coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टेस्ट ट्युव बेबी सेवा लुम्बिनी मेडिकल कलेजबाट सुरू

पाल्पा–पाल्पामा सञ्चालनमा रहेको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले टेष्ट ट्युब बेबी सेवा ल्याएको छ। कलेजको बुटवलमा रहेको शाखाबाट यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

लुम्बिनी सिटी अस्पताल, बुटवलमार्फत् अस्पतालले निःसन्तान दम्पत्तीको उपचारकालागि टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याएको हो। बुटवलबाट सुरु गरिएको सेवा निकट भविष्यमै पाल्पामा विस्तार गरिने लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव निर्दोष खनालले बताए। ‘यहाँका जनताको माग बढ्दै गएमा सेवालाई विस्तार गरी पाल्पास्थित अस्पतालबाट समेत यो सेवा दिन सकिनेछ’, खनालले भने। पाल्पाका जनतालाई बुटवल खासै टाढा नपर्ने भएकोले अहिलेलाई सबैलाई सहज हुनेगरी बुटवलमा सेवा सुरु गरिएको उनले बताए।

निसन्तान दम्पत्तीले सन्तान चाहेमा सहज रुपमै सन्तान जन्माउन सक्ने अस्पतालका डाक्टर प्रकाश सापकोटाले बताउँछन्। ‘दम्पत्तीको स्वास्थ्य स्थितिको आधारमा कति खर्च लाग्छ भन्ने कुरा निर्धारण हुने हो’, डा. सापकोटाले भने, ‘१०–२० हजारमै पनि बच्चा जन्माउन सकिन्छ। अवस्था जटिल भएमा २५ देखी ३० लाखसम्म लाग्न सक्छ ।’

अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले अस्पतालले हालसम्म ल्याप्रोस्कोपी सर्जरी, हाडजोर्नी, फिजिसियन,  नाककान घाँटी,  बालरोग, महिला तथा प्रसुतीरोग सम्बन्धि सेवा निरन्तर दिँदै आइरहेको बताए। अस्पतालमा नवजात शिशुकालागि कठिन अवस्थामा उपचार गर्न एनआइसियु तथा पिआइसियु सेवासमेत सञ्चालन भएको समयमा टेस्टट्युव बेबी सेवा ल्याएको पोखरेलले बताए ।

यो सेवासँगै प्राकृतिक रुपमा सन्तान जन्माउन नसक्ने दम्पत्तीले कृत्रिम रुपमा बच्चा जन्माउन सक्नेछन्। बुटवलस्थित लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्स प्रालिले पश्चिम क्षेत्रमा पहिलोपटक टेस्ट ट्यूब बेबी सेवा सञ्चालनमा ल्याएको हो ।

 

प्रकाशित: २१ असार २०७३ ०६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App