८ वैशाख २०८१ शनिबार
समाज

विमानस्थलका एसएसपी हेडक्वार्टर तानिए

काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वार्टर तानेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धानका लागि खत्रीलाई फिर्ता बोलाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता एसएसपी ठाकुरप्रसाद ज्ञवालीले खत्रीसँग घटनाका विषयमा बुझ्नुपर्ने भएकाले फिर्ता बोलाएको जानकारी दिए। प्रहरी प्रधान कार्यालयले खत्रीलाई आइतबारदेखि प्रशासन विभागमा हाजिर हुन निर्देशन दिएको हो। प्रवक्ता ज्ञवालीले भने, 'संलग्नता र सहयोग भन्ने होइन, सघन अनुसन्धानका लागि विमानस्थलमा रहेका प्रहरीसँग सोधपुछ भइरहेको हो।'

गृह मन्त्रालय उच्च स्रोतका अनुसार विमानस्थल प्रहरीसहित खटिएका अन्य अधिकारीको सहयोगबिना भन्सारबाट मात्र ठूलो परिमाणमा तस्करी सम्भव छैन। घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोको सूचनाका आधारमा आवश्यकताअनुसार मन्त्रालय र प्रहरी प्रधान कार्यालयले मातहतका अधिकारीमाथि कारबाही गर्दै जाने रणनीति बनेको स्रोतले बतायो।

'सुन तस्करीमा संलग्न व्यक्तिको पहिचान र संगठित सञ्जाल भत्काउँदा पत्याउनै नसकिने व्यक्ति र संस्था कानुनी दायरामा आउन सक्छन्, समय आएपछि सबै सूचना बाहिर आउँछ,' गृहका एक सहसचिवले नागरिकसँग भने।

ब्युरोको हिरासतमा रहेका भरिया, मध्यस्थकर्ता र सरकारी कर्मचारीको बयानमा प्रहरी अधिकारीको नाम र भूमिका खुलेको हो। लामो समयदेखि विमानस्थलमा खटिएका तल्लो तहदेखि माथिल्लो तहका प्रहरी अधिकारीको तस्कर समूहसँग उठबस र बारम्बार सम्पर्क देखिएपछि उनीहरूविरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत भएको हो। प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयका वरिष्ठ अधिकारीसमेत अनुसन्धान दायरामा रहेका केही व्यक्तिसँग बारम्बार सम्पर्कमा देखिएका छन्।

'एसएसपी खत्रीलाई विमानस्थल सेटिङका विषयमा सूचनाका लागि फिर्ता ल्याइएको हो, संलग्नता पुष्टि भए कारबाही हुन्छ,' प्रहरी स्रोतले भन्यो। गृह मन्त्रालय र संसदीय समितिमा प्रहरी संलग्नता नभई तस्करी सम्भव नभएको भन्दै चर्को विरोध भएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले तस्करीमा संलग्न देखिए कोही पनि कारबाहीबाट बच्न नसक्ने बताउँदै आएका छन्।

ब्युरोको टोलीले  संयुक्त अरब इमिरेटस (युएई) बाट आएका एक यात्रुको लगेजबाट दुई सय ८२ थान सुनका बिस्कुट पुस २१ मा   बरामद गरेको हो। ब्युरोको टोलीले एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएका नेपालगन्जका गोपालबहादुर शाहीको लगेजबाट सुन बरामद गरेको हो। ब्युरोले सुन लिन जाने दुईजना र भन्सारका दुई अधिकृतसहित पाँचजनालाई पक्राउ गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ। शाही बुधबार दुबईबाट काठमाडौं ओर्लिए पनि बिहीबार मात्रै भन्सारमा लगेज लिन पुगेका थिए।

दुबईबाट अवैध रुपमा भित्रिएको सुन लिन गएका दिलबन्धु थापा र सन्तोष काफ्ले बा४च ९११४ नम्बरको टेरियस गाडीसहित पक्राउ परेका छन्। यस्तै तस्करीमा संलग्न रहेको आरोपमा भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल पनि ब्युरोको हिरासतमा छन्।

प्रहरीले शाहीले ल्याएको लगेजमा काटो टेपले बाँधेको अवस्थामा सुनका बिस्कुट र बनीबनाउ गहना गरी साढे ३३ किलोग्राम सुन बरामद गरेको थियो। ब्युरोका अधिकारीका अनुसार  १९ थान औंठी र १८ थान सुनका सिक्री बाहिरी भागमा र सवारीसाधनका पार्टस्मा लुकाएर सुनका बिस्कुट ल्याइएको हो। शाहीले सुन लुकाउन प्रयोग भएका सामग्री हेलिकोप्टरकापुर्जा भएको बयान दिएका छन्।

प्रकाशित: ४ माघ २०७३ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App