१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमित बोक्न ‘विशेष एम्बुलेन्स’

भक्तपुर- कोरोना संक्रमणको सम्भावित बिरामी बोक्न आनाकानी गर्ने क्रम बढेपछि भक्तपुरमा ‘कोरोना विशेष एम्बुलेन्स’ सञ्चालनमा ल्यायएको छ । कारोना त्रास हटेपछि फिर्ता गर्ने सर्तमा एक दाताबाट गाडी सहयोगमा लिएर बनाइएको उक्त एम्बुलेन्स नेपाली सेना, नेपाल प्रहरीलगायतको संयुक्त पहलमा अत्याधुनिक बनाइएको हो । कोरोना संक्रमण पुष्टि भएको व्यक्ति राखे पनि चालकलगायत अरूलाई नसर्नेगरी एम्बुलेन्सलाई अत्याधुनिक बाइएको हो ।
एम्बुलेन्स अरूभन्दा होचो छ । यसमा एकजना बिरामी मात्र सुत्न मिल्नेगरी बनाइएको छ । सामान्य एम्बुलेन्समा जस्तै अक्सिजनलगायत आधारभूत सामग्री पनि राखिएका छन् । बिरामी सुताइने शड्ढयावरिपरि ढाकिनेगरी प्लास्किकको कवच राखिएको छ ।
उद्धारकर्मी अरुण सैंजूले सामान्य एम्बुलेन्सले कोरोना आशंकित बिरामी बोक्न नमान्दा विशेष एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताए । ‘यसै साता दुवाकोटमा एउटै परिवारका सबैलाई ज्वरो आएपछि कोरोना संक्रमित भएको आशंका गरिएको थियो । उनीहरूलाई अस्पताल लान दिनभरिको प्रयासमा पनि एम्बुलेन्स आइदिएन,’ उनले भने, ‘यही समस्यालाई मध्यनजर गरी हामीले नेपाल प्रहरी, नेपाली सेनासँंगको सहकार्यमा विशेष एम्वुलेन्स बनाइ सेवा सुरु गरेका हौं ।’
विशेष एम्बुलेन्स कोरोना संक्रमितका साथै कोरोनाबाट मृत्यु भएकालाई बोक्न प्रयोग गरिने अर्का उद्धारकर्मी राजेश गाइजूले बताए । तेस्रा उद्धारकर्मी न्हुज किजूले विशेष एम्बुलेन्स नेपालकै पहिलो भएको दाबी गरे । उनले विशेष एम्बुलेन्सबाट उपत्यकाभरि सेवा प्रदान गर्न सकिने जानकारी दिए ।
यो विशेष एम्वलेन्स भक्तपुर अस्पताल परिसरमा राखिएको छ । भक्तपुरमा भएका विभिन्न अस्पतालहरूमध्ये अहिलेलाई नेपाल सरकारले भक्तपुर अस्पताल र जिल्लाको दुवाकोटस्थित केएमसी अस्पताल गरी दुई वटालाई मात्रै कोरोना उपचार गर्ने अस्पतालको रूपमा तोकेको छ ।

प्रकाशित: २७ चैत्र २०७६ ११:०२ बिहीबार

कोरोना_भाइरस एम्वुलेन्स