coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतीय क्वारेन्टाइनका सन्तुष्ट नेपाली

रक्सोलस्थित क्वारेन्टाइनमा रहेका नेपाली। तस्बिर ः रितेश/नागरिक

रक्सोल (भारत)- कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सीमापारि भारतीय सहर रक्सोलमा रोकिएका नेपाली क्वारेन्टाइनमा बसेर समय बिताइरहेका छन्। तीमध्ये एक महिला र चार महिनाकी बालिका पनि छन्। रक्सोलस्थित हजारी मल उच्च माध्यमिक विद्यालयमा त्यहाँको स्थानीय प्रशासनले क्वारेन्टाइन स्थापना गरेको छ। त्यहाँ राखिएका २५ जनामध्ये १५ जना नेपाली छन्। उनीहरुलाई बस्ने, खाने, नियमित स्वास्थ्य जाँचलगायतको सुविधा उपलब्ध गराइएको छ।

‘हामी १३ जना एकै दिन मार्च ३१ म रक्सोल सीमामा आइपुगेका थियौं। भारतीय प्रशासनले यातायातको व्यवस्थागरी हामीलाई सीमासम्म ल्याइपु¥याएको थियो। त्यसपछि क्वारेन्टाइनमा बसिरहेका छौं,’ रुकुम आठजितकोट गाउँपालिका घर भएका प्रजित नेपालीले भने, ‘हामी देश पस्न पाइन्छ भन्ने आशामा सीमामा आइपुग्यौं, नेपाली सुरक्षाकर्मीले पस्न दिएनन्। खै के भन्ने, जान त पाइएन, यहाँ जे होस्, बस्न र खान पाइएको छ।’

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव बुधबार त्यहाँ पुगी उनीहरुलाई सान्त्वना दिएका थिए। ‘नेपाल सरकारसमेत हामी सबैलाई भारतमा बसेका हाम्रा नेपाली दिदीबहिनी दाजुभाइको चिन्ता छ, अन्य देशमा रहनुभएका हाम्रा नेपालीहरुको माया छ, अहिले विशेष परिस्थिति भएको हुनाले यस्ता असहजता भएका हुन्,’ सांसद यादवले क्वारेन्टाइनमा बसेका नेपालीको कुरा सुनेपछि भने, ‘अहिलेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जो जहाँ छ त्यहीं सुरक्षित रुपमा बस्नुपर्ने बाध्यता छ,सामान्य अवस्था हुनेबित्तिकै तपाईंहरु आआफ्नो गाउँठाउँमा जान पाउनुहुनेछ।’सांसद यादवले क्वारेन्टाइनमा नेपाली सकुशल रहेको जानकारी उनीहरुको घरपरिवारसम्म पु¥याइदिने बताएपछि उनीहरुले खुसी व्यक्त गर्नुका साथै सम्पर्क नम्बरलगायतको विवरण सांसद यादवलाई दिए। कतिपयले घरमा कुराकानी हुँदा आफन्त चिन्तित रहेको बताएका थिए।

पटनास्थित होटेलमा काम गर्ने पर्वतका १६ वर्षीय राहुल शाही तीन दिनअगाडि यहाँ आइपुगेका छन्। उनको अनुभव बेग्लै छ। ‘पटनाबाट पैदलै हिँडेको थिएँ एक्लै। दिनभरि हिँडेपछि एउटा मालट्रेन रोकिराखेको देखें। यतातिर आउनेजस्तो देखेपछि चढिहालें। त्यहाँ अरु मानिस पनि थिए, उनीहरुसँग नेपाल जाने बाटोसोधेको थिएँ,’ शाहीले भने, ‘राति १ बजे यहाँ आइपुग्दा प्रहरीले घर कहाँ हो भनेर सोध्यो, नेपाल भनेर बताएपछि यहाँ पु¥याइदियो। त्यसपछि आरामले नै बसेको छुँ।’ 

क्वारेन्टाइनमा प्रत्येकलाई बिछ्यौनासहित खाट, ओढ्ने र झुलको व्यवस्था गरिएको छ। बिहान बेलुका खाना र खाजाको समेत प्रबन्ध रहेको उनीहरुले बताए। रक्सोलस्थित सरकारी अस्पतालका डाक्टर शरदचन्द शर्माको नेतृत्वमा सानो मेडिकल टिमलेदैनिक उनीहरुको स्वास्थ्य जाँच गरिरहेकोछ। प्रखण्ड विकास पदाधिकारी कुमार प्रशान्तले क्वारेन्टाइनमा आउने नेपालीलाई कुनै समस्या पर्न नदिने बताए। 

नेपालसँगै भारतमा पनि लकडाउनका कारण सीमामा आवतजावत बन्द भएपछि मानिसहरु दुवैतर्फ रोकिएका छन्।सांसद यादवले क्वारेन्टाइनमा रहेकालाई स्यानिटाइजर, मास्क, फलफूललगायतका खानेकुरा सहयोगस्वरुप उपलब्ध गराएका थिए।

 

प्रकाशित: २७ चैत्र २०७६ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App