coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

विष्णु तामाङ

काठमाडौं- प्रमुख विद्यार्थी संगठनहरु त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न गर्ने तयारीमा लागेका छन्। विद्यार्थी संगठनबीच उत्पन्न विवादका कारण लामो समयदेखि स्ववियु निर्वाचन रोकिँदै आएको थियो। त्रिविको ४२औं सिनेट बैठकले फागुन १४ गते स्ववियु निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ। उक्त बैठकले विद्यार्थी उम्मेदवारको उमेर हद २८ वर्ष तोकेको छ। त्यस्तै स्ववियु निर्वाचनको इतिहासमा पहिलोपटक मिश्रित निर्वाचन प्रणाली अपनाइने भएको छ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आफ्नो संगठन निर्वाचनको तयारीमा सम्पूर्ण रुपले लागेको जानकारी दिए। 'यो निर्वाचनलाई संविधान कार्यान्वयनकै एक महŒवपूर्ण चरणको रुपमा लिनुपर्छ भनेर हामीले उठाउँदै आएका छौं,' उनले भने, 'स्ववियुलाई लामो समय नेतृत्वविहीन बनाएर खारेजीको प्रक्रियाबाट बचाउन नेवि संघले भूमिका खेल्दै आएको छ, अब कुनै पनि हालतमा निर्वाचन हुन्छ।'

नेवि संघभित्रका केही समूहले एकपटकका लागि उमेर हद तोकिन नहुने माग गर्दै आएका छन् तर केही व्यक्तिले विरोध गर्दैमा असर नपर्ने अध्यक्ष महरले दाबी गरे। 'नेवि संघ आधिकारिक निर्णय गरेर निर्वाचनमा लागेको छ, कसले के भने भन्ने भ्रममा नपर्न अनुरोध गर्छु', उनले भने।     

नेकपा एमाले निकट अनेरास्ववियुका सचिव आरसी लामिछानेले पनि अब निर्वाचन नराकिने दाबी गरे। उनले भने, 'त्रिविद्वारा घोषित मितिमा उसले तय गरेको विधिविधानअनुसार स्ववियु निर्वाचनमा लाग्न सबै विद्यार्थी संगठनलाई अनुरोध गर्छु।' अनेरास्ववियु निर्वाचनको आन्तरिक तयारीमा लागेको जानकारी दिँदै उनले चाँडै नै सबै क्याम्पसमा प्रचारात्मक अभियान सञ्चालन गरिने बताए। 'लोकतन्त्रलाई संस्थागत गर्न, क्याम्पसभित्र रहेका विकृति विसंगति अन्त्य गर्न र विद्यार्थीको हकहित सुरक्षित गर्न निर्वाचन अनिवार्य छ,' उनले भने।

एमाओवादी निकट अखिल क्रान्तिकारीले पनि निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। देशभरका क्याम्पसमा एकएक जना केन्द्रीय सदस्यलाई संयोजक तोकेर निर्वाचन अभियान सञ्चालन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए। 'प्रत्येक क्याम्पसमा संगठनलाई मजबुत बनाएका छौं। विगतमा छुट्टिएका संगठनबीच एकता भएको छ। त्यसैले यो पटकको निर्वाचनमा हामी देशभरका सबै क्याम्पसमा जित्ने लक्ष्यका साथ लागेका छौं,'  अध्यक्ष न्यौपानेले भने। त्रिविले तोकेको उमेर हद र मिश्रित निर्वाचन प्रणालीप्रति आफ्नो संगठनको पूर्ण सहमति रहेको उनले बताए। उमेर हद तोकिएका कारण अबको निर्वाचनबाट वास्तविक विद्यार्थी नेतृत्वमा आउने दाबी गर्दै उनले भने, 'स्ववियु निर्वाचनकै लागि कुरेर बस्ने परिपाटीको अन्त्य हुनेछ  र नयाँ नेतृत्वको विकास हुनेछ।'

वैद्य माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सेमन्त राजभण्डारीले विभिन्न बहानामा ठूला संगठनहरु निर्वाचन नगराउने भित्री खेलमा लागेको आरोप लगाए। उनले भने, 'तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्छ भनेर हामीले दबाब दिइरहेका छौं। अब कुनै पनि बहानामा निर्वाचन रोकिए कडा प्रतिरोध गर्नेछौं।' आफ्नो संगठन निर्वाचन केन्द्रित अभियानमा देशभरका क्याम्पसमा लागेको उनले बताए।

संघीय समाजवादी विद्यार्थी फोरमलगायत केही संगठनले भने निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा गर्नुपर्ने अडान राखेका छन्। विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले आफूहरुको माग पूर्ण समानुपातिक निर्वाचन प्रणाली भएको र सो लागू भएमात्र निर्वाचनमा भाग लिने बताए। उक्त माग सम्बोधन नभएसम्म निर्वाचन हुन नदिने उनको भनाइ छ।

प्रकाशित: ४ माघ २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App