनारुमाले बचाउदा टोरिनोले आफ्नो अग्रता ३–० बनाउने  मौका खेर फालेको थियो । मिलानका इग्नाजियो एबेटले एन्टोनियो बारेकालाई लडाउँदा टोरिनोले पेनाल्टीको अवसर पाएको थियो ।

मध्यान्तरपछि सकारात्मक सुरुआत गरेको मिलानका लागि ५५ औं मिनेटमा एन्डेरा बेट्रोलासीले गोल गर्दै टोलीको आशा जगाएका थिए । त्यसको ५ मिनेटपछि कार्लोस बाकाले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए।

८८ औं मिनेटमा एल्सियो रोमाग्लोनी दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि मिलानले अन्तिम १० मिनेट १० खेलाडीमा सीमित भएर खेल अन्त्य गर्नु प¥यो ।

बराबरीसँगै ३७ अंक जोडेको एसी मिलान सहरको अर्को प्रतिद्वन्द्वी इन्टर मिलान (३६) लाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष टोली युभेन्ट्सभन्दा एसी मिलान ८ अंक पछाडि छ । मिलानले शनिबार हुने लिग खेलमा तेस्रो स्थानको नेपोलीसँग खेल्नेछ ।

गत साता सम्पन्न इटालीयन कपमा मिलानले टोरिनोलाई २–१ ले पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको थियो । टोरिनो भने ३० अंकका साथ ८ औ स्थानमा रहेको छ।

 

 

प्रकाशित: ५ माघ २०७३ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App