८ वैशाख २०८१ शनिबार
राजनीति

पत्रकारलाई फल्याट दिन सम्भव छ, यो हाँसोको कुरा होईन: सन्चारमन्त्री

दाङ- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले नेपाली राजनीतिलाई खराब रहेको अफवाह फिजाउने तप्का र आईएनजिओका कारण संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन्। उनले समाजवादी आन्दोलन यि दुई तप्काको चपेटामा परेको र समाजवादी आन्दोलनको असफलताकै कारण संघीयता कार्यान्वयन हुन नसकेको बताए।  ‘दाहिनेबाट राजनीतिको खराव बजार,देब्रे तर्फ आइएनजिओको चपेटामा सरकार परेको छ,’प्रेस सेन्टर नेपाल दाङले मंगलवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने ‘समाजवादी आन्दोलन चपेटामा परेकै कारण संघीयता कर्यान्वयन हुन सकेको छैन।’

सुरुमा खराव राजनीतिलाई गाली गर्ने र पछि समग्र राजनीतिको कामै छैन भन्दै गाली गर्ने लहड नजानिदो ढंगले चलिरहेको भन्दै उनले यो लहडले समाजवादी आन्दोलनलाई धक्का दिईरहेको बताए। राजनीतिलाईनै खराव देखाईदिएपछि समाजवादी आन्दोलनको अभियानमा स्वतः धक्का पुगेको उनको भनाई थियो। अर्को तर्फ खराव राजनीतिको अफवाहको मौका छोप्दै विदेशी खर्चमा चलेका आईएनजिओहरुले निमुखाको हितका नाममा सकृयता बढाईरहनुले राजनीतिको महत्व कमजोर बन्दै गएको र यसले सरकारलाई चपेटामा पार्दै लगेको बताए। ‘जव समाजवादी आन्दोलन सफल बन्दैन तव संघीयता कार्यान्वयन हुन सक्दैन,’उनले भने ‘समाजवादी आन्दोलनलाई धरापमा पार्ने गरि गरिब असहाय, टुहुराका कुरा गर्ने आइएनजिओ हरु हाबी भैरहेका छन्,यसको चपेटामा सरकार परेको छ।’

अर्को प्रसंगमा कार्कीले स्थानीय निर्वाचन सफल पार्नका लागि अन्य दलहरुलाई सरकारमा थप्ने तयारी भैरहेको बताएका छन्। युएई भ्रमणबाट प्रधानमन्त्री पुष्पकमल दहाल फर्केलगत्तै राप्रपा, फोरम लोकतान्त्रीकलाई सरकारमा समावेश गर्ने तयारी भैरहेको समाचार बाहिर आएकाबेला प्रवक्ता कार्कीले सरकार विस्तारबारे कुराकानी भैरहेको बताए। ‘एमाले पनि सरकारमा सहभागी भए स्थानीय निर्वाचन सफलता पूर्वक सम्पन्न हुने थियो,’ मन्त्री कार्कीले भने ‘एमाले सहभागी नभएपनि अन्य दलहरुलाई सहमतीमा ल्याउन सकियो भने निर्वाचनमा सहयोग पुग्छ भन्ने मनसायले सरकार विस्तारको कुरा चलेको हो।’

उनले पाईलट प्रजेक्टका रुपमा काठमाडौँमा पत्रकारलाई ‘फल्याट’दिने व्यवस्थाको लागी आफूले तयारी गरिरहेको बताए। यो योजनालाई असम्भव भनेर हाँसोमा उडाउने गरेको भन्दै उनले भने ‘यो हाँसोको कुरा होईन, यो सम्भव छ।’ उनले उदाहरणकै लागि तत्काल बीस जना पत्रकारहरुका लागि फ्ल्याटको व्यवस्था गर्ने तयारीमा आँफू रहेको पनि बताए।

 

 

 

प्रकाशित: ४ माघ २०७३ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App