८ वैशाख २०८१ शनिबार
समाज

परिवारले नस्विकार्दा आमाछोराकै बिचल्ली

पर्वत- हिन्दू संस्कारअनुसार शिशु जन्मेको ११ दिनमा न्वारन गरी नाम राख्ने परम्परा छ। यहाँ भने जन्मेको १८ महिना हुँदा समेत एक बालकको न्वारन हुन सकेको छैन। जन्मदिने बाबुले स्वीकार नगर्दा बाग्लुङ, मल्म– ७ का प्रतीक्षा पुन थापाले जन्माएको बालकको न्वारन हुन नसकेको हो।

बच्चा जन्माएको १८ महिना बितिसक्दा समेत जापानमा रहेका धनबहादुर थापाले स्वीकार नगर्दा छोराको न्वारन गर्न समेत नपाएको प्रतीक्षाले बताइन्। 'उनले बेइमानी गर्दा छोराको न्वारन गर्न पाएकी छैन,' न्यायको खोजीमा बाग्लुङ सदरमुकाममा भेटिएकी उनले भनिन्, 'चिने–जानेकाले छोराको नाम के हो भनेर सोध्छन्, जवाफ दिन सकेकी छैन।'

पाण्डवखानी– ३ माइत भएकी प्रतीक्षा मल्मको एक स्थानीय विद्यालयमा काम गर्दै आएकी थिइन्। धनबहादुर थापाको घरमा उनकी आमा एक्लै बस्ने गरेको र उनकी आमाको आग्रहमा प्रतीक्षा पनि धनबहादुरकै आमासँगै बस्दै आएकी थिइन्। धनबहादुर परिवारसहित जापानमा थिए। ०७१ को दसैँ–तिहार मनाउन घर आएका धनबहादुरले आफ्नी आमासँगै घरमा भाडामा बस्दै आएकी प्रतीक्षालाई नजर लगाउन थाले।

चाडपर्व मनाउन पाण्डवखानी गएकी प्रतीक्षा चाडबाड सकिएपछि मल्म फर्किइन्। घरमा धनबहादुर, उनकी आमा र प्रतीक्षा बस्दै आएका थिए।

'धनबहादुरले तिमीलाई छुट्टै घर बनाएर राख्छु भनेर प्रलोभनमा पारे, मैले विश्वास गरेर शारीरिक सम्बन्धसमेत राखेँ,' प्रतीक्षाले भनिन्।

डेढ महिनासम्मको सम्बन्धपछि धनबहादुर थापा जापान फर्किए। जापानबाट थापाले प्रतीक्षालाई फोन गर्ने, पैसा पठाउने गर्न थाले। दुई महिनापछि प्रतीक्षाले धनबहादुरलाई आफू गर्भवती भएको जानकारी गराइन्। धनबहादुरले पनि स्विकार्दै चिन्ता नलिन आग्रह गरे। उनले चैतसम्मको विभिन्न अवधिमा प्रतीक्षालाई जापानबाटै निरन्तर पैसा पठाइरहे। चैतमा प्रतीक्षा गर्भवती भएको धनबहादुरकी आमाले थाहा पाइन्। त्यसपछि उनले घरबाट प्रतीक्षालाई निकाला गरिन्।

'उनले आमालाई सम्झाएर मलाई व्यवस्थापन गर्लान् भन्ने सोचेकी थिएँ तर आमाले घरबाट निकालेपछि धनबहादुर सम्पर्कमै आउन छाडे,' प्रतीक्षाले भनिन्, 'मलाई श्रीमती स्विकार्ने कुरा परै जावस्, आफैँ सम्पर्क गर्दा तँलाई जति पैसा खर्च गरेर भए पनि स्विकार्दिन भनेर धम्की दिन थाले।'

गाउँमा रहेका महिला संघ–संस्था, आमा समूहको पहलका बाबजुद पनि धनबहादुरकी आमाले प्रतीक्षालाई घर छिर्न दिइनन्। प्रतीक्षा त्यसपछि माइतीको शरणमा पुगिन्। अन्ततः उनले १८ साउन ०७२ मा छोराको जन्म दिइन्।

आफूलाई श्रीमती नस्विकारेपछि प्रतीक्षाले नाता कायम गरी छोराको न्वारन गराइदिन र धनबहादुरको सम्पत्तिमध्ये आफू र छोरालाई अंश माग गर्दै बाग्लुङ जिल्ला अदालतमा मुद्दा दायर गरिन्। अदालतले प्रतीक्षा र बच्चाको पक्षमा फैसला गर्दै नाता कायम गरी न्वारन गराउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले धनबहादुरलाई प्रतीक्षासँगको नाता कायम गरी प्रतीक्षाबाट जन्मेको छोराको न्वारन गराउने फैसला गरेका हुन्। त्यस्तै, अंशसम्बन्धी अर्को मुद्दामा वादी र प्रतिवादीको नाममा जति सम्पत्ति छ, फाँटबारी पेस गर्न अदालतले आदेश दिएको छ।

अदालतले प्रतीक्षाको धनबहादुरसँग नाता कायम हुने ठहर गरेको जिल्ला अदालत बागलुङका स्रेस्तेदार रामबहादुर थापाले बताए।

फैसला भए पनि धनबहादुर पक्षले उच्च अदालतमा जाने बताएको छ। धनबहादुरले डिएनए परीक्षण नगरी आफूले बच्चा नस्विकार्ने बताउँदै आएका छन्। उनी केही समयअघि जिल्ला अदालतमा बयानका लागि जापानबाट आएका थिए। बयानपछि जापान फर्केका धनबहादुर अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

आइतबार बाग्लुङबजारमा छोरासँगै भेटिएकी प्रतीक्षाले धनबहादुरले आफ्नो शरीर लुटेर आफूलाई पीडा दिएको गुनासो गरिन्। 'पहिले त उसले जापानमा विवाह गरेको थाहा नै भएन, पछि समय घर्किसकेको थियो, मलाई छुट्टै घर बनाएर राख्छु भनेर फकाएपछि मानेकी हँु,' उनले भनिन्, 'अहिले यतिसम्म दुःख दिन खोजेको रहेछ।' उनले आफू ०७१ चैतमा घर निकालिएदेखि नै समस्यामा परेको बताइन्।

'माइतीमा जसोतसो बसेकी छु, अदालती काम, बयानलगायत कामका लागि सदरमुकाम बाग्लुङबजार आउँदा–जाँदा खर्च भइसकेको छ,' उनले भनिन्, 'जति दुःख पाए पनि न्याय पाउने आस बोकेर हिँडेकी छु।'

प्रकाशित: ४ माघ २०७३ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App