४ वैशाख २०८१ मंगलबार
प्रवास

बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या पाँच पुग्यो

लन्डन - कोरोना भाइरस (कोभिड १९)  का कारण वेलायतमा बुधवार साँझसम्म ५ जना गैरआवासीय नेपालीहरुको मृत्यु भएको छ। वेलायतको नटिङहममा बस्ने एक नेपालीको बुधवार साँझ निधन भएपछि कोरोनाको कारणले मृत्यु हुने नेपालीको संख्या ५ पुगेको हो। 

नोटिङ्गघमस्थित गैरआवासीय नेपाली अभियानका अग्रज पशुपति पोखरेलका अनुसार भूपू गोरखा शिव श्रेष्ठको स्थानीय अस्पतालमा उपचारका क्रममा बुधवार दिउँसो निधन भएको हो।

सोलुखुम्बुकाका ५८ वर्षिया श्रेष्ठ गत हप्ता देखि आइसोलेसनमा बसेका थिए। बुधवार बिहान ३ बजे तिर स्वास्थ्यमा थप समस्या आए पछि आफैले एम्बुलेन्स बोलाएर अस्पताल गएको पोखरेलले नागरिकन्युजलाई जानकारी दिए।

समाजसेवी रण बहादुर केसीका अनुसार उनी दुई छोरा, श्रीमति सहित नोटिङ्गघममा बस्दै आएका थिए। उनी स्थानिय नटिङहम नेपाली समाजका संस्थापक सदस्य थिए। उनी बिगत एक हप्ता देखि आइसोलेसनमा थिए।

यसै बीच लण्डनस्थित नर्थविक पार्क अस्पतालमा मात्र ३ नेपालीको निधन भएको छ। तमुधिं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक ९डेविड० गुरुङका अनुसार ५९ वर्षीय भूपू गोरखा चेत प्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको हो। 

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राईको  ६६ वर्षको उमेरमा सोही अस्पतालमा कोरोनाको कारणले मृत्यु भएको थियो। यस्तै बुधवार दिउँसो छोरा बुहारी भेट्न वेलायत आएका एक ७७ वर्षिय बृद्धाको सोही अस्पतालमा कोरोनाकै कारणले मृत्यु भएको बुझिएको छ।

यसअघि इष्टलण्डन बस्ने चितवनका प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो। वेलायतको नेपाली समुदायमा कोरोनोका कारणले संक्रमण तिब्र रुपमा बढ्दै गएको वताइन्छ। कयौंले कोरोनाको संक्रमण भए पनि गोप्य राख्दै आएका छन्। 

वेलायतमा बुधबार साँझ सम्म ५ नेपाली सहित ७ हजार ९७ जनाको कोरोना कारणले ज्यान गएको छ। ६० हजार भन्दा बढीलाई कोरोना संक्रमण देखिएकोे छ।

प्रकाशित: २७ चैत्र २०७६ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App