८ वैशाख २०८१ शनिबार
समाज

मिलेमतोमा काठ तस्करी

वीरगन्ज–  जिल्ला वन कार्यालयकै कर्मचारीको मिलेमतोमा वन फँडानी तथा काठ तस्करी भएको पाइएको छ । गादी गाविसको रंगपुरबाट ३० वटा गोलाइ काठ बरामद भएपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको नेतृत्वमा सोमबार स्थलगत निरीक्षणमा पुगेको संयुक्त टोलीले यस्तो खुलासा गरेको हो । पर्साको रंगपुर इलाका वन कार्यालय नजिकैको टोलबाट पर्साका प्रहरी निरीक्षक गोविन्दकुमार साह नेतृत्व टोलीले गत साता छापामारी बरामद गरेको सखुवा काठ एक सय २९ घनफिट छ ।
करिब १० लाख रुपैयाँ बराबरको सो काठ एकै ठाउँमा परालभित्र लुकाइएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक साहले बताए । ‘वन अवैध फँडानी भइरहेको थाहा हुन आएपछि मसहित प्रहरी र वन कार्यालयका प्रमुख समेतको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेका हौँ । काठ बरामद भएको ठाउँ पनि देखियो, संगठित किसिमले यो गतिविधि गरिएको हाम्रो अनुमान छ,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने । उनले एक कर्मचारीलाई आजैदेखि छानबिनको दायरामा ल्याइसकिएको पनि बताए ।
वजनमा भारी र ओसारपसारमा असहज हुने गोलाइ काठका ३० थान एकै ठाउँमा बरामद भएकाले यो संगठित गिरोहको काम भएको टोलीकोे बुझाइ छ । यस्तो कामका लागि ट्र्याक्टर, विभिन्न खाले ज्यावल र अनेक मानिस निकै समय खर्चेर मात्र त्यति काठ लुकाउन सक्छ । काठ बरामद भएको ठाउँ बस्तीभित्र छ भने प्रहरी चौकी रंगपुरदेखि पाँच सय मिटरमा मात्र छ । इलाका वन कार्यालय भने त्यहाँदेखि बढीमा डेढ किलोमिटरमा छ । ‘स्थानीय नागरिक र राजनीतिक दलका प्रतिनिधिबाट पनि त्यस्ता सूचना दिने काम नभएकाले तस्कर उत्साहित रुपमा काठ तस्करीको गिरोह चलाएको देखिन आएको छ,’ घिमिरेले भने ।
प्रहरी उपरीक्षक साहले गोप्य सूचना पाएपछि तत्कालै टोली जुटाई छापामारी काठ बरामद गरेका थिए । ‘मिलेमतोमा काठ तस्करी भइरहेको खुल्न आएको छ, नियन्त्रण अभियानमा हामी जुटिसकेका छौँ,’ साहले भने, ‘संलग्न तस्करको पहिचान लगभग भइसकेको छ, तुरुन्तै पक्राउ पनि गरिनेछ ।’
पर्साका जिल्ला वन अधिकृत चन्द्रदेवलाल कर्णले काठ तस्करको बिगबिगी बढेको स्विकारे । तस्करसँग मिलेको शंकामा रंगपुर इलाका वन कार्यालयको सशस्त्र वनरक्षक कमान्डर मित्रलाल चौधरीलाई पत्र काटी कारबाहीका लागि झिकाएको बताए ।
काठ बरामद भएको घटनामा रंगपुरका स्थानीय महेन्द्र चौधरी र वीरेन्द्र चौधरी लगायतलाई पहिचान गरिएको कर्णले बताए । बरामद काठ प्रहरीले जिल्ला वन कार्यालयलाई जिम्मा लगाएको छ । यसैबीच अवैध काठ गाउँभित्र चिर्दै गरेको अवस्थामा वनका कर्मचारीले तीनजनालाई पक्राउ गरी टोलीलाई काम देखाउने प्र्रयास गरेका छन् । उनीहरुले पटेर्वा सुगौली– ९ भतौडाका अर्जुन सहनी, रामराज बिन र हरिहरपुरका सुदर्शन पटेललाई रंगेहात पक्राउ गरेका हुन् ।

क्याप्सन ःप्रहरीले छापामारी बरामद गरेको काठ सोमबार रंगपुर चौकीमा नापी गरिँदै ।
तस्बिर ः रितेश÷नागरिक

प्रकाशित: ३ माघ २०७३ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App