८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा यातायात कार्यालय सञ्चालनमा

भक्तपुर-यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी आजबाट शाखा कार्यालय खोलेको छ । अरनिको राजमार्गसँगै रहेको सो कार्यालय आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन्।

देशभरीका सवारी चालक अनुमति पत्र अनलाइनबाटै दिन सरकारले तयारी गरेको बताउँदै उनले भने,“सवारी चालक अनुमति पत्रका लागि एउटा फाराम लिन समेत १५ घन्टा लाइन बस्नुपरेको मैले देखे, त्यस्तो समस्या अब अन्त्य गर्न सरकारले सवारी चालक अनुमति पत्र लिने, नवीकरण गर्नेदेखि यातायातका समग्र व्यवस्थापन अनलाइनको माध्यमबाटै गर्ने तयारी गरेको हो ।”

अहिले दिनमा पाँच सयवटा अनलाइन फारम दर्ता हुने गरेकामा अब उपत्यकाका चारवटै शाखाबाट दैनिक ५०० का दरले दिनमा २००० अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको बताउँदै उनले अब लामो लाइनमा बस्ने झन्झट नहुने बताए।

अहिले मन्त्रालयले कार्यालय विस्तार र अर्को अनलाइन सेवालाई देशभर विस्तार गर्न लागेको बताउँदै उहाँले कार्यालय बढेअनुसार ट्रायल सेन्टर बढाउन पनि सुझाव दिए।

कार्यालयमा अनियमितता रोक्न निर्देशन दिँदै मन्त्री लेखकले भने, “जहाँ भीड हुन्छ, त्यहीँ अनियमिमता हुँदो रहेछ, केही कर्मचारी लोभमा पनि फस्दा रहेछन्, त्यसले पनि कामलाई बाधा पुग्दोरहेछ, अब आजको काम आजै र केही घन्टाभित्रै हुने गरी काम गर्नुस्, अनियमितता र लोभमा परेमा त्यस्ता कर्मचारीलाई कारबाही गरिन्छ ।”
सचिव धनबहादुर तामाङले अब यातायात सम्बन्धी सबै काम सहज ढङ्गले हुने र जनताले दुःख भोग्नुपर्ने अवस्था अन्त्य हुने बताए।

ललितपुरमा पनि कार्यालय सञ्चालनमा ल्याइसकेको र अब केही दिनमै चाहबिलमा पनि कार्यालय सञ्चालनमा ल्याउने बताउँदै उनले उपत्यकाका चारवटै कार्यालयमध्ये जहाँबाट पनि सेवा लिन सकिने बताए।

कार्यक्रममा यातयात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले निकट भविष्यमा उपत्यका बाहिर थप कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए। यातायात व्यवस्था कार्यालयका प्रमुख अनुज घिमिरले भोलि सोमबारबाट सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने र नेपालीकरण गर्ने कार्यको सुरुवात हुने बताए।

नयाँ अनुमतिपत्रको लागि भने कम्तीमा दुईसाता लाग्ने बताउँदै उनले कार्यालयले मापदण्ड पुगेको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने स्थानको खोजी गरीरहेकाले तत्कालै नयाँ सवारी चालकको अनुमतिपत्र प्रदान गर्न कठिन भएकोे बताए । रासस

प्रकाशित: २ माघ २०७३ १०:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App