coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना त्रास, गर्भवती डेरा निकाला

काठमाडौं  - कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन्। काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए। कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन्।

जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन्।  चिकित्सकले यही वैशाख अन्तिम साता सुत्केरी हुने समय तोकेकाले उनीहरु गत बुधबार एम्बुलेन्समा कीर्तिपुरस्थित डेरामा आएर बस्न थालेका थिए।

कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले कोरोना संक्रमण आशंकामा नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।
 

घरधनी महर्जनले छिमेकीसमेत जम्मा गरी आफूहरूलाई दुव्र्यवहार गर्दै जबरजस्ती कोठाबाट निकालेको शर्माले बताए। ‘कोठामा सेल्फ क्वारेन्टाइनमा बसेका थियौं,’ शर्माले भने, ‘उताबाट आएको दिनदेखि नै घरधनीले कोठाबाट निस्किन दबाब दिएका थिए। घरधनीले आइतबार त दुव्र्यवहार गर्दै निकाले।’

घरधनीले कोरोनाको आशंकामा कोठाबाट निस्कन दबाब दिएपछि शर्माले प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गरेर परीक्षण गराएका थिए। परीक्षणमा तीनैजनाको रिपोर्ट नेगेटिभ आएको थियो। ‘उहाँ (घरधनी) ले कोरोना भएको आशंका गरेपछि शंका मेटाउन हामीले नमुना परीक्षण गरायौं’, शर्माले भने,’ ‘रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदा पनि बल प्रयोग गरेर निकाले।’ आफूहरू विदेशबाट नआएको र विदेशबाट आएका मानिससँगको सम्पर्कमा पनि नरहेको जानकारी गराउँदा पनि घरधनीले कोठा छाड्न दबाब दिएको उनले बताए। लडडाउनको समयमा जाजरकोट बस्दा पनि अरु कसैको सम्पर्कमा नगएको उनले बताए।

घरधनी महर्जनले उनीहरूलाई कोठाबाट निकालेको स्वीकारे। छरछिमेकी डराएकाले कोठाबाट निस्कन भनेको उनले बताए। ‘बीचमा बाहिरबाट आएकाले कोरोना भएको आशंका लागेर निकालेको हो,’ उनले भने।

उनीहरू कोठामा आएकै दिन स्थानीयले विरोध गरेपछि कीर्तिपुर नगरपालिका–१० का अध्यक्ष अमन महर्जन त्यहाँ पुगेका थिए। घरधनी महर्जनले सुरुमा (बुधबार) गेटमा बाहिरबाटै ताला लगाइदिएका थिए। आफूहरूलाई घरधनीले दुव्र्यवहार गरी  निकाल्दा वडाध्यक्ष केही नबोलेको शर्माले बताए।

घरधनीले डेराबाट निस्कन दबाब दिएको गुनासो शर्माबाट आएपछि समस्या सुल्झाउन प्रहरीलाई निर्देशन दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलले बताए। ‘घरधनीले व्यवहारिकता बुझ्नुपर्छ,’ उनले भने, ‘घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन प्रहरीलाई भनेका छौं। घरधनीले कोठाबाटै निकालेको चाहिँ जानकारी भएन।’ गर्भवतीलाई समस्या परेको भए प्रशासनले थप सहजीकरण गर्ने पौडेलले बताए। ‘नागरिकलाई अप्ठेरो परे संरक्षण गर्नु राज्यको दायित्व हो,’ उनले भने, ‘प्रशासन सघाउन तयार छ।’

घरधनीले दुव्र्यवहार गरेपछि घटनास्थल पुगेको प्रहरी पनि स्थानीयका अघि निरीह बनेको थियो। घरधनीले निकालेपछि उनीहरूलाई कीर्तिपुरकै क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। स्थानीयले घरमा बस्दा धेरै आशंका गरेपछि कीर्तिपुरकै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको डिएसपी सेतीलाल कामतीले बताए। ‘लकडाउनकै क्रममा जाजरकोटबाट आएकाले घरधनीले त्रसित भएर कोठामा बस्न दिन मानेन्,’ कामतीले भने, ‘अलपत्र पर्न दिनु भएन। क्वारेन्टाइनमा राखेर खाने–बस्ने प्रबन्ध गरेका छौं।’ गर्भवतीलाई क्वारेन्टाइनमा न्यूनतम सुविधा नभएकाले थप समस्या सिर्जना हुन सक्ने भन्दै पति शर्मा चिन्तित  छन्।

वास्तविकता नबुझीकन समाजै लागेर कोठाबाट निकाल्नु दुव्र्यवहार भएको भन्दै  अधिकारकर्मीले पनि चिन्ता व्यक्त गरेका छन्। कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आउँदा पनि कोठाबाट निकाल्नु निन्दनीय भएको मानव अधिकार तथा शान्ति समाजका पूर्वसभापति गंगाधर अधिकारीले बताए। ‘यसरी डेराबाट निकाल्न थाल्ने हो भने थप समस्या सिर्जना हुन सक्छ,’ उनले भने, ‘प्रहरी प्रशासनले समन्वय गरेर व्यवस्थापन गर्नुपर्छ।’ सामाजिक दुरी कायम गर्ने बहानामा दुःख दिनु मानवअधिकार विरोधी काम भएको उनले बताए।

यसअघि दाङ घोराहीका एक घरधनीले अस्पतालमा काम गर्ने नर्सबाट कोरोना सर्ने आशंकामा उनलाई डेराबाट निकालेका थिए। घोराही उपमहानगरपालिका– १८ का नारायण आचार्यले आफ्नो घरमा डेरामा बस्दै आएकी नर्स सिर्जना खड्कालाई निकालेका थिए। आचार्य घोराही– २ का वडासचिव हुन्। उक्त घटनापछि आचार्यलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको थियो।

प्रकाशित: २ वैशाख २०७७ ०२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App