वासिङटन–पृथ्वी कै अहिलेसम्मको लामो ‘सर्कस सो’ बन्द हुने भएको छ । रिङ्गलिङ्ग ब्रो सर्कसका नामले १४६ वर्ष सम्म प्रदर्शन भएको उक्त सो आगामी मेबाट बन्द हुने भएको हो ।
टिकट बिक्री ओरालो लाग्नु र सर्कस सो को उच्च लागत खर्चका कारण बन्द हुने अवस्था आएको सर्कसका मालिकले बताए । सन् १९६० को अन्त्यबाट सर्कस सञ्चालन गरिरहेका फेल्ड इन्टरटेन्मेन्ट, द फेमिलि बिज्नेस का कार्यकारी अधिकृत केनेथ फेल्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘कठोर मुल्याङ्कन एंव सचेत निर्णय पछि म र मेरा परिवारले अत्यन्तै अलोकप्रिय व्यापारिक निर्णय गर्न पुगेका छौँ कि रिङ्गलिङ्ग ब्रोस् एण्ड बमुम एण्ड बेलीले आफ्नो अन्तिम प्रहसन मे महिनामा गनेछ ।’
जनावरहरुलाई घुमन्ते प्रहसनमा सहभागी गराएको भन्दै दशकौँ अघि देखि विरोध गरिरहेका पशु अधिकारकर्मीले भने यो निर्णयको स्वागत गरेका छन् । यो परिवर्तनको संकेत भएको भन्दै पशु अधिकार समूह ‘पेटा’ ले भने जनावरहरुका लागि पृथ्वीको सबैभन्दा दुखद प्रदर्शनको अन्त्यको स्वागत गर्दै जनावरहरुलाई प्रयोग गरिने यस्तै खालको अन्य सर्कसहरुलाई पनि यहि बाटो पछ्याउन आग्रह गरेको छ ।
सर्कससँगै प्रभावित भएर सर्कसको टोली र जनावरहरु प्रयोग गरेर बनाइएको फिल्म ‘द ग्रेटेस सो अन अर्थ’ ले सन् १९५२ मा ओस्कार समेत जितेको थियो । सेसि बि डिमिले ले निर्माण गरेको फिल्मले उत्कृष्ट दृश्य सहित दुई विधामा ओस्कार जितेको थियो । लामो समयसम्म पशु अधिकारकर्मीहरु सँगको कानुनी लडाईपछि सन् २०१६ को मेमा सर्कसले आफ्ना प्रदर्शनहरुमा हात्तीको प्रहसन रोकेको थियो ।
प्रकाशित: ३ माघ २०७३ ०४:५४ सोमबार