८ वैशाख २०८१ शनिबार
अर्थ

चक्रपथभित्र खाद्यको अनलाइन अर्डर र होम डेलिभरी

काठमाडौँ - सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनमार्फत अर्डर लिन थालेको छ। बुधबारदेखि सञ्चालनमा आएको प्रविधिमार्फत अर्डर गर्न सकिने खाद्यकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।‘उपभोक्ताले अनलाइन अर्डर गर्ने हो, यसको लागि डब्लुडब्लुडब्लू डट नेपाल फुड डट जिओभी डट एनपीमा गएर पोर्टलमा भएका खाद्यवस्तुको अर्डर गर्न सकिन्छ,’ उनले भनिन्, ‘अर्डर गरिसकेपछि नगद र इपेमेन्टमार्फत उपभोक्ताले भुक्तानी गर्न सकिन्छ।’

उनले अनलाइन भुक्तानीलाई प्राथमिकता दिने भए पनि अहिलेलाई दुवै विकल्प खुला गरिएको बताइन्। ‘इ–पेमेन्ट गरेपछि हामी त्यसलाई कन्फर्म गर्छौं र दोस्रो दिन डेलिभरी दिन्छौं। नगदको हकमा पनि अर्डरको दोस्रो दिन डेलिभरी दिन्छौं,’ न्यौपानेले भनिन्, ‘इ–पेमेन्टको लागि अहिले खल्ती र इसेवाले सुविधा दिएका छन् केही दिनमा आइएमईबाट पनि भुक्तानी गर्ने व्यवस्था हुनेछ।’ यो अनलाइन अर्डर र डेलिभरीको सुविधा हाललाई उपत्यकाको चक्रपथ भित्रमात्र सीमित गरिएको उनले बताइन्। ‘विस्तारै यसलाई उपत्यकाभर विस्तार गर्ने योजना हो।

अहिलेलाई परीक्षणको लागि चक्रपथभित्र मात्र सेवा दिँदैछौं,’ उनले भनिन्, ‘डेलिभरीमा अहिलेलाई हामीसँग भएको एउटा मोबाइल भ्यानको प्रयोग गर्छौं, थप दुईवटा खरिद प्रक्रिया अगाडि बढेको छ।’ खाद्यले तत्काललाई चामल र सिमीको मात्र अर्डर लिनेछ। न्यौपानेले अन्य खाद्यवस्तु डेलभरीको लागि पनि व्यवसायीसँग कुराकानी भइरहेको बताइन्। होम डेलिभरीको लागि कम्तीका दुई हजारको खाद्यान्न खरिद गर्नुपर्ने उनले बताइन्। 

प्रकाशित: २७ चैत्र २०७६ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App