८ वैशाख २०८१ शनिबार
समाज

जनप्रतिनिधिले मातृभाषामा जनचेतना फैलाउदै

ओखलढुंगा– विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गाउँ गाउँमा सचेतनाका अभियानहरु सञ्चालन भईरहेका छन्। नागरिकको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारले घरघरमा पुगेर सरसफाई र जागरणका कार्यक्रम गरिरहेका छन्।

ओखलढुंगाका अधिकांश जनप्रतिनिधिले भने कोरोना सन्देश प्रवाहमा फरकशैली अपनाएका छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा वाम्बुले राई समुदायको बाहुल्यता रहेको ठाँउ हो। यहाँका अधिकांश सर्वसाधारण आफ्नो मातृभाषा वाम्बुले भाषा बोल्छन्। क्षेत्री, राई, दलित, तामाङ लगायतका जातजातीको बसोबास रहेको मानेभञ्ज्याङका सबैजसो नागरिकले वाम्बुले भाषा राम्रोसँग बुझ्छन्।

यस गाउँपालिकाका अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सविता राईले स्थानीय रेडियोबाट मातृभाषा वाम्बुलेबाट पालिकाभित्रका स्थानीयलाई कोरोना रोगबाट जोगिनका लागि अपिल गरिरेहेका छन्। मातृभाषामा कोरोना सन्देश बाँड्दा ‘मेरो भाषमा मेरै लागी भनेको हो भन्ने बुझाई हुन्छ त्यसैले गाउँलेले बुझ्ने भाषामा सरसफाई र सचेतनाका लागि सिकाईरहेका छौं।’ उपाध्यक्ष सविता राईले भनिन्।

मोलुङ गाउँपालिका–७ पात्ले शेर्पा समुदायको बाहुल्यता भएको ठाँउ हो। यहाँका अधिकांश शेर्पा भाषा वक्ताहरु छन्। पात्लेका शेर्पा मात्रै होइन सुनुवार, खत्री, मगर, पहरी र दलित समुदायलाई पनि शेर्पा भाषा सजिलै बुझ्छन्। वडा अध्यक्ष हेमबहादुर सुनुवारले कोरोनाबाट जोगिन र लाग्न नदिनका लागि शेर्पा भाषाबाटै जनतालाई जनचेतना दिने काम गरिरहेका छन्। ‘यहाँका सबै जातजातीले धेरै बोल्ने र छिटो बुझ्ने शेर्पा भाषा हो अहिले नेपाली भाषाका जिंगलसँगै शेर्पा भाषामा पनि कोरोनाबाट बच्न सचेतना फैलाएका छौँ।’ वडाअध्यक्ष सुनुवारले भने।

जिल्लाको सुनकोशी गाउँपालिका–५ मूलखर्कमा तामाङ्ग समुदायको बसोबास छ। अहिले कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने विषयमा वडा अध्यक्ष गोविन्दराम तामाङ मातृभाषामा सिकाउँदै छन्। यसका साथै सुनकोशी गाउँपालिका र मानेभञ्ज्याङ्ग गाउँपालिकाको केही वडामा जेरो राईहरुको बसोबास रहेको छ। यस समुदायलाई लक्षित गरी सुनकोशी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष दिपहरी राईले जेरो राई भाषामा कोरोनाबाट बच्ने उपाय सहित सतर्कताको सन्देश दिईरहेका छन्।

खिजीदेम्बा गाउँपालिका–४ खिजीकातीमा भने कोरोनाविरुद्धको जागरणका लागि गाउँले संस्कृतीलाई जोड दिइएको छ। व्यक्तिगत खर्चमा ‘एक घर दुई साबुन’ अभियान लिएर घरघर पुगेका वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले जोगिले घरघरमा फेरि लगाउने शैली अपनाएर सन्देश फैलाइएको बताए।

जिल्लाका सबै ८ स्थानीय तहका ७५ वटै वडामा सचेतनाका सन्देशसहितका पोस्टर, पम्प्लेट टाँसिएका छन्। सबैजसो जनप्रतिनिधि र स्थानीय अगुवाहरुले कोरोनाबाट बच्ने उपाय सकितको अपिल गरिरहेका छन्। आफ्नै मामृभाषाबाट कोरोनाबाट बच्ने उपायसहित सतर्कताको सन्देश दिँदा आफ्नै नजिकको आफन्तले आग्रह गरेजस्तो लागेको स्थानीयले प्रतिक्रिया दिएका छन्।

 

प्रकाशित: २६ चैत्र २०७६ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App