८ वैशाख २०८१ शनिबार
कला

तेरियालाई जिताउन परिवारको आह्वान

काठमाडौं- भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण भइरहेको डान्स रियालिटी सो 'झलक दिखलाजा'को फाइनलमा पुगेकी नेपाली कलाकार तेरिया फौजा मगरलाई जिताउन परिवारले आह्वान गरेको छ।

तेरिया मगर फाउन्डेसनले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै अनलाइन अथवा मोबाइलमार्फत तेरियालाई भोट गरी फाइनल विजेता बनाउन आग्रह गरेको हो। फाउन्डेसन अध्यक्ष कृष्णबहादुर फौजा मगरले तेरियाले जित्नु आमनेपालीले जितेसरह रहेको बताउँदै आफ्नी नातिनीसमेत रहेकी तेरियालाई सबैको सहयोग आवश्यक भएको बताए।

'तेरिया फाइनलमा पुग्दा मेरो छाती गर्वले ठूलो भएको छ,' उनले भने, 'तेरियालाई नृत्य सिकाउँदा गरेको संघर्ष अहिले बिर्सिएको छु।' उनले नेपालमा मोबाइलबाट भोटिङ गर्न सम्भव नहुने भएकाले कलर्स च्यानलको आधिकारिक वेबसाइटबाट भोट दिन आग्रह गरे। जनवरी १४ बाट सुरु भएको भोटिङ आगामी बिहीबार राति ९ बजेसम्म खुला रहनेछ।

'झलक दिखलाजा'मा भारतमा रहेका सेलिब्रेटीको मात्र सहभागिता छ। यो सोमा तेरियाको जोडीका रुपमा आर्यन छन्। फाउन्डेसनका अनुसार प्रतियोगिताको फाइनल आगामी शनिबार अर्थात् जनवरी २१ मा मुम्बईमा हुँदै छ।

तेरियाले सन् २०१२ मा भारतकै अर्को टेलिभिजन च्यानल जिटिभीको डान्स रियालिटी 'डिआइडी सिजन ३'को शीर्ष उपाधि जितेकी थिइन्।

प्रकाशित: ४ माघ २०७३ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App