६ वैशाख २०८१ बिहीबार
समाज

चटारो सोनाम ल्होछारको

शान्ति लामा

काठमाडौं- सिन्धुपाल्चोक घर भई बौद्ध बस्दै आएका निमा भोटेले महिला साथीका लागि उपहार किने, तामाङ पोसाक– स्ह्यामा, आङरे, टेकी, घा र टोपी। उनी शेर्पा हुन्। 'मैले सोनाम ल्होछार नमनाए पनि साथीलाई कुवेत पठाउन ड्रेस किनेको हुँ,' उनले भने।

बौद्धकै रुपा तामाङ छोरालाई परम्परागत तामाङ पोसाक तेतुङ किनिन्। साथै, आमाका लागि गाउँ पठाउन लुंगी, टोपी र घा (पछ्यौरा) पनि किनेकी छिन्। 'यसअघि नै चार हजार रुपैयाँको किनमेल गरिसकेकी छु,' उनले भनिन्, 'यो सबै ल्होछारको तयारी हो।'

केही वर्षयता तामाङ समुदायले सोनाम ल्होछार अवसरमा मौलिक पोसाक लगाउने प्रचलन बढेको छ। बौद्धमा आठ वर्षदेखि तामाङ पुरुष पोसाक बेच्दै आएका सरोज ढकालका अनुसार कात्तिक–मंसिरदेखि ल्होछार नसकिएसम्म व्यापार बढ्छ। 'अहिले महिनाको ४० देखि ४५ सेट कपडा बेचिन्छ,' उनले भने, 'हाम्रो त व्यापारको सिजन नै यही हो।'

०५१ मा नेपाल तामाङ घेदुङले तामाङ जातिको मानक पहिरनबारे निर्णय गरेपछि यसको प्रचलन राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा बढेको घेदुङका सल्लाहकार कुमार ब्लोनले बताए।

तामाङ जातिले आउँदो माघ १५ मा सोनाम ल्होछार मनाउँदै छन्। यसैको तयारीमा बौद्ध क्षेत्रका तामाङ जुटेका छन्।

किनमेलका लागि बौद्ध आएकी गोकर्णकी सीता लामा यसपालि घरमा खाप्से पकाउने योजना भएको बताउँछिन्। खाप्से यो चाडको विशेष परिकारमध्ये एक हो। ल्होछारमा तामाङहरु फापरको आलुम, बाबर र खाप्से खाने गर्छन्। आफ्नै घरमा नपकाउनेले भने बजारबाट तयारी खाप्से किनेर खान्छन्। बौद्धनाथ स्तुप परिसरमा खाप्से बेच्ने कर्म लामा भन्छन्, 'ल्होछारको मौसम सुरु हुन लागेको झन्डै एक महिना अघिदेखि नै खाप्से बनाउन थाल्छौँ। ल्होछारका बेला दिनको ४० देखि ५० प्याकेट खाप्से बेच्छु।' उनका अनुसार सोनाम ल्होछारदेखि शेर्पाले मनाउने ग्याल्बो ल्होछारसम्म खाप्सेको राम्रो व्यापार हुन्छ।

ल्होछारको छेकोमा बौद्ध क्षेत्रका तामाङ कपडा र खाप्सेबाहेक, लुङदर, ध्वजा, धूपलगायत पनि जोहो गर्दै छन्। त्यसकारण अरु बेला शून्यजस्तो लाग्ने बौद्ध क्षेत्रको बजार र पसलमा हिजोआज चहलपहल बढेको छ।

चरा वर्षको स्वागतमा दर्ज्यु

तामाङले बाँदर वर्षको बिदाइ र चरा वर्षको स्वागत गरी ल्होछार अर्थात् नयाँ वर्ष मनाउने तयारी गर्दै छन्। ल्होछारको दिन घरघरमा दर्ज्यु र लुङदर (बौद्ध धर्मका मन्त्र लेखिएका झन्डा) पनि फहराउने गरिन्छ।

'सके दोमाङ (त्रिपिटक) पढाउने, नत्र आँगनमा दर्ज्यु फहराउने हो,' बौद्धका स्थानीय पासाङ योञ्जनले भने। दर्ज्यु फहराए घरमा शान्ति–समृद्धि स्थापित हुनेे विश्वास गरिन्छ। जोरपाटीका साम्देन लामाको भने यसपालि आफन्त बितेर जुठो परेका कारण यो ल्होछारमा पूजापाठ गरिने छैन। तर परिवारका सबैलाई नयाँ लुगा, गहना किन्ने र खाने, पिउने तयारी भने गरिएको उनले बताए।

सोनाम ल्होछार अवसरमा बौद्ध क्षेत्रवरिपरिका तामाङ जातिका संघसंस्थाले पनि कार्यक्रम गर्छन्। बौद्धनाथ क्षेत्र विकास समिति र बौद्ध तामाङ कल्याण गुठीले पनि ल्होछारमा सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेका छन्।

१२ वर्षपछि चारै द्वार खोलिने

ल्होछार अवसर पारेर यसपटक १२ वर्षपछि बौद्ध स्तुपको चारवटै ढोका खोलिने भएको छ। सोनाम ल्होछारको दिनदेखि बौद्धका चारवटै ढोका खोल्न लागिएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।

समिति अध्यक्ष सम्पूर्णकुमार लामा भन्छन्, 'बन्द रहेका तीन ढोकासहित सबै ढोका खोलिने भएको छ। अब यो वर्षभरि नै सबैै ढोका खुला रहनेछ।' बौद्धनाथका चारवटै ढोकाबाट भक्तजन र दर्शनार्थीलाई आवतजावत गर्न पनि दिइनेछ। अरु समय बौद्ध स्तुपको उत्तरपट्टिको ढोका मात्र खुला रहन्थ्यो।

यस वर्ष बाँदर वर्ष सकिएर चरा वर्ष सुरु भएको अवसरमा चारै ढोका खोल्न लागिएको अध्यक्ष लामाले बताए। हरेक चरा वर्षभरि बौद्धको चारवटै ढोका खोल्ने परम्पराअनुसार यस वर्ष १२ वर्षपछि चार ढोका खोलिन लागेको छ।

बौद्धनाथ स्तुपको निर्माण चरा वर्षमा सुरु गरेर चरा वर्षमै सम्पन्न भएको ऐतिहासिक किंवदन्ती अनुसार हरेक चरा वर्षमा चार ढोका खोल्ने प्रचलन रहेको सांस्कृतिक अध्येता रवीन्द्र ग्याबकले बताए। उनका अनुसार बौद्ध स्तुपको निर्माण कसले गरेका हुन् भन्ने कुनै ठोस इतिहास नभए पनि तिब्बती बौद्ध धर्मावलम्बी महिला झ्याजिमाले बनाउन सुरु गरेको भन्ने विश्वास रहेको छ। 'झ्याजिमाले बनाउन सुरु गरे पनि १२ वर्ष लगाएर उनका छोराले बौद्ध स्तुप निर्माण सम्पन्न गरेको विश्वास छ,' उनले भने।

यस्तै, बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तुपको दक्षिणमा रहेको कुण्डको सरसफाइ गर्ने भएको छ। हरेक चरा वर्षमा कुण्डमा जल निस्किने गरेको त्यस क्षेत्रका बासिन्दा बताउँछन्। 'यो वर्ष निस्किएन। त्यसैले भूकम्प र पुनर्निर्माणले असर परेको हुन सक्ने हो कि भनेर सरसफाइ गर्न लागेका छौँ,' समिति अध्यक्ष सम्पूर्णकुमार लामाले भने।

भूकम्पपछिको पुनर्निर्माणमा काम नलागेको बौद्ध स्तुपको पुरानो माटो ल्होछारको दिनदेखि धर्मावलम्बीलाई प्रसादको रुपमा बाँडिने पनि अध्यक्ष लामाले बताए।

प्रकाशित: ४ माघ २०७३ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App