८ वैशाख २०८१ शनिबार
राजनीति

चैतमा निर्वाचन गर्ने संभावना समाप्तः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानुन दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले यस्तो बताएका हुन्।

उनले भने राजनीतिक दलका नेताहरुले फरक फरक मितिमा निर्वाचन गर्ने बताएकाले आयोग अन्योलमा रहेको बताए। ‘अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैतमा चुनाव हुने भनेका छन्, कसैले वैशाखमा भनेका छन्, त कसैले जेठमा गर्ने कुराहरु आइरहेका छन्, आयोग अचम्मित बनेको छ।’

उनले अब चैतमा चुनाव हुन नसक्ने दाबी गरे। ‘अब चैतमा चुनावमा हुन सक्दैन्, बैशाख २८/२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ,’ उनले भने। आयोगले अहिले पुरानै ऐन तथा कानुन अनुसार काम गरिरहेको उनको भनाइ थियो।

प्रमुख आयुक्त डा. यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने समेत बताए। उनले भने, ‘स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ, दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सुरक्षा निकायसँग समन्वय गर्नुपर्छ।’ उनले दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधिसभाको निर्वाचन गर्न आयोग तयार रहेको स्पष्ट पारे।

उनले भने, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन्।’
उनले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि संभव रहेको बताए। दुवै निकायको चुनाव एकैपटक गर्न संभव भए पनि प्राविधिक रुपमा समस्या हुने उनको भनाइ थियो।

उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदान स्थल, मतदान, मतपरिणाम, मतपेटिका, मसलन्द, मानव संशाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको बताए।

प्रकाशित: ४ माघ २०७३ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App