coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थपियो यातायात कार्यालय, छैन ट्रायल सेन्टर

सञ्चालनमा रहेकाे बागमती अञ्चल यातायाता कार्यालयमा सेवाग्राहीकाे भीड

काठमाडौं– यातायात व्यवस्था विभागले वागमती अञ्चलमा थप दुई यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ कार्यालय खुले पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल सेन्टर) कहाँ सञ्चालन गर्ने अझै टुंगो लगाउन सकेको छैन ।

सेवाग्राहीलाई छिटो र सहज सेवा उपलब्ध दिने भन्दै नयाँ कार्यालय खोले पनि ट्रायल सेन्टर नहुँदा सेवाग्राही मर्कामा परेका छन् । यातायात कार्यालयमा सेवाग्राहीले छिटो काम नभएको गुनासोपछि मन्त्रिपरिषद् बैठकले भदौ ६ गते राजधानीमा तीन यातायात कार्यालय खोल्न निर्देशन दिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आइतबार सवारीचालक अनुमतिपत्र कार्यालय भक्तपुरको जगातीमा शुभारम्भ गर्दै राजधानीमा तीनवटै कार्यालय सञ्चालनमा आएपछि सेवाग्राहीले एक घन्टाभित्रै सेवा पाउने दाबी गरे । ‘यातायात क्षेत्रलाई छिटो र  झमेलामुक्त क्षेत्र बनाउन लागिरहेका छौँ,’ उनले भने, ‘कार्यालयमा सेवाग्राहीले लाइसेन्सका लागि एक घन्टाभन्दा धेरै पर्खिनुनपर्ने बनाउन लागिरहेका छौँ ।’

यसअघि पुस १७ गतेदेखि स्वयम्भूको ठूलोभ¥याङमा कार्यालय सञ्चालनमा आइसकेको छ ।

‘ट्रायल सेन्टर भेटिएन’

यातायात व्यवस्था कार्यालय वागमती, सवारीचालक अनुमतिपत्र जगाती भक्तपुरका प्रमुख अनुज घिमिरेले कार्यालय सञ्चालन गरे पनि अझैसम्म ट्रायल सेन्टर पाउन नसकेको बताए ।

‘कार्यालय भर्खरै सुरुवात गरेका छौँ । अब ट्रायल सेन्टरको खोजीमा लागेका छौँ,’ उनले भने, ‘प्रशासकीय र कानुनी अड्चनले ट्रायल सेन्टर खोज्न असहज भइरहेको छ ।’

कार्यालय प्रमुख घिमिरेका अनुसार सवारीचालक अनुमति निर्देशिका ०६९ को मापदण्ड बमोजिम ट्रायल सेन्टर पाउन मुस्किल परेको बताउँछन् ।

स्वयम्भूको ठूलोभ¥याङ कार्यालय प्रमुख वीरेन्द्रबहादुर स्वाँरले कार्यालयले लाइसेन्स नवीकरणको काम मात्रै गरिरहेको बताए । ‘अहिलेसम्म ट्रायल सेन्टर नभेटिएकाले लाइसेन्सको परीक्षा सञ्चालन गरेका छैनौँ,’ उनले भने । उनका अनुसार ठूलोभ¥याङ आसपासको क्षेत्रमा ट्रायल सेन्टरको खोजी भइरहेको बताए ।

‘भनेजस्तो ट्रायल सेन्टर पाउनै सकेका छैनौँ । पाएका केही प्राइभेट ट्रायल सेन्टर विभागको मापदण्डअनुरुप छैनन्,’ उनले भने, ‘मापदण्ड अनुसारको सेन्टर खोजेर व्यवस्थापन गर्नेछौँ ।’

यातायात व्यवस्था विभाग निर्देशक चन्द्रप्रसाद फुयाँलको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेर ट्रायल सेन्टरको मापदण्ड परिवर्तन गर्न कमिटी गठन गरिएको जगातीका प्रमुख घिमिरेले जानकारी दिए । जसमा यातायात व्यवस्था कार्यालय वागमती, सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादव र विभागकै मेकानिकल इन्जिनियर गोबनबहादुर हमाल सदस्य छन् ।

‘मापदण्डअनुसार ट्रायल सेन्टरका लागि झन्डै ३० रोपनी क्षेत्रफल चाहिन्छ,’ घिमिरेले भने, ‘काठमाडौंमा खुला ठाउँ भेट्नै मुस्किल पर्छ ।’ सवारीचालक अनुमतिपत्र कार्यालय जगातीका अनुसार कार्यालयले एक–दुई दिनभित्रै ट्रायल सेन्टरका लागि सार्वजनिक सूचना जारी गर्दै छ ।

यातायात व्यवस्था विभागका निर्देशक निरञ्जन रिजालले विभागले ट्रायल सेन्टरको खोजीमा जुटिरहेको बताएका छन् ।
‘मापदण्ड अनुसारको ट्रायल सेन्टर खोजिरहेका छौँ । सकेसम्म छिटै खोल्ने कोशिस गरेका छौँ,’ उनले भने, ‘ट्रायल सेन्टरकै कारणले सेवा अवरोध हुन दिँदैनौ ।’

हाल यातायात व्यवस्था विभागको भवन पछाडि दुईपांग्रे र नेसनल ट्रेडिङ सेन्टर सिंहदरबारमा चारपांग्रे सवारीको ट्रायल लिँदै आइएको छ । विभागका अनुसार चावहिलमा केही दिनभित्रै तेस्रो कार्यालय सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित: ३ माघ २०७३ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App