सम्भव छ भूकम्पको पूर्वानुमान ?

आइतबार, ०२ माघ २०७३, ०९ : ३५ नागरिक

केशव शर्मा-
के विश्वमा भूकम्प पूर्वानुमान गरिएकै छैन ? गरिएको छ भने ती अनुमान सही सावित भए ? भएका भए कुन विधि र आधारमा पूर्वानुमान गरिएको थियो ? यी र यस्ता प्रश्नको जिज्ञासा मेटाउने प्रयास यस लेखले गर्नेछ ।

विश्वकै पहिलो भूकम्पको सफल पूर्वानुमान सन् १९७५ फेब्रुअरी ४ मा चीनको हाइचेङ शहरमा गएको भूकम्पको मानिन्छ ।

भूकम्प  गएको समयभन्दा करिब १० घण्टाअगाडि नै यसको पूर्वानुमान गरेर सबै मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । ७.३ म्याग्नेच्युटको उक्त  भूकम्पबाट हाइचेङ शहरको करिब ९० प्रतिशत भवन भत्किए पनि मानवीय क्षति धेरै हुन पाएन । हाइचेङ बारम्बार भूकम्प गइरहने क्षेत्रमा पर्ने स्थान हो । भूकम्प जानु केही समयअगाडि पशुपन्छीमा देखिने अस्वाभाविक व्यवहारका आधारमा उक्त भूकम्प पूर्वानुमान गरिएको मानिन्छ । हाइचेङ भूकम्पपछि पनि पशुपन्छीको व्यवहारलाई आधार मानेर युन्नान र सिचुवान क्षेत्रमा गएको भूकम्पको पनि सफल पूर्वानुमान गरिएको थियो तर हाइचेङ भूकम्पको करिब सत्र महिनापछिे ताङसान क्षेत्रमा गएको ठूलो भूकम्पको कुनै पूर्वानुमान गर्न सकिएन । त्यसपछि पनि भूकम्पको पूर्वानुमन गरेर मानिसले केही समय सुरक्षित स्थानमा बस्न भनिएका क्षेत्रहरुमा भूकम्प गएन बरु त्यहाँका मानिसमा त्रासको वातावरण सिर्जना गर्यो । त्यस्तै पूर्वानुमान नगरेका क्षेत्रमा ठूला भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भयो । जसका कारण भूकम्पको पूर्वानुमान गर्ने उक्त आधारमा प्रश्नचिह्न लाग्यो । हिजोआज उक्त आधारबाट भूकम्पको पूर्वानुमान नगरिए पनि चिनियाँहरु पशुपन्छीको अस्वाभाविक व्यवहारलाई कसरी पहिचान गर्ने भनेर लागिपरेका छन् ।

सन् १९७९ देखि १९८९ को १० वर्षमा मात्रै ६.० म्याग्नेच्युट वा सोभन्दा ठूला ४ वटा भूकम्प गए । त्यसकारण नेपालमा पनि हरेक ७५–८० वर्षमा महाभूकम्प जान्छ भनेर किटान गर्ने अवस्था छैन ।  

वैज्ञानिकहरु विगतमा गएका भूकम्प अध्ययन गरेर औसत यति वर्षको फरकमा ठूलो भूकम्प जान सक्छ भनेर पूर्वानुमान गर्ने गर्छन् । जस्तो नेपालमा पनि करिब ७५–८० वर्षको अन्तरमा महाभूकम्प जान्छ भनिने गरिन्छ । तर धेरै स्थानमा विगतका भूकम्पको अन्तरालका आधारमा गरिने पूर्वानुमान पनि सफल भएका छैनन् । पृथ्वीको एउटा चिरा (फल्ट) बाट भूकम्प जाँदा हुने शक्ति क्षयीकरणको असर नजिकै अर्को प्लेटमा पर्ने हुँदा यस्ता अनुमान सधैँ सही हुँदैन । जस्तो अमेरिकाको सानफ्रान्सिस्कोमा सन् १८३६ देखि १९११ बीचको ७५ वर्षको अवधिमा ६.८ म्याग्नेच्युट वा सोभन्दा ठूला ४ वटा भूकम्प र ६.० म्याग्नेच्युटभन्दा ठूला केही भूकम्प गएका थिए भने सन् १९११ देखि १९७९ सम्मको ६८ वर्षमा ६.० म्याग्नेच्युटभन्दा ठूलो कुनै पनि भूकम्प गएन । तर सन् १९७९ देखि १९८९ को १० वर्षमा मात्रै ६.० म्याग्नेच्युट वा सोभन्दा ठूला ४ वटा भूकम्प गएका थिए । त्यसकारण नेपालमा पनि हरेक ७५–८० वर्षमा महाभूकम्प जान्छ भनेर किटान गर्ने अवस्था छैन । नेपालमा १ भन्दा बढी चिरा भएकाले एउटा भूकम्पको असर अर्को चिरामा पर्न सक्ने भएकाले पनि केही भन्न सकिने स्थिति छैन ।

केही समयअघि नेपाली तथा विदेशी सञ्चारमाध्यममा आएको एक नयाँ अनुसन्धानको आधार यस्तै पनि छ । मध्य–नेपाललाई केन्द्रविन्दु बनाएर सन् १२५५ मा ८.० म्याग्नेच्युटभन्दा ठूलो भुइँचालो गएको थियो । ७६१ वर्षपछि २०१५ मा गोरखा केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युट भूकम्प उक्त क्षेत्रमै गयो तर ७६१ वर्षसम्म थुप्रिएको शक्ति वा तनावलाई ७.८ म्याग्नेच्युटले पूर्णरूपमा क्षयीकरण गर्न नसक्ने भएकाले उक्त क्षेत्रमा अझै भूकम्पीय जोखिम छ भनिएको हो । पूर्वी नेपालमा करिब ८३४ वर्षको अन्तरालमा महाभूकम्प गएको तथ्यलाई आधार मानेर मध्य नेपालमा पनि महाभूकम्प  गएको अबको केही दशकमा ८३४ वर्ष पुग्ने भएकाले यस स्थानमा अझै भूकम्पको सम्भावना छ भनिएको हो ।

भूकम्पको पूर्वानुमान गर्ने अर्को आधार भनेको भूकम्पीय रिक्तता (सिस्मिक ग्याप) हो । भारतीय प्लेट हरेक वर्ष करिब ५ सेन्टिमिटरको दरले उत्तरतिर तिब्बत प्लेटमुनि घुस्रिरहेको छ जसका कारणले हिमालयन क्षेत्रमा भूकम्प गइरहन्छ । हिमालय शृंखला करिब ३००० किमी लामो छ । यो ३००० किमी लामो भारतीय र तिब्बत प्लेटको किनारामा एकै पटक भूकम्प जाँदैन । जस्तो पोखराबाट पूर्वी क्षेत्रमा गत करिब ५०० वर्षमा धेरै महाभूकम्प गइसकेको देखिन्छ तर पोखराबाट पश्चिम देहारदुनसम्मको क्षेत्रमा ५०० वर्षमा ठूलो भूकम्प  गएको छैन । त्यस्तै देहरादुनबाट पश्चिम क्षेत्रमा पनि ५०० वर्षमा ठूला भूकम्प गएको देखिन्छ । पोखराबाट देहरादुनसम्मको क्षेत्रमा ५०० वर्षमा ठूलो भूकम्प गएको छैन । यस्तो अवस्थालाई भूकम्पीय रिक्तता (सिस्मिक ग्याप) भनिने गरिन्छ । भारतीय प्लेट समग्ररूपमै उत्तरतिर सरेको छ तर पोखराबाट देहरादुनसम्मको खण्डमा भूकम्पमार्फत दुई प्लेटबीच भएको घर्षण क्षयीकरण हुन सकेको छैन । त्यस कारण यो क्षेत्रमा जुनसुकै बेला पनि भूकम्प जान सक्छ भनिएको छ । तर उक्त क्षेत्रमा कति शक्ति सञ्चित भएको छ र कति शक्ति सञ्चित भएपछि त्यस क्षेत्रमा भूकम्प जान्छ भनेर किटानका साथ भन्न सकिने अवस्था छैन । यही भूकम्पीय रिक्तताको आधारमा सन् १९७८ मेक्सिको भूकम्पको केन्द्रविन्दु पूर्वानुमान गरिएको थियो जसको करिब १ किमि नजिकै नोभेम्बर २९ मा ठूलो भूकम्प गएको थियो । प्रशान्त महासागर र अमेरिकाबीच यस्तै एउटा पार्कफिल्ड भन्ने भूकम्पीय रिक्तताको पहिचान असीको दशकमा गरिएको थियो र सन् १९८६ देखि १९९३ को बीचमा त्यस स्थानमा ठूलो भूकम्प जाने भनेर पूर्वानुमान अमेरिकन वैज्ञानिकले गरेका थिए । तर उक्त स्थानमा अहिलेसम्म ठूलो भूकम्प गएको छैन अरु पार्कफिल्ड नजिकैको अर्को चिरा जहाँ तुरुन्त भूकम्प जाँदैन भनिएको थियो उक्त स्थानमा भने सन् १९८९ मा ठूलो भूकम्प  गयो ।

सामान्यतः ठूलो भूकम्प आउनुअघि उक्त स्थानमा ससाना कम्पन जाने गर्छन् जसलाई पूर्वकम्पन भनिन्छ । यस्ता पूर्वकम्पन ठूलो भूकम्प  आउनुभन्दा केही घण्टादेखि केही महिनाअगाडिबाट जान सुरु गर्छन् । कतिपय पूर्वकम्पन अति नै सानो हुने भएकाले सर्वसाधारणलाई जानकारी नहुन पनि सक्छ । माथि उल्लिखित १९७५ फेब्रुअरी ४ मा चीनको हाइचेङ सहरमा गएको भूकम्पको पूर्वानुमान गर्दा पशुपन्छीको  अस्वाभाविक व्यवहारका साथै पूर्वकम्पनलाई पनि आधार मानिएको थियो । सन् १९७८ को मेक्सिकोको भूकम्प पनि पूर्वकम्पनका आधारमा गरिएको थियो । सन् २००१ को गुजरात भूकम्प जानुअघि सन् २००० मा त्यसको पूर्वकम्पन गएको थियो भनिन्छ । भूकम्प  पूर्वानुमानका लागि पूर्वकम्पन एउटा आधार भए तापनि पूर्वकम्पन केही घण्टादेखि केही महिना (वा वर्ष) अगावै जान सक्ने भएकाले किटानका साथ भूकम्प यति बजे वा यो दिन वा यो महिना जान सक्छ भन्न सकिने स्थिति अहिलेसम्म छैन ।

भूकम्प पुर्वानुमान गर्ने अर्को आधार भूमिगत पानीमा हुने रासायनिक पदार्थको मात्रा पनि मानिन्छ । भूकम्प जाने करिब २–८ दिन पहिलाबाट भूमिगत पानीमा रासायनिक पदार्थको मात्रामा भारी वद्धि भएको देखिएको छ । यसलाई नै आधार मानेर कुनै पनि भूकम्पको पूर्वानुमान गरेको नभए तापनि धेरै स्थानमा  भूकम्पपूर्व, भूकम्पका बेला र केही समयपश्चात, भूकम्प गएको स्थानको भूमिगत पानीमा रासायनिक पदार्थको मात्रा फरक देखिएको थियो । भारतको मध्य प्रदेशमा सन् १९९७ मा गएको भूकम्पमा यस्तो तथ्य देखिएको भारतीय मिटेरोलजिकल विभागले जनाएको थियो ।

भूकम्पका बेला भूमिगत पानीको तापक्रम बढ्ने गर्छ पनि भनिन्छ । माथि उल्लेख जस्तै पानीमा रासायनिक पदार्थको वृद्धिले पनि यस्तो हुन सक्छ । लुङ्लिन, चीनमा १९७६ र रसियामा १९७० मा गएको भूकम्पमा कारीब १०–१५ डिग्री सेल्सियस तापक्रम बढेको र भूकम्प  जाने समयभन्दा करिब २ महिना अगाडिबाट भूमिगत पानीको तापक्रम वृद्धि हुन थालेको थियो ।

त्यस्तै भूकम्प जानु केही दिनअघि भूमिगत पानीको सतह घट÷बढ हुन सक्छ । सन् १९४६ को नान्काइ भूकम्प जानु केही दिनअगाडि त्यस स्थानमा एक्कासि भूमिगत पानीको सतह घटेको थियो । त्यस्तै अन्य केही भूकम्पमा पनि यस्तो पूर्वजानकारी देखिएको थियो । त्यस्तै तेलका कुवा भएको स्थानमा भूकम्प जानुअघि कुवाबाट धेरै तेल निस्कने गरेको केही त्यस्ता स्थानमा गएको भूकम्पबाट देखिएको छ । सन् १९७१ र १९७२ मा क्रमशः इजरायल र चीनमा भूकम्प  जाँदा त्यस नजिकका कुवामा धेरै तेल जम्मा भएको थियो । भूकम्प जाने क्षेत्रमा केही दिनअगाडिबाट राडान भन्ने ग्यास उत्सर्जन बढ्ने गर्छ । उज्वेकिस्तानमा सन् १९७२ मा भएको भूकम्पको बेला भूमिगत पानीमा राडानको मात्रा बढेको देखिएको थिया ।

भूकम्पका बेला तथा भूकम्प जानुभन्दा अघि धेरै किसिमका तरंग निस्कने गर्छन् । विशेषगरी प्राइमरी र सेकेन्डरी तरंगहरुको गतिको अनुपातका आधारमा पनि भूकम्पको पूर्वानुमान गर्न सकिने रसियन वैज्ञानिकहरुले सन् १९७३ तिर पत्ता लगाएका थिए । गति फरक हुने प्राइमरी र सेकेन्डरी तरंग कुनै स्थानमा पुग्न लाग्ने समयको फरकलाई प्रयोग गरेर भूकम्पको पूर्वचेतावनी पद्धति विकास गरिएको छ धेरै विकसित राष्ट्रमा । नेपालमा पनि केही स्थानमा यस्तो पद्धति जडान गरिएको छ ।  
माथि उल्लिखित आधारहरुमा भूकम्पको पूर्वानुमान गर्ने गरिएको छ तर पनि कुनै पनि आधार शतप्रतिशत सफल भने भएका छैनन् । जापान र अमेरिका जहाँ प्रविधिको उच्च प्रयोग गरिन्छ त्यस्तो ठाउँमा त भूकम्पको भविश्यवाणी हुन सकेको छैन भने अन्यत्र गाहै्र पर्छ । त्यस कारणले भूकम्प जान सक्ने क्षेत्रहरूको पहिचान गर्न भूकम्प विज्ञान सफल रहे तापनि भूकम्पको प्रभावकारी भविष्यवाणी भने अझै चुनौतीपूर्ण नै छ ।
-लेखक अल्बेर्टा युनिभर्सिटी, क्यानडामा विद्यावारिधिरत् छन्।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad