७ वैशाख २०८१ शुक्रबार
अन्य

मुस्कान मिठो झाँक्रीपानीको

एउटा गाउँको नाम गज्जबकै छ–झाँक्रीपानी । यसको पछाडि कथा छ । उहिल्यै एक जना झाँक्रीलाई तिर्खा लाग्यो । उसले तन्त्रमन्त्र गरेर डाँडाबाट पानी निकाल्यो । र, पिएर तृप्त भयो । त्यही बेलादेखि पानी निकालिएको ठाउँलाई झाँक्रीपानी भन्न थालियो । समयक्रममा त्यहाँ बस्ती बस्यो । 

झाँक्रीपानी अर्थात् सुन्दर पहाडी गाउँ । शितल, शान्त र सुन्दर भुगोल (२,२८० मिटर) । डाँडाबाट धौलागिरि, चुरेन, गुर्जा, मानापाथी, अन्नपूर्ण, निलगिरी र माछापुच्छे« हिमालको लामो लर्कन देखिन्छ । त्यो मिठो दृश्य आँखा नझिम्क्याई हेरिहुँ झैं लाग्छ । 

मंगला गाउँपालिका–३, म्याग्दीमा पर्ने झाँक्रीपानीमा ५३ घर छन् । गाउँमा मगर, विक, नेपाली, किसान, बाहुन, क्षेत्री, थकाली, नेवार र छन्त्याल समुदायको बसोबास छ । फरासिला गाउँलेहरू निश्चल, आत्मीय र मेहेनती छन् । 

झाँक्रीपानीमा ग्रामीण जीवनको स्वाद पाइन्छ । ढुँगे घर, हरिया डाँडा, चराको चिरबिर र अर्गानिक परिकार झाँक्रीपानीका विशेषता । गाउँमा कोदो, आलु, मकै, मुला, साग र उवा उत्पादन गरिन्छ ।

झाँक्रीपानी क्षेत्रको थर्पुमा चौबीसे राज्यकालको कोटघर पनि छ । कोटघरभित्र पुराना हतियार खुँडा, तरबार र माटोका गाग्रा छन् । थर्पुकोट विसं १३१२ मा स्थापना भएको मानिन्छ ।  

थर्पु गाउँमा जेठको तेस्रो मंगलबार धुले मेला लाग्छ । कोट घरमा पूजा गरेर मेला सुरु गरिन्छ । कोटघरमा दसैंमा जमरा राखिन्छ । साउने संक्रान्तिमा पूजा गरिन्छ । तिहारमा ‘आगो देउ’ पर्व पनि मनाइन्छ । 

पर्यटनको फूल फक्रिँदैछ गाउँमा । गाउँसम्मै मोटर बाटो पुगेको छ । डाँडामा तीन तले भ्यू टावर बनाइएको छ । ३३ लाख रुपैयाँ खर्चेर बनाइएको टावर । टावरको  तारबार गर्ने, खानेपानीको व्यवस्था मिलाउने र चर्पी बनाउने काम बाँकी छ । गाउँका २२ घरमा होमस्टे सुविधा छ । विसं २०७६ सालदेखि गाउँलेका घरमा पाहुनालाई राख्न थालिएको । 

‘हामीले लोकल खानामा जोड दिएका छौं’, झाँक्रीपानी सामुदायिक होमस्टेका अध्यक्ष कोमल थापा भन्छन्, ‘२५० रुपैयाँमा मासुभात खुवाउँछौं ।’ 

झाँक्रीपानीबाट चिनाकोट हुँदै सिँगा तातोपानीसम्म पदमार्ग बनाउने अभियान जारी छ । चिनाकोटमा उहिल्यै चिनियाँ राजाले राज्य गरेको किँवदन्ती छ । चाइनाकोट भन्दाभन्दै चिनाकोट भनिएको । तिनताका दरबारका बाहुनले नुहाउने पँधेरा र टुँडिखेल छँदैछ । 

जब हिमालको उज्यालोमा झाँक्रीपानी मुस्कुराउँछ तब उत्साहको लहर चल्छ । तन र मनमा ऊर्जा भरिन्छ । दिनभर त्यो सौन्दर्यमा हराउन मन लाग्छ । यसरी म्याग्दीको झाँक्रीपानी गाउँले मन चोर्छ । फेरीफेरी त्यहाँ पुगिरहुँ झैं लाग्छ । 

झाँक्रीपानीको प्रचार गर्न टिम्बुर बिशेषज्ञ चन्द्रमणि सापकोटा र तत्कालीन बरंजा गाविसका सचिव खगराज शर्मा लगायतको पहलमा विसं २०६७ वैशाख १ गते बरंजा झाँक्रीपानी महोत्सव गरिएको थियो । त्यसले स्थानीयमा आत्मगौरब बढाएको थियो ।  

अचेल गाउँको प्रवद्र्धनमा उद्योग वाणिज्य संघ म्याग्दीका उपाध्यक्ष एवं उद्यमी राजेश शाक्य पनि उत्तिकै सक्रिय छन् । पर्यटन अभियन्ता शाक्य भन्छन्, ‘व्यस्त दैनिकीबाट हयाङ्आउट हुने हिलस्टेशनका रुपमा हामी झाँक्रीपानीको विकास गर्दैछौं ।’ 

अन्त्यमा, जब हिमालको उज्यालोमा झाँक्रीपानी गाउँ मुस्कुराउँछ तब मनमा उत्साहको लहर चल्छ । तन र मनमा ऊर्जा भरिन्छ । दिनभर त्यो सौन्दर्यमा हराउन मन लाग्छ । साँच्चै म्याग्दीको झाँक्रीपानी गाउँले मन चोर्छ । फेरीफेरी त्यहाँ पुगिरहुँ झैं लाग्छ ।  

कसरी पुग्ने: काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा । बेनी–झाँक्रीपानी २४ किमि, जीपमा दुई घन्टा । बेनीबाट दिउसो ४ बजे बस छुट्छ । बस दुर्दीसम्म पुग्छ, दुर्दीबाट ४५ मिनेट हिँडमा झाँक्रीपानी पुगिन्छ । जिप चाहिँ झाँक्रीपानीसम्मै चल्छन् । 

होमस्टेमा स्वागत
कोमल थापा,अध्यक्ष, झाँक्रीपानी सामुदायिक होमस्टे 
हामीले पाहुना राख्न २२ लाई तयार पारेका छौं । होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ । मासु खानाको २५० रुपैयाँ लिन्छौं । होमस्टेमा बस्ने गरी यात्रा गर्दा हामीलाई पहिल्यै खबर गरेर आउनुस् है । घाम नडुब्दै गाउँमा आइपुगेमा हामीलाई पाहुनाको सत्कार गर्न सजिलो हुन्छ । 
सम्पर्क: कोमल–९८०५१७७६५५ 

अर्गानिक गन्तव्य 
राजेश शाक्य,पर्यटन अभियन्ता 
बजारको व्यस्त दैनिकीबाट हयाङ्आउट हुने हिलस्टेशनका रुपमा हामी झाँक्रीपानीको विकास र प्रवद्र्धन गर्दैछौं । झाँक्रीपानीलाई धेरै भन्दा धेरै पर्यटक चाहिएको छ । हामी प्रचारप्रसारमा जोड दिइरहेका छौं । अतिथिको सत्कार गर्न पाउँदा गाउँलेहरू खुसी हुन्छन् । गाउँको अर्गानिक वातावरणमा मन रमाउँछ । त्यहाँको हिमाली सौन्दर्यमा डुबुल्की मार्दै सृजनात्मक योजना बुन्न सकिन्छ । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App