८ वैशाख २०८१ शनिबार
अर्थ

राष्ट्रिय प्रशारणमा एक मेगावाटको मेवा खोला थपियो

खोटाङ– राष्ट्रिय प्रशारणलाईनमा खोटाङको एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावर थपिएको छ। जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनीले पूरा गरेको हाईड्रोपावर उदघाटन सँगै राष्ट्रिय प्रशारणमा एक मेगावाट बिद्युत थपिएको हो। दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोला दोभानबाट निकालिएको हाईड्रोपावर शुक्रबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले उदघाटन गरेका छन्।

 गत मंसिर १८ गतेदेखि दिक्तेल–गाईघाट ११ केभीए ट्रान्समिसन लाईनको बुईपास्थित सव–स्टेशनमा जोडेर परीक्षण प्रशारणमा छाडिएको हाईड्रोपावरलाई महिना दिनपछि उद्‍घाटन गरिएको हो। समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाईमा बैंक अफ काठमाडौंको ७० प्रतिशत गरी २२ करोड बढीको लागतमा हाईड्रोपावरको काम पूरा भएको साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले बताए। मेवा खोला जिल्लामा पूरा भएकामध्ये सबैभन्दा ठूलो जलबिद्युत आयोजना हो। केन्द्रीय प्रशारणलाईनमा जोडिए पनि स्थानीयस्तरमै प्रयोग गर्न मिल्नेगरी पूरा गरिएको हाईड्रोपावरले लोडसेडिङको मार खेपीरहेका जिल्लाबासी उत्साहित छन्।

२०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिन पछाडि धकेलिएको आयोजनाका कोअर्डिनेटर ललितकुमार राईले बताए। पाँच वर्षअघि सम्पन्न खोटाङको १८ औं जिल्ला परिषदले जिल्लालाई लोडसेडिङ मुक्त बनाउने योजना पारित गरेपछि मेवा खोला लगायतका हाईड्रोपावरको कामलाई द्रुत गतिमा अघि बढाइएको थियो।

दुई वर्षमा पूरा भएको मेवा खोलाको परिक्षण प्रशारण सुरु भएपछि खोटाङ र ओखलढुंगाका केही गाबिसमा लोडसेडिङ अन्त्य भएको छ।

प्रकाशित: २९ पुस २०७३ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App