coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

खसीबोकाको कारोबार ठप्प

काठमाडौं - बाख्रापालन व्यवसायमा पनि कोरोनाजन्य समस्या देखिन थालेको छ। पशु सेवा विभागको तथ्यांकअनुसार नेपालका ५१ प्रतिशत किसानले बाख्रापालन गरेका छन्। विभागको आर्थिक वर्ष ०७५/७६ को तथ्यांकअनुसार मुलुकभर उत्पादन हुने तीन लाख ५७ हजार मेट्रिक टन मासुमध्ये साढे २० प्रतिशत अर्थात ६८ हजार टनको स्रोत बाख्रा नै हो। विभागको तथ्यांकअनुसार उपत्यकामा मात्रै दैनिक हजारभन्दा बढी खसीबोका खपत हुन्छ। काठमाडौं चौपाया व्यवसायी संघका कार्यालय प्रमुख जीवनराज खतिवडा उपत्यकाको दैनिक खसीबोका माग १४ सय रहेको बताउँछन्।

यति ठूलो संख्यामा खसीबोका आवश्यक पर्ने उपत्यकामा आयात लगभग ठप्प छ। ‘उपत्यकाबाहिरबाट आएकै छैनन् भन्दा पनि भयो, उपत्यकाभित्र भएका केही बाख्रा फार्मबाट व्यापारीले लिएर मासु आपूर्ति गरिरहेका छन्,’ उनले भने, ‘उपत्यकाका खसीबजार त लगभग बन्द अवस्थामै छन्।’ उनले मासुलाई अत्यावश्यकमा राखेर ढुवानी तथा बिक्री–वितरणमा सरकारले रोक नलगाए पनि कोरोना त्रासको कारण व्यवसायी आफैं सुरक्षित बस्न खोजेको र माग पनि घट्दै गएको कारण उपत्यकामा यसको आपूर्ति रोकिएको छ। ‘सबै होटल बन्द छन्। सेना, प्रहरीले पनि अहिले मासु बन्द गरेको छ, कोरोनाको कारण यसै पनि मासुको प्रयोग पनि घटेको छ,’ खतिवडाले भने, ‘अन्य खाद्यान्न जस्तै सहजै एकै ठाउँबाट किनेर ल्याउँछु भन्न मिल्दैन, गाउँमा किसानकहाँ गएर किन्न पनि जोखिम छ।’

सबै होटल बन्द छन्। सेना, प्रहरीले पनि अहिले मासु बन्द गरेको छ, कोरोनाको कारण यसै पनि मासुको प्रयोग घटेको छ।
 

व्यावसायिक बाख्रापालक महासंघका सचिव बद्रिप्रसाद अधिकारी ठूलो परिमाणमा खसीबोका खपत हुने काठमाडौं लगायत सहरमा नगएको र स्थानीय बजारमा पनि माग ठप्प जस्तै भएको बताउँछन्। ‘अहिले बढी माग हुने र उत्पादन पनि धेरै हुने समयमा खसीबोका किसानकै खोरमा छन्,’ उनले भने, ‘विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाले समुदायमा सहयोग गर्न यसै बेला बीउको लागि बोका र बाख्रा अर्डर गरे पनि असहज परिस्थितिको कारण लैजान नसकेको अवस्था छ।’ उनले आफूले देशभरका व्यवसायीसँग बुझेको र सबैतिरको अवस्था एउटै रहेको उनले बताए। अधिकारीले अहिले बाख्रालाई उपचार गर्न पनि नसकिएको बताए। ‘विभिन्न खोप दिनुपर्नेमा त्यसो गर्न सकिएको छैन।

धेरैतिर निमोनियाको समस्या देखिएको छ,’ उनले भने, ‘सरकारले पशु स्वास्थ्यलाई अत्यावश्यक सेवामा राखे पनि भारतबाट औषधी आउन सकिरहेको छैन।’ब्रोइलर कुखराजस्तो बिक्री नहुँदा एकाध महिनामै समस्या नदेखिने भए पनि यो असहज अवस्था कहिलेसम्म रहन्छ भन्ने अन्योल भएपछि यसको प्रभाव पछिसम्म देखिनेमा शंका नरहेको अधिकारीको तर्क छ। ‘व्यवसायीले आफ्नो रुटिन अनुसार काम गर्न पाएका छैनन्,’ उनले भने, ‘खसीबोका बिक्री गरेर थप लगानी लगायतका अन्य आर्थिक कार्य समेत अगाडि बढाउन सकिरहेका छैनन्।’  उनले सरकारले भारतबाट अवैध रुपमा आउने खसीबोका नियन्त्रण गर्न नसकेर नेपाली बाख्रापालकलाई मर्का परिरहेकोमा अहिले आएर कोरोनाको कारण खपत नहुँदा असर परेको बताए। 

मासु व्यवसायी संघका अध्यक्ष चैते शाही अहिले मासु बजार नै सुस्ताएको बताए। ‘माग कम भएपछि कुखुराको मासु अहिले उपत्यकाभित्रैको उत्पादनले पनि धानिरहेको छ। राँगो, खसीबोका, बंगुर, माछा लगायतको व्यापार एकदमै कम छ,’ उनले भने, ‘बाहिरबाट पशुचौपाया भित्र्याउन नसक्दा गाह्रो भएको छ।’ उनले लकडाउनको कारण सहज रुपमा पसल खोल्न सक्ने अवस्था नभएको बताए। ‘हामीले सुरक्षाका विधि अपनाएकै छौं, तर विहानमा संकलन गरेर फ्रिजमा राख्ने र साँझको समयमा मात्र बिक्री गर्ने गरिएको छ,’ उनले भने, ‘पसल खोलेर अब ग्राहक आउँछन् भन्ने बेलामा प्रहरी आएर बन्द गराउन थालिहाल्छ कसरी व्यावसाय गर्नु !’

प्रकाशित: २७ चैत्र २०७६ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App