८ वैशाख २०८१ शनिबार
समाज

‘लकडाउन’को मारमा परेका किसानको तरकारी गाउँपालिकाले किन्याे

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका किसानको तरकारी खरिद गरिदिएका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’का कारण हाटबजार बन्द हुँदा बजार नपाएका काउली र बन्दा खरिद गरिदिएका हुन्। ‘लकडाउन’का कारण बजार नपाउँदा अधिकांश तरकारी कुहिने र सडिने अवस्थामा पुग्दा मारमा परेका किसानको राहतका लागि गाउँपालिकाले २१० केजी तरकारी खरिद गरिदिएका हुन्। 

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका आठ किसान र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका एक किसाले लगाएको १२८ केजी काउली प्रतिकेजी ४० रुपैयाँ र ८२ केजी बन्दा प्रतिकेजी ३२ रुपैयाँका दरले खरिद गरिदिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। किसानले उत्पादन गरेका तरकारीको बजार सुनिश्चितताका लागि गाउँपालिकाले ७ हजार ७४४ रुपैयाँ बराबरको तरकारी खरिद गरिदिएको जनाएको छ।

‘लकडाउन’का कारण हाटबजार रोकिएको छ। तरकारी कुहिएर र सडिएर खेर जाने अवस्थामा चिन्तित बनेका किसानको सहयोगका लागि गाउँपालिकाले खरिद गरिदिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लकडाउनमा किसानले उत्पादन गरेका कुनै पनि कृषि उपजले बजार पाउँदैन, कुहिएर वा सडेर जान्छ भनेर चिन्ता गर्नु पर्दैन। स्थानीय सरकारले बजारको सुनिश्चितता गर्छ।’ 

गाउँपालिकाले खरिद गरेको तरकारी दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका स्थानीयलाई राहत स्वरुप वितरण गरेको छ। क्रमशः अन्य वडाका किसानले उत्पादन गरेको तरकारी खरिद गरेर अन्य स्थानीयलाई खाद्यान्नसँगै वितरण गर्ने गाउँपालिकाले जनाएको छ। ‘सबै किसानलाई तरकारी किनिदिन्छौँ भनेका छौँ। वडामा चिट्ठी पनि पठाएका छौँ,’ अध्यक्ष राईले भने, ‘हामी ट्याक्टर लिएर जान्छौँ, किसानको तरकारी खरिद गरेर अन्य सर्वसाधारणलाई निशुल्क वितरण गर्छौँ।’ 

‘लकडाउन’को मारमा परेका नागरिकलाई तरकारी र खाद्यान्न 
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका दलित, अल्पसंख्यक तथा सिमान्तकृत, एकल महिला, ‘क’ बर्गको अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ। ‘लकडाउन’का कारण आयमुलक काम गर्न नपाउँदा छाक टार्नै धौ–धौ अवस्थामा पुगेका परिवारलाई गाउँपालिकाले बुधबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेबाट खाद्यान्न वितरण सुरु गरेको हो। 

गाउँपालिकाले बतासेका दलित तथा सिमान्तकृत, ‘क’ बर्गको अपांगता भएका परिवार र अति विपन्न गरी १४५ परिवारलाई खाद्यान्न प्रदान गरेको छ। दलित तथा सिमान्तकृत समुदायका १३३ परिवार, ‘क’ बर्गको अपांगता भएका ८ परिवार तथा छाक टार्नै नसक्ने अवस्थामा पुगेका अतिविपन्न (सुकुम्बासी) ४ घर परिवारलाई खाद्यान्न प्रदान गरेको हो। उनीहरुलाई प्रतिघर २५ केजी चामल, २ केजी दाल, एक पोका तेल, एक केजी नुन र काउली बन्दा प्रदान गरिएको हो। गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, वडाध्यक्ष लोकेन्द्र राई लगायतले खाद्यान्न वितरण गरेका हुन्। क्रमशः अन्य ६ वडामा पनि राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ। 

दोश्रो चरणमा मध्यम बर्गका परिवारलाई पनि सहुलियतमा खाद्यान्न उपलव्ध गराइने गाउँपालिका अध्यक्ष राईले बताए। ‘लकडाउनले मध्यम बर्गका परिवार पनि समस्यामा पर्न थालेका छन्। उनीहरुलाई पनि ढुवानी खर्च बेहोरेर खाद्यान्न उपलव्ध गराउने तयारी गरिएको छ,’ अध्यक्ष राईले भने, ‘लकडाउनको पूर्ण पालना गरेर बस्नुस्, तराईकै भाउमा नागरिकलाई खाद्यान्न उपलव्ध गराउने भनेका छौँ। यसका लागि माग आव्हान गरिसकेका छौँ।’ 

प्रकाशित: २६ चैत्र २०७६ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App