८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

‘एसियामा विद्युतीय फोहोर उत्पादन खतरनाक’

मनिला–संयुक्त राष्ट्रसंघ विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले एसियाली मुलुकहरुमा विद्युतीय फोहोर तीब्रस्तरमा वृद्धि भएको र यसबाट वातावरण तथा मानव स्वास्थ्यमा गम्भीर प्रकारका नकारात्मक असर पार्ने जनाएको छ ।

एसियामा करोडौं मानिसको स्मार्ट फोन तथा अन्य विद्युतीय सामग्रीमा आकर्षण बढ्दा र एसियाली जनताको आम्दानीमा वृद्धि हुँदा पछिल्लो पाँच वर्षमा विद्युतीय फोहोर उत्पादन ६३ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसंघ विश्व विद्यालयले तयार पारको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यस क्षेत्रका प्राय राष्ट्रमा विद्युतीय फोहोरलाई पुनः प्रयोग र सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ ।

‘प्रायः राष्ट्रमा विद्युतीय फोहोर व्यवस्थापन गर्ने वातावरणमैत्री संरचना नदेखिएको र यस क्षेत्रमा उत्पादित बढ्दो फोहोर व्यवस्थापन सबैको चासोको विषय बनेको छ,’ प्रंतिवेदन तयार पार्ने समूहका एक अनुसन्धाता तथा राष्ट्रसंघ विश्व विद्यालयका दिगो फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रमुख रुइडिगर कुइरले बताए ।  

पछिल्ला केही वर्षमा चीन र एसियाली केही अन्य भू–भाग विकसित राष्ट्रमा उत्पादित विद्युतीय फोहोर थुप्राउने ठाउँ बनेका छन् तर फोहोरलाई पुनः प्रयोग गर्न अपनाइने गरेको प्रविधि प्रायजसो अन्यन्त सस्तो र असुरक्षित प्रविधियुक्त कम्पनीमा गराउने गरको प्रतिवेदनको ठहर छ ।

 तर प्रतिवेदनले एसियालाई पछिल्लो समय विद्युतीय फोहोर उत्पादन गर्ने मुख्य स्रोत केन्द्र बनेको बताएको छ । यसो हुनुमा एसियाली जनताको फोन, ट्याबलेट, रेफ्रिजेरेटर, व्यक्तिगत कम्प्यूटर र टेलीभिजनप्रतिको अत्याधिक आकर्षण रहेको बताइएको छ ।

चीनमा सन् २०१० को तुलानामा सन् २०१५ सम्ममा विद्युतीय फोहोर उत्पादन दोब्बर बढेको अध्ययनमा छ । राष्ट्रसंघले अध्ययनका लागि सन्. २०१० देखि सन् २०१५ को अवधि छुट्याएको थियो ।

 सन् २०१५ मा चीन  प्रशासित क्षेत्र हङकङमा प्रति व्यक्ति २१.५ किलोग्रामका दरले विद्युतीय फोहोरको उत्पादन भएको जनाइएको छ । त्यसैगरी सोही वर्ष सिंगापुर र ताइवानमा १९ किलोग्रामका दरले विद्युतीय फोहोर उत्पादन भएको थियो । यस क्षेत्रमा कम्बोडिया, भियतनाम, फिलिपिन्स थोरै फोहोर उत्पादन गर्ने राष्ट्रमध्येका रुपमा देखिएका छन् । यी मुलुकमा प्रतिव्यक्ति एक किलोग्रामका दरले फोहोर उत्पादन भएको प्रतिवेदनको ठहर छ ।

यसैबीच राष्ट्रसंघीय निकायद्वारा गरिएको अध्ययनले अव्यवस्थित तथा गैरकानूनी विद्युतीय फोहोर व्यवस्थापनका कारण वातवारणमा अत्यन्तै विषालु रसायन प्रवाह हुने र यसबाट जैविक स्वास्थ्य र वातावरणमा समेत नकारात्मक परिणाम निम्तिएको बताइएको छ ।

विद्युतीय सामग्रीमा धातुलाई छुट््याउन वा टुक्र्याउन प्रयोग हुने रसायनलाई अध्ययनको खास चासोको विषय भएको भन्दै उक्त रसायन वातावरणमा प्रवाहित हुँदा श्वास लिने क्रममा कुनै पनि प्राणीको शरीरमा प्रवेश गर्ने र जोखिम सिर्जना गर्ने अध्ययनले बताएको छ ।

चिनियाँ शहर गुइयुमा विषाक्त धातुजन्य पदार्थको मिश्रण पानी र हावामा फैलिदा उक्त शरहमा बसोबास गर्ने बालबालिकाको रगतमा नै अत्यधिक लिडको मात्रा पाइने गरेको शान्टोउ यूनिभर्सिटी मेडिकल कलेजका अुनसन्धाताले सन् २०१४ मा गरेको अध्ययनका क्रममा भेटिएको बताइएको थियो । गुइयु फोहोर पुनःप्रयोग गर्ने प्रविधि भित्र्याएर आफ्नो अर्थतन्त्रमा सुधार ल्याएको चिनियाँ शहर हो ।

प्रकाशित: ४ माघ २०७३ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App