coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

५ करोड जोर स्वदेशी जुत्ता–चप्पल खपत

काठमाडौं– गेट वे कलेजमा स्नातक तहमा अध्ययनरत उमेश सिंहले राजधानीमा जारी ‘फुटवेयर बिजनेस एक्स्पो’मा चार जोर जुत्ता किने । २ हजार ४ सय रुपैयाँमा चार जोर जुत्ता खरिद गर्न पाउँदा सिंह प्रफुल्लित थिए । ‘छुटसहित सस्तोमा जुत्ता पाएकाले धेरै किनेको हुँ,’ एक्स्पोमा जुत्ता किनेर बाहिरिँदै गरेका सिंहले भने, ‘नेपाली जुत्ता टिकाउ हुने भएकाले वर्षभरीलाई किनेको हुँ ।’ सिंह नेपाली जुत्ताको फ्यान भैसकेको बताए । ‘बजारमा नयाँ–नयाँ डिजाइनका जुत्ता आएका छन्,’ उनले भने, ‘सस्तो मूल्यमा फेरी–फेरी लगाउन पाइने ।’
सिंहमात्र होइन काठमाडौंको महाबौद्धमा कस्मेटिक व्यापार गर्ने लालप्रसाद अधिकारी पनि एक्स्पोमा जुत्ता किन्न पुगेका थिए । बाहिर पसलमा भन्दा सस्तोमा पाइने भएकाले जुत्ता किन्न आएको उनले बताए । ‘सस्तोमा टिकाउ हुने जुत्ता पाइने भएकाले एक्स्पोमा आएको हुँ,’ अधिकारीले भने, ‘दुई हजारमा दुई जोर जुत्ता किनें ।’
नेपाली जुत्ता घरले भृकुटीमण्डमा आयोजना गरेको ‘फुटवेयर बिजनेस एक्स्पो’मा हरेक दिन जुत्ता किन्नेको भिड लागेको छ । यसले उपभोक्ताको नेपाली जुत्तामा आकर्षण बढाएको प्रष्टै हुन्छ । उद्योगीले छुटसहिट जुत्ता बिक्रीको व्यवस्था मिलाएपछि दैनिक करिब ५ हजार जना एक्स्पोमा पुग्ने गरेका छन् ।
पछिल्लो समय नेपाली जुत्ता बजारमा स्वदेशी उद्योगले बर्चस्व जमाउँदै गएका छन् । नेपाली उद्योगले आयात प्रतिस्थापन गरेको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाइँले बताए । ‘नेपाली बजारको करिब ५०–६० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको छ,’ शिखर सु इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका प्रसाइँले भने, ‘नेपाली जुत्ता विदेशीसँग प्रतिस्पर्धा गर्न सक्षम भएका छन् ।’
स्वदेशी उद्योगले पार्टी वेयर, क्याजुअल, स्कुल, कलेज, स्पोटर््स सुज, सेना, प्रहरीले लगाउने बुट उत्पादन गरिरहेका छन् । नेपालमा साना ठूला गरी करिब २ हजार उद्योग सञ्चालमा छन् । वार्षिक ५ करोड जोर जुत्ता–चप्पल खपत हुने व्यवसायी बताउँछन् । नेपाली जुत्ताका फ्यान बढ्दै गएको बिएफ डियर जुत्ताका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए । ‘नेपाली उपभोक्तामा नेपाली वस्तु प्रयोग गर्ने क्रम बढेको छ,’ उनले भने, ‘सबै तहतप्काका व्यक्तिले स्वदेशी जुत्ता प्रयोग गरिरहेका छन् ।’
जुत्ता उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी पुगेको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले बताए । उद्योगहरुले वार्षिक ३५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्छन् । त्यसमध्ये ८ सय ५० घरेलु उद्योगमा र २ सय ५० उद्योग कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका छन् । ‘हाम्रा उद्योग प्रविधियुक्त भएकाले गुणस्तरमा पनि क्वालिफाइड छन्,’ श्रेष्ठले भने, ‘नेपाली जुत्ता उद्योग फस्टाउँदै गएको छ ।’

विदेशबाट आयात प्रतिस्थापन गर्दै स्वदेशी जुत्ता, चप्पलमा आत्मनिर्भर हुनका लागि प्रविधिमा सुधार गर्नुपर्ने व्यवसायी बताउँछन् । ‘अहिले धेरै उद्योग नयाँ प्रविधिमा आउन सकेका छैनन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘परम्परागत उद्योगलाई सीप र प्रविधिको आवश्यकता छ ।’ भारतसँग खुला सीमाले गर्दा जुत्ता उद्योगलाई चुनौती थपिएको छ ।
विगतमा विदेशबाट कच्चा पदार्थकै भर पर्ने जुत्ता उद्योगले पछिल्लो समय नेपाली छालाको सोल बनाउने, लाइनिङ, केमिकल पनि प्रयोग गर्न थालेका छन् ।  भूकम्प र नाकाबन्दीले गत वर्ष ४२ प्रतिशतमा झरेको भए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सुधारोन्मुख देखिएको छ । यस क्षेत्रमा ५५ हजारले प्रत्यक्षसहित साढे २ लाख जतिले रोजगारी पाएका छन् । यसमा लगानीकर्ताको आकर्षण बढेको छ । भारतलगायत मुलुकमा निर्यात भएकाले लगानी अझै बढाउन सक्ने देखिएको छ ।
स्वदेशी बजारमा मात्र नभएर जुत्ता उद्योगले करिब साढे २ अर्ब रुपैयाँको जुत्ता निर्यात गरेका छन् । जुत्ता उद्योगसँगै घरेलु रुपमा उत्पादन हुने छालाका ज्याकेट, पर्स, ब्याग, बेल्ट, ऊनीका जुत्ता चप्पल पनि निर्यात भइरहेका छन् । नेपाली जुत्ता, चप्पल भारत, चीन, भुटान लगायत मुलुकमा निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । बोर्डका अनुसार अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३६ करोड ३१ लाख १२ हजार रुपैयाँ बराबरको ‘फुटवयर’ सामग्री निर्यात भएका थिए ।
स्वदेशमै कच्चा पदार्थ उत्पादनमा पनि सरकारले नीतिगत रुपमा सुधार ल्याउनु पर्ने व्यवसायी बताउँछन् । जुत्ता चप्पल बनाउनको लागि ३० देखि ३५ प्रकारका कच्चा पदार्थ आवश्यक पर्छ । त्यसमध्ये झन्डै २० प्रतिशत कच्चा पदार्थ विदेशबाट आयात हुन्छ । जुत्ता चप्पलमा प्रयोग हुने छाला, सोल, केमिकल लगायत कच्चा पदार्थ भारत, पाकिस्तान, चीनबाट आयात हुँदै आएको छ ।  सरकारले कच्चा पदार्थमा भन्सार छुट दिनुपर्ने माग व्यवसायीले गरेका छन् । जुत्ताको कच्चा पदार्थमा भन्सार छुट दिनुपर्ने मेघा सु इन्डस्ट्रिज प्रालिका सञ्चालक नवराज पोख्रेलले बताए । ‘स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा भन्सार छुट दिनुपर्छ,’ पोख्रेलले भने,  भारतसँगको खुल्ला बोर्डरका कारण भएको समस्या अन्त्य गर्नुपर्छ ।’ विदेशबाट सीप, प्रविधि, उपकरण ल्याएर यहाँ प्रयोग गर्न सके नेपालको फुटवेयर उद्योगले फड्को मार्ने उद्योगी बताउँछन् ।
 

प्रकाशित: ३ माघ २०७३ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App