coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एम्बुलेन्स चालकलाई परामर्शसहित स्वास्थ्य सामग्री वितरण

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) का सम्भावित संक्रमित बोक्ने एम्बुलेन्सका चालकलाई परामर्शसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ।

स्वास्थ्य कार्यालयले पहिलो चरणमा बुधबार चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका सात एम्बुलेन्सका चालकलाई सुरक्षित रहने तरिका सिकाउँदै अत्यावश्यक सामग्री वितरण गरिएको हो। जिल्लामा रहेका सबै एम्बुलेन्सका चालकलाई यो सेवा र सुविधाभित्र समेट्ने बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए।

‘सम्भावित संक्रमित बोक्ने एम्बुलेन्स चालक सधै जोखिममा रहन्छन्। त्यसैले सुरक्षा परामर्श र सामग्री वितरण गर्ने कार्यक्रम ल्याएका हौँ,’ उनले नागरिकसँग भने। पीपीई जस्तै गाउन, चस्मा, मास्क लगायत सामग्री एम्बुलेन्स चालकलाई वितरण गरिएको उनले जानकारी दिए। सामग्री वितरण गर्नुअघि चालकहरुलाई स्वास्थ्य सामग्री प्रयोग गर्ने तरिका, बिरामी बोक्दा अपनाउनु पर्ने सावधानी र व्यक्तिगत सुरक्षाबारे अभिमूखीकरण दिइएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सरकारी र सामुदायिक तवरले सञ्चालित एम्बुलेन्सको संख्या २७ रहेको छ। सबै चालकलाई परामर्शसहित व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने छ। बिरामी बोक्ने चालक र अरुलाई संक्रमण फैलिन नदिने सबै एम्बुलेन्सको बीचमा बारेर दुई कोठा निकालिएको छ। साथै सबै एम्बुलेन्समा अक्सिजनसहित जिपिएस जडान गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले जानकारी दिए।

एम्बुलेन्स चालकका लागि राजधानीको ह्याम्स र जिल्लाको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पतालले संयुक्त रुपमा जिल्ला बिपद् व्यवस्थापन समितिलाई १० थान पीपीई शैलीका गाउन, चस्मा र मास्क लगायत सामग्री हस्तान्तरण गरेका थिए। केही दिनअघि मात्र सुरक्षा सामग्री अभावमा एम्बुलेन्स चालकले कोरोना आशंका गरिएका एक बिरामी बोकेर आइसोलेसनमा लैजान आनाकानी गरेपछि ती अस्पतालले उनीहरुका लागि सुरक्षा सामग्री व्यवस्था गरेका थिए।

३० थान सुरक्षा सामग्री दिने घोषणा गरेका अस्पतालले बाँकी २० सेट सामग्री केही दिनभित्रै हस्तान्तरण गर्ने जनाएका छन्। सहयोगमा प्राप्त तिनै सुरक्षा सामग्री एम्बुलेन्स चालकलाई हस्तान्तरण गरिएको हो।

 

प्रकाशित: २६ चैत्र २०७६ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App