७ वैशाख २०८१ शुक्रबार
राजनीति

'फर्किनासाथ कारबाही थाल्छु'

युएई- प्रधानमन्त्री पुष्पकमल दाहालले मानवतस्करसँग साँठगाँठ गर्ने विमानस्थलस्थित अध्यागमन कर्मचारी तथा प्रहरीलाई तत्काल कारबाही गर्ने वचन दिएका छन्। युएई भ्रमणमा रहेका दाहाललाई यहाँस्थित नेपालीले विमानस्थलस्थित कर्मचारीले मानवतस्करको सेटिङमा मोटो रकम असुल्ने गरेको प्रमाण देखाएपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।

'तपाईंहरुको कुरा सुनेपछि मलाई आजै नेपाल गएर अध्यागमनका कर्मचारीलाई कारबाही गर्न मन लागेको छ,' नेपाली जनप्रगतिशील मञ्च, युएईले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा दाहालले भने, 'विदेश आउने युवालाई म दोषी मान्दिनँ। यो सबै समस्याको जड अध्यागमन कर्मचारी रहेछन् भन्ने अब प्रस्ट भयो। नेपाल फर्किएलगत्तै अनुसन्धानका लागि छानबिन समिति बनाएर कारबाही प्रक्रिया अघि बढाउँछु।'

नेकपा माओवादी केन्द्र निकट मञ्चसम्बद्ध सहभागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गरेको अनियमितताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरुले अध्यागमन र प्रहरी सेटिङमा मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएई तथा प्रतिबन्धित देशमा कामदार पठाउँदै आएको दाहाललाई सुनाए।

सहभागीले अध्यागमन र प्रहरी सेटिङमा भिजिट भिसामा युएई आएका सयौं नेपाली अलपत्र पर्ने गरेको फेहरिस्तसमेत प्रधानमन्त्रीलाई सुनाए।

'विमानस्थलस्थित अध्यागमन कर्मचारी र प्रहरीले मानवतस्करसँग मिलेर सर्वसाधारण लुट्ने गरेको हामीसँग प्रमाण छ। तपाईं तिनलाई कारबाही गर्न सक्नुहुन्छ?', एक सहभागीले प्रधानमन्त्रीलाई प्रश्न गरे।

विदेशमा नेपाली अलपत्र पर्नुमा मुख्य रुपमा विमानस्थल अध्यागमन र प्रहरी जिम्मेवार रहेको सहभागीको भनाइ थियो। 'अध्यागमन र प्रहरीले जिम्मेवार ड्युटी निर्वाह गरे विदेशमा कोही नेपाली अलपत्र पर्दैनन् तर सरकारी कर्मचारी मानवतस्करसँग मिलेका छन्। पैसा खान पाए जस्तोसुकै जोखिमपूर्ण देश पनि उडाइदिन्छन्, नपाए जेन्युन मान्छेलाई पनि रोक्छन्। यस्ता घटनाका दर्जनौं प्रमाण छन्, कारबाही गरेर देखाउनुस्', अर्का सहभागीले प्रधानमन्त्रीसमक्ष भने।

उनीहरुले प्रधानमन्त्रीलाई अध्यागमन सेटिङको घुसको दरसमेत खुलाए। भिजिट भिसामा युएई आउनेले कम्तीमा ७० हजार रुपैयाँ अध्यागमन सेटिङका लागि बुझाउनुपर्ने र प्रतिबन्धित मुलुक जान एवं महिलाले त्योभन्दा बढी रकम बुझाउनुपर्ने दुःखेसो उनीहरुको थियो।

प्रधानमन्त्रीले सहभागीमा आक्रोश देखेपछि उनले अध्यागमन कर्मचारीलाई कारबाही दायरामा ल्याउने आश्वासन दिए।

युएईमा नेपालीका समस्याबारे युएईका उच्च अधिकारीसमक्ष पनि आफूले कुरा राख्ने उनले सुनाए।

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले युएईमा अग्ला भवन भएको र नेपालसँग सर्वोच्च सगरमाथा रहेको बताएका थिए। 'मैले विश्वको सबैभन्दा सर्वोच्च भवन (अग्लो भवन) को भ्रमण पनि गरेँ', ठट्ट्यौली पारामा प्रधानमन्त्रीले भने, 'युएईको मानवनिर्मित अग्लो भवन र नेपालस्थित विश्वकै अग्लो प्राकृतिक भवन (सगरमाथा) बीच सम्बन्ध अझ निकट गर्नुपर्ने देखिएको छ। अग्लाअग्ला भवनमार्फत दुई देशको सम्बन्ध अझ राम्रो बनाउन सके विकासमा अझ टेवा पुग्नेछ।'

प्रकाशित: ४ माघ २०७३ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App