७ वैशाख २०८१ शुक्रबार
खेल

फाइनलमा दुई विभागीय टोली

काठमाडौं- दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको मंगलबार हुने फाइनलमा स्थान सुरक्षित गरेका छन्। त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न सेमिफाइनलमा विजय हासिल गर्दै पुलिस र आर्मीले फाइनलमा आपसी भिडन्त पक्का गरेका हुन्। पुलिसले न्यू होराइजन क्रिकेट क्लबमाथि ७ विकेट तथा आर्मीले सुदूर पश्चिम एकेडेमी (एसपिए)माथि ७० रनको जित हासिल गर्दै आफूलाई उपाधि भिडन्तयोग्य बनाए।

सागर पुनको अर्धशतकसँगै दुई विकेटको अलराउन्ड प्रदर्शनमा राजेश पुलामीको आक्रामक अर्धशतक थपिँदा आर्मीले एसपिएमाथि ७० रनको रबाफिलो जित दर्ता गरायो। सागर र राजेशले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १ सय ८७ रनको स्कोर खडा गरेको थियो।

म्यान अफ दि म्याच सागरले ५२ बलमा ८ चौका र १ छक्कासहित ७५ रनको योगदान गर्दा राजेशले २१ बलमा ४ चौका र ५ छक्काका साथ ५५ रनको आक्रामक इनिङ खेले। सागरका ओपनिङ पार्टनर अनिलकुमार मण्डलले २५ बलमा ५ चौकासहित ३० रन बनाए भने राजु रिजालले १२ रन योगदान गरे। नरेश बुढाऐरले खाता खोल्नै सकेनन् भने विनोद भण्डारी ५ रनमा आउट भए। एसपिएका अमित पौडेलले २ विकेट लिए भने विनोद लामा र विक्रम ठगुन्नाले १/१ विकेट आफ्नो नाममा लेखाए।

१ सय ८८ रनको ठूलो लक्ष्य पछ्याएको एसपिए पूरा २० ओभर खेल्दा ११७/७ मा सीमित भयो। विपक्षीलाई सानै स्कोरमा रोक्दा अभिनाश कर्णले ३ विकेट लिए भने सागर र जितेन्द्र मुखियाले २/२ विकेटमा नाम लेखाए। अभिनाशले ४ ओभरमा २६ रन खर्चे भने सागरले ४ ओभरमा १७ रनमात्र दिएका थिए। यसैगरी जितेन्द्रले ३ ओभरमा १९ रन खर्चिएका थिए।

एसपिएका लागि ओपनरद्वय विजय राना र रोमन बलले राम्रो सुरुआत दिलाए पनि त्यसलाई अन्य ब्याट्सम्यानले कायम राख्न सकेनन्। विजयले ५४ बलमा ४ चौकासहित सर्वाधिक ३८ रनको योगदान गर्दा रोमनले २५ बलमा ५ चौकासहित २५ रनकै स्कोर गरे। सन्दीप दमाईले १६ बलमा १७ रन बनाए। एसपिएका अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन्।

सोमबारै यसअघि सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको पुलिसका लागि म्यान अफ दि म्याच दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चिँदै ३ विकेट लिएपछि न्यू होराइजन निर्धारित २० ओभरमा ८२ रनमा अलआउट भएको थियो। विपक्षी ओपनर निर्मल थापा (१) लाई रनआउट गरेर पुलिसलाई सानदार सुरुआत दिलाएका दीपेन्द्रको प्रभाव पूरा इनिङभरी नै रह्यो। दीपेन्द्रले गणेश गौडेल (२) लाई एलबिडब्लु धरापमा पारे भने लगत्तै विशाल सुनार (५) लाई ललित भण्डारीबाट क्याच गराए। ६ रन बनाएका शाहब आलम दीपेन्द्रको बलमा प्रेम तामाङबाट क्याच आउट भए।

न्यू होराइजनलाई सानो स्कोरमा रोक्ने क्रममा दीपेन्द्रबाहेक पुलिसका लागि ललित, रामनरेश गिरी, कुशल भुर्तेल, सुनील धमला र मन्जित श्रेष्ठले १/१ विकेट लिए।

दोस्रो ओभरमा ओपनर गुमाउँदा ११ रन जोडेको न्यू होराइजनले नुरधोज सेनको विकेट त्यसलगत्तैको ओभरमा गुमायो। खाता खोल्न नसक्दै नुरधोज ललित भण्डारीबाट बोल्ड हुँदा २.४ ओभरमा न्यू होराइजनको स्कोर १२–२ थियो। टोलीको विकेटपतनले निरन्तरता पाइरहँदा थप ७ रन जोडेपछि पाँचौं ओभरमा प्रकाश केसी कुशलबाट एलबिडब्लु धरापमा परे।

न्यू होराइजनका लागि सर्वाधिक २५ रन बनाएका कृष्ण कार्की अविजित रहे भने दोहोरो आँकडामा स्कोर गर्ने शंकर राना सुनीलबाट एलबिडब्लु धरापमा परे। सुनिलले १६ रन बनाएका थिए। टोलीको इनिङमा अन्य कसैले दोहोरो आँकडामा स्कोर गर्न सकेनन्।

जवाफमा ८३ रनको लक्ष्य पुलिसले १७.४ ओभरमा ३ विकेट गुमाएर ८८ रन बनाउँदै पूरा गर्‍यो। पुलिसका लागि ओपनर सुनीलले सुसन भारीको बलमा प्रकाश केसीबाट क्याच हुनुअघि सर्वाधिक ३६ रन जोडे भने योगेन्द्र कार्कीले अविजित २० रनको योगदान गरे। ३९ बलमा सुनीलले ५ चौका प्रहार गरेका थिए भने १४ बल खेलेका योगेन्द्रले १ छक्का र १ चौका हाने। ३३ बलमा १७ रन बनाएका आरिफ शेख पुलिसको टोलीमा अर्का अविजित ब्याट्सम्यान थिए। ओपनर दीलिपनाथले १० रन बनाए भने प्रेम तामाङ खाता खोल्न नपाउँदै आउट भए। न्यू होराइजनका लागि सुसनले २ तथा दुर्गेश गुप्ताले १ विकेट लिए।

प्रकाशित: ४ माघ २०७३ ०३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App