७ वैशाख २०८१ शुक्रबार
खेल

डायमन्डको अपराजित यात्रामा पूर्णविराम

काठमाडौं- भारतीय खेलाडीको साथ पाएको रिड मोडेल स्कुलले १२औं ढोरपाटन भलिबलमा न्यु डायमन्ड एकेडेमीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै उपाधि दाबेदारका रुपमा आफूलाई उभ्यााएको छ। भारतीय राष्ट्रिय टोलीको जर्सी लगाइसकेका तीनसहित सात खेलाडी भित्रयाएको रिड मोडलले अघिल्लो दिन साविक विजेतामाथि पाएको जितलाई निरन्तरता दिने क्रममा शुक्रबार साविक उपविजेता डायमन्डमाथि सोझो सेटमा जित हासिल गर्‍यो। एपिएफलाई रिड मोडलले ३–१ को जित हासिल गरेको थियो।

रिड मोडेलकी निर्मला तनुवार, मिलिमम अब्राहम र प्रियंका खेडकरले  भारतीय राष्ट्रिय टोलीको जर्सी लगाइसकेका छन्। रिड मोडेलका अनुसार बाँकी चार खेलाडीले पनि हरियाणाको क्षेत्रीय टोलीबाट खेलेका छन्।

न्यु डायमन्ड र रिड मोडेलबीचको खेललाई प्रतियोगिताकै महत्वपूर्ण खेलको रुपमा लिइएको थियो। खासगरी रिड मोडलले एपिएफमाथि विजय हासिल गरेपछि डायमन्डविरुद्धको खेललाई व्यग्रताका साथ प्रतिक्षा गरिएको थियो। तर रिड मोडलले डायमन्डको चुनौती २५–१६, २५–२१, २५–२३ को नतिजामा सहजै पाखा लगायो।

रिड मोडेलका प्रशिक्षक खुम गाउँलेले पहिलो लिगमा मुख्य टिमलाई हराए पनि उपाधि जित्ने पक्का भइनसकेको बताए। 'एपिएफ र डायमन्डलाई हराएपछि हामीमाथिको दबाब केही कम भएको छ,' उनले भने, 'तर दोहोरो लिग खेल्नुपर्ने भएकाले हामीले लामो प्रतियोगितामा आफ्नो प्रदर्शनलाई सुधार गर्दै खेल्न सक्नु पर्छ।'

प्रतियोगितामा पहिलो पराजय भोगे पनि न्यु डायमन्ड अंकतालिकाको शीर्ष स्थानमा यथावत छ। डायमन्डले ७ खेलबाट १८ अंक जोडेको छ। दोस्रो स्थानमा १५ अंकका साथ एपिएफ छ भने १५  अंक जोडेको नेपाल पुलिस तेस्रो स्थानमा छ भने पश्चिमाञ्चल र अपराजित यात्रा जारी राखेको रिड मोडल समान १२ अंकका साथ चौथो तथा पाँचौं स्थानमा छन्। रिड मोडलले तीन खेल कम खेलेको छ।

डायमन्डका प्रशिक्षक कुमार राईले डिफेन्स कमजोर हुँदा पराजित भएको बताए। 'हामीलाई आजको खेल जित्नु पर्ने चुनौती थियो। खेल जित्न सकेको भए उपाधि समिकरण थप सहज हुने थियो,' उनले भने, 'तर हामीले रिड मोडेललाई रोक्न सकेनौं। उनीहरुलाई उचाईले साथ दिएको छ। हामीले ब्लक पनि गर्न सकेनौं। ब्लक गर्न नसकेपछि डिफेन्सबाट हामीले उनीहरुलाई दबाब दिनु पर्ने थियो। तर डिफेन्स पनि कमजोर भयो।'

यसैगरी अर्को खेलमा रिड मोडलले रामेछापको चन्डेश्वरी युवा क्लवलाई २५–४, २५–१०, २५–१३ ले हरायो। शुक्रबारै भएका अन्य खेलमा एपिएफ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र न्यु डायमन्ड स्पोर्टस् क्लवले जित हासिल गरे। एपीएफले आयोजक ढोरपाटन स्पोर्टस् क्लवलाई २५–८, २५–१०, २५–१० को नतिजामा हरायो भने पश्चिमाञ्चलले त्रिभुवन आर्मीलाई २५–१५, २५–२१, २५–२३ ले पराजित गर्‍यो।

न्यु डायमन्ड स्पोर्टस् क्लव र बिजेश्वरी ज्ञान मन्दिर स्कुल प्रतियोगितामा पहिलो जित हासिल गरे। स्पोर्टस क्ल्बले विजेश्वरीलाई २०–२५, २५–२०, २२–२५, २५–१८ र १६–१४ ले पराजित गर्‍यो। शुक्रबार हारको सामना गरेपनि पाँच सेट खेलका कारण विजेश्वरीले १ अंक जोडेको हो।

प्रकाशित: १ माघ २०७३ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App