७ वैशाख २०८१ शुक्रबार
अर्थ

काम अघि नबढे अर्बाैं जोखिममा : व्यवसायी

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले लकडाउनले रोकिएको पुल तथा नदी नियन्त्रणको काम तत्काल अघि नबढे व्यवसायीको अर्बाैं रुपैयाँ जोखिममा पर्ने भन्दै काम गर्ने वातावरण बनाइदिन सरकारसँग अनुरोध गरेको छ। महासंघले सम्बन्धित व्यवसायीले अर्बौं लगानी गरी निर्माणस्थलमा गिट्टी, बालुवा, सिमेन्ट, रड, फर्मा लगायत निर्माण सामग्री ढुवानी गरिसकेकोले आवश्यक सुरक्षा अपनाएर काम गर्ने वातावारण बनाइदिन भनेको छ।  

‘अधिकांश निर्माणाधीन पुलमा स्ल्याब ढलान गर्ने फर्मा राखेर रडसमेत बाँधिसकेको छ भने प्रिस्टेज पुलमा टेन्डम तार जडान भइसकेको छ,’ उनले भने, ‘यस्ता खालका काम वर्षा सुरु हुनुअघि नै गर्न नसके व्यवसायीको अर्बौं लगानी डुब्ने जोखिम हुन्छ।’ महासंघका महासचिव रोशन दाहालले व्यवसायी र कामदारले सतर्कता अपनाएर काम गर्ने भन्दै त्यसको लागि वातावरण बनाइदिन अनुरोध गरे। ती परियोजनाको निर्माणस्थलमा सीमित श्रमिक हुने र निश्चित क्षेत्रभित्र रहने भएकोले एकआपसमा दुरी कायम गर्न सकिने हुँदा कोरोना संक्रमणको खतरा पनि नरहने महासंघको भनाइ छ।

अन्य निर्माण कार्य समय अनुसार गर्दा हुने तर पुल र नदी नियन्त्रणका काम वर्षा अगावै सक्नुपर्ने हुँदा सहज वातावरण बनाइदिन महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको छ। सरकारले चालु आर्थिक वर्षमा बहुवर्षे ठेक्का अन्र्तगत विभिन्न आयोजनाको लागि तीन सयभन्दा धेरै पुल निर्माणको ठेक्का लगाएको छ। ती सबै आयोजनाको काम प्रभावित हुने लगभग निश्चित प्रायः छ। पुल महाशाखाका अनुसार सरकारले चालु आर्थिक वर्षमा स्थानीय सडकमा पुल निर्माणको लागि सुरुमा चार अर्ब ५७ करोड र चालु आवको बीचमा चार अर्ब ७५ करोड रुपैयाँ बजेट थप गरेको थियो। त्यसैगरी, रणनीतिक सडक पुलको लागि भने तीन अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको थियो।

सरकारले चालु आर्थिक वर्षमा मुलुकभर तीन सयभन्दा धेरै पुलनिर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। चालु आवको दोस्रो चौमासिकसम्म एक सय अर्थात ३३ प्रतिशत पुल निर्माणको काम सम्पन्न भइसकेका छन्। 

प्रकाशित: २७ चैत्र २०७६ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App