८ वैशाख २०८१ शनिबार
विचार

महामारी मीमांसा र प्रकृति–पुस्तक

अजीव यो छ, यस प्रकृतिमा प्राणीका लागि विष पनि छन् र औषधि पनि। कुन विष हो, कुन औषधि ? परीक्षण गर्ने र चिन्ने विवेक मान्छेसँग छ। तर, मानिसले आफ्नो इतिहासमा विषाणुको महामारी झेल्दै आयो र झेलिरहेछ। यसका थुप्रै उदाहरण र संकेत हामीसँग छन्।

मानव सभ्यताको इतिहास र वर्तमानमा दुईवटा घटनाले प्रमुख भूमिका खेलेका छन्, ती  घटना हुन्– प्राकृतिक र राजनीतिक। यी दुवै घटनाले मानवीय क्षति र मानवीय प्रगति दुवै गर्छन्। मानिसमा खास–खास चेतना यी दुई घटनाले नै ल्याएका हुन्, विकास र प्रगति पनि यी दुई घटनापछि नै भएका छन्।

उब्जनीका लागि पृथ्वीमा वर्षा हुनुपर्छ। तर, लामो समय वर्षा भएर बाढी–पहिरो आयो भने त्यो विपत् बन्न पुग्छ। त्यस्तै, लामो समय वर्षा भएन भने पनि त्यो विपत् बन्छ। हामीलाई हावा चाहिन्छ, तर त्यसले अलिकति रूप फेर्दा हावाहुरीको मार खेप्नुपर्छ।

त्यसैले मानिसले घामपानी, अझभनौँ प्राकृतिक विपत्तिबाट जोगिन गुफा हुँदै सुरक्षित स्थानमा घर बनाउन सिक्यो। प्रकृतिमा खाद्यान्न उम्रेको–हुर्केको, फलेको–फुलेको देखेर खेती गर्न सिक्यो।रोग वा घाउचोटका लागि उसले औषधि पनि पत्ता लगाउँदै आयो। यतिसम्म कि जीवन–दर्शन पनि मानिसले प्रकृतिबाटै सिकेको हो। यस धर्तीमा जन्म र मृत्यु, उत्पत्ति र अन्त्य किन छ ? दर्शनको मूल प्रश्न यही थियो र छ। हो, प्रकृतिसँग प्रश्न गरेरैमानिस सभ्यतातर्फ उन्मुख हुँदै आयो। मानव सभ्यताका लागि प्रकृति नै सबैभन्दा महत्वपूर्ण पुस्तक हो।

मानिसका लागि भाइरस वा ब्याक्टेरिया प्रकृति–पुस्तककोप्रारम्भिकअक्षर हो, जसले मानवलाई प्रकृतिसँग जुध्न र सम्झौता गर्न महाज्ञान दिन्छ। तर, यसलाई वास्ता नगरी अगाडि बढ्न खोज्दा मानिसले पटक–पटक महामारीको सामना गरिरहेको छ।

जब राजनीतिक घटनास्वरूप मानिसका समूहबीच युद्ध हुन थाल्यो, तब उसले बलियो पर्खाल वा दरबार बनाउन सिक्यो। झनै विनाशकारी हतियार बनाउन उद्यत् रह्यो, अझै पनि मानिसले त्यसको परीक्षण गरिरहेछ। राज्यको उत्पत्तिको सिद्धान्त नै युद्ध हो। इतिहासमा मानिसले राज्यका नाममा कति युद्ध ग¥यो, कति मानिस मरे, त्यसको कुनै लेखाजोखा छैन।

प्रकृति पुस्तकका अक्षरहरू

कोइली चरीले आफैँ गुँड बनाउँदैन। फुल पार्ने बेला भएपछि उसले अर्को फुल पार्दै गरेको पन्छीको गुँड खोज्छे र त्यस पन्छीको आँखा छलेर त्यहाँ फुल पार्छे। कहानी यहीँ सकिँदैन। कोइलीको बच्चाले फुलबाट कोरलिँदासाथै विचित्रको क्रूर व्यवहार देखाउँछ। उसको आँखा पनि खुलेको हुँदैन, तर गुँडमा रहेका अन्य फुल वा बच्चालाई उसले धकेलेर बाहिर फालिदिन्छ। त्यसपछि गुँडधनी पन्छीबाट आहारा पाएर ऊ हुर्कन्छ। कोइली पन्छीबारे यीबाहेक थुप्रै अद्भुत गुण (अवगुण ?) र रहस्य छन्। विभिन्न स्थानका कोइलीका स्वभाव र प्रवृत्ति पनि फरक पाइन्छन्।

मैले कोइलीबारे धेरै सुनेको र केही पढेको पनि थिएँ, केही वर्षअघि जब मैले युट्युबमा भर्खरै फुलबाट निस्केको कोइलीको बच्चाले अन्य फुल वा बचेरालाई धकेल्दै गरेको देखेँ, मेरो मस्तिष्क नराम्रोसँग हल्लियो।

भर्खरै फुलबाट निस्केको बच्चा, जसको आँखा पनि खुलेको छैन, उसले आफूलाई बस्न ठाउँ अभाव हुन्छ भनेर कसरी ज्ञान पायो र अन्य फुल वा बच्चालाई धकेलिदियो ? अनि, यसरी हुर्केको कोइलीले पछि अर्कैको गुँडमा फुल पार्न कसरी सिक्यो ?

चाल्र्स डार्विनले यसलाई सहज प्रवृत्ति वा अन्तःप्रेरणा (इन्स्टिङ्क्ट) भनेका छन्। उनी आफ्नो पुस्तक ‘द ओरिजिन अफ् स्पेसिज’मा लेख्छन्, ‘प्राकृतिक अवस्थामा प्रवृत्तिहरूमा केही हदसम्म परिवर्तनशीलता हुनु तथा यस्ता परिवर्तन वंशानुगत हुनु प्राकृतिक छनोटका लागि आवश्यक छ।’

यस प्रकृतिमा कोइलीले यस्तो व्यवहार देखाउनुको पछाडि कुनै प्राकृतिक घटना जिम्मेवार छ कि ? जेहोस्, प्रकृतिमा एउटा चराले त यस्तो क्रूर व्यवहार देखाउँछ भने प्रकृति स्वयंले अनेक विपत् र महामारीको रूप देखाउनु कुनै अनौठो होइन। तर, विवेकशील मान्छेले त्यसलाई बुझ्न नसक्नु, त्यसबाट पाठ सिकेर सतर्कता नपअनाउनु अनौठो हो।  

प्रकृतिमा चराहरूका अन्तःप्रेरणा अद्भुत लाग्ने खालका छन्। जस्तोः टेलर बर्ड (हामीकहाँ दमाई चरो भनिन्छ)ले पातहरू सिएर गुँड बनाउँछ। अन्य चराले आ–आफ्नै किसिमले गुँड बनाउँछन्। आफ्ना बचेरालाई अन्य आक्रमणकारीबाट बचाउन उनीहरू हरसम्भव प्रयास गर्छन्।

आहारका लागि माछा–माकुरा आदिले पनि अनौठा जुक्ति लगाएको देखिन्छ। त्यस्तै, स्तनधारी प्राणी (आमा) ले आफ्ना सन्तानलाई दूध खुवाउँछे। सन्तानको रक्षाका लागि अनेक जनावरका झुन्डसँग लड्छे। कतिपय अवस्थामा आफ्नै प्रजातिको भालेबाट आफ्ना सन्तान जोगाउन उसले भयानक संघर्ष गर्नुपर्ने हुन्छ। उसले आफ्ना सन्तानलाई सिकार खेल्न पनि सिकाउँछे।

पशुपन्छीमा आफ्ना सन्तानलाई हुर्काउने वा प्रेम गर्ने भावना कसरी आयो ? यसको जवाफमा पनि ‘अन्तःप्रेरणा’ आउँछ। योसँगै स्तनधारी प्राणीको शारीरिक अवस्था र व्यवहारमा ‘हर्मोन’ले खास प्रभाव पारेको विज्ञानले प्रमाणित गरिसकेको छ।

पुनः प्रश्न उठ्छ– प्राणीमा अन्तःप्र्रेरणा किन आउँछ ? वा, विशेष खालको ‘हर्मोन एक्टिभ’ किन हुन्छ ?

हो, प्रकृति यस्तो पुस्तक हो, जसले मानिसलाई सभ्यताको यो चरणसम्म आइपुग्न विभिन्न व्यवहार र पाठ सिकायो, सिकाइरहेछ। अनुमान गर्न सकिन्छ, मानिसले शरीरमा पात बेर्दै लुगा बनाउन र घर बनाउन चराहरूबाटै सिकेको हो। विडम्बना, मानिसले प्रकृति पुस्तकलाई अद्योपान्त पढे पनि केही रहस्य/प्रश्न भने बाँकी रहन्छन्।

लामो व्याख्यानमा नजाऊँ।यहाँ सौर्यमण्डल, गुरुत्वाकर्षण जस्ता धेरै नियम र गणित मिलेर पृथ्वी आफैँमा एउटा जनावरजस्तै बाँचिरहेको छ।यसमा रौँ उम्रेसरि वनस्पतिका प्रजाति छन् र उपियाँ–उडुससरि हामी मानव लगायत जीवजन्तु बाँचिरहेका छौँ। महत्वपूर्ण त यो हो– मानव लगायत जीवजन्तुले बाँच्नका लागि, वा आफ्नो अस्तित्व जोगाइराख्नका लागि पृथ्वीको उब्जनी वा स्रोत–साधनसँग सम्झौता गर्नैपर्छ।

अहिले हामी कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुधिरहेका छौँ। पृथ्वीका लागि भाइरस कुनै नयाँ चिज होइन। आज पृथ्वीमाथि ‘सर्वश्रेष्ठ प्राणी’का नाममा मानव–समाजले राज गरिरहेको छ। तर, पृथ्वीमा भाइरस मान्छेभन्दा जेठो हो। भारतीय विद्वान् राहुल सांकृत्यायन आफ्नो पुस्तक ‘मानव–समाज’मा लेख्छन्, ‘कुनै समय पृथ्वी ग्यासको डल्लो थियो, जसमा अणुहरू छरिएर रहेका थिए। क्रमशः अणुहरू मिलेर बस्न थाले। त्यसपछि भाइरस र ब्याक्टेरिया अस्तित्वमा आए, अनि हाडबिनाका जन्तु, अमिबा आदि। त्यसपछि सिधै प्रकृतिबाट आहार ग्रहण गर्ने स्थावर वनस्पति, दोस्रोमा आश्रित रहने चलायवान प्राणी अस्तित्वमा आए।’

पृथ्वीको इतिहासमा आजको अवस्थासम्म आइपुग्न थुप्रै जीवजन्तु, वनस्पतिको लोप भएको अनुमान गर्न सकिन्छ। पृथ्वीमा सुरुदेखि आजसम्म महामारी वा प्राकृतिक विपत्तिबाट कति जीवजन्तु वा मानवको मृत्यु भयो भन्ने कुनै यकिन गर्न सकिँदैन। तर, आजको अवस्थासम्म आइपुग्न मानव सभ्यताको इतिहासले थुप्रै ठूला प्राकृतिक विपत्ति, महामारीसँगै मानव समूहबीचमै थुप्रै भीषण युद्धको सामना गरेको अनुमान गर्न सकिन्छ। यी हाम्रा अनुमानलाई यथार्थको नजिक पुर्याउन पछिल्लो समयका भूकम्प, भाइरस–महामारी, सामुद्रिक आँधी, आँधीबेरी, देश–देशबीचको मनमुटाव, गृहयुद्ध आदिले सघाउँछन्।

मानिसले सम्झना राखेको महामारीको चर्चा गर्दा एन्टोनाइन प्लेग (सन् १६५–१८०), जापानिज स्मलपक्स एपिडेमिक (सन् ७३५–७३७), प्लेग अफ जस्टिनियन (सन् ५४१–५४२), ब्ल्याक डेथ (सन् १३४७–१३५१), पहिलो विश्वयुद्ध लगत्तै देखिएको स्पेनिस–फ्लु (सन् १९१८–१९२०) आदि प्रमुख छन्। जसले विश्वका करोडौँ मानिसको ज्यान लिए। यसपछि पनि मानिसले धेरै महामारीको सामना गर्दै आयो र अहिले कोरोना भाइरससँग जुधिरहेको छ।

मानिसका लागि भाइरस वा ब्याक्टेरिया प्रकृति–पुस्तकको प्रारम्भिक अक्षर हो, जसले मानवलाई प्रकृतिसँग जुध्न र सम्झौता गर्न महाज्ञान दिन्छ। तर, यसलाई वास्ता नगरी अगाडि बढ्न खोज्दा मानिसले पटक–पटक महामारीको सामना गरिरहेको छ।  यहाँनेर स्पष्ट हुनुपर्छ, सबै ब्याक्टेरिया मानव स्वास्थ्यमा हानिकारक हुँदैनन्, लाभदायक पनि छन्।

महामारी र मानवता

संक्रमण मानवमा मात्रै हुन्छ भन्ने हुँदैन, अन्य जीवजन्तु वा वनस्पति पनि यसको चपेटामा परेका हुन्छन्। पृथ्वीमा मानव तथा पशुपन्छीको शरीरलाई असर गर्ने विभिन्न विष, विषाणु (भाइरस), ब्याक्टेरिया (जीवाणु) लगायत छन्। कैयौँ भाइरस कैयौँ वर्षदेखि सुषुप्तावस्थामा छन्। जब ती मानिस लगायत पशुपन्छी, वनस्पतिको सम्पर्कमा आउँछन्, तिनले क्षति पुर्‍याउँछन्। कहिलेकाहीँ त्यसले महामारीको रूप लिन्छ। महामारीको रूपमा लिनका लागि पहिले कुनै मानिस त्यस भाइरसको सम्पर्कमा पुग्नुपर्छ र त्यसपछि ऊबाट अन्यमा फैलनुपर्छ।

भाइरसले मानिसको ज्यान लिन उसको शरीरमा प्रवेश गरेर प्रतिरक्षा प्रणालीलाई जित्नुपर्छ। भाइरस मानिसको प्रतिरक्षा प्रणालीभन्दा बलियो भयो भने मात्रै मानिसलाई रोगले च्याप्ने र मृत्यु हुने हो।

पहिलो त मानिससँग प्रतिरक्षा प्रणाली बलियो हुनुपर्‍यो। दोस्रो, मानिसको प्रतिरक्षा प्रणाणीभन्दा बलियो भाइरस लगायत ब्याक्टेरियासँग जोगिएर बस्नुपर्‍यो। यसमा केही सीमित मानिस जोगिएर हुँदैन, यो विश्व–समाजका सबै मानिस यसबाट जोगिनुपर्छ।

पृथ्वीमा मानिसको संख्या बढ्दै गएपछि खाद्यवस्तुको अभाव हुन थाल्छ। अझ आज मानिसले पृथ्वीलाई सिंगो र साझा अवस्थामा राखेको छैन, यहाँको माटो मात्रै होइन, नदीनाला र समुद्र पनि विभिन्न देशमा विभाजित छ। अझ निजी सम्पत्ति वा पुँजीवादी व्यवस्थाका कारण परिवार–परिवारको नाममा पृथ्वीलाई टुक्र्याइएको छ। जसकारण अभावहरू विभिन्न रूपमा देश, समुदाय हुँदै परिवारसम्म पुगेको छ। यसरी पृथ्वीलाई मानिसले जति सानो टुक्रामा टुक्राए पनि पुँजीवादी र साम्राज्यवादी अर्थतन्त्रले एउटा परिवारलाई विश्वसँग जोडिरहेकै हुन्छ। कुनै परिवारको व्यक्ति केहीबाट संक्रमित हुन पुग्यो भने उसको परिवार, समुदाय हुँदै देश–विदेशमा त्यो फैलन पुग्छ। किनभने, कुनै एक व्यक्ति वा परिवार श्रम–सम्बन्ध, बजार हुँदै पूरै विश्वसँग जोडिएको छ।

अहिले साबुनपानीले हात धुने कुरा आएको छ। साबुनपानीले हात धुनका लागिसर्वप्रथम‘हातमुखको सरसफाइ नगरे कुनै संक्रमण हुन सक्छ’ भन्ने चेतना हुनुपर्छ, त्यसपछि साबुनपानी।सबै साबुनपानीले हात धुने अवस्थामा छन् भन्नु गलत हुन्छ।

संसारका सबै मानिसलाई आ–आफ्नो राज्यले आधारभूत आवश्यकता पूर्ति गरेर सामाजिक न्यायमा राखेको हुन्थ्यो, सबैलाई सरसफाइ, मानवता, जनसंख्याका सम्बन्धमा चेतना दिएको हुन्थ्यो, सबैलाई प्रतिरक्षा प्रणाली बलियो बनाउने खालका खाना खाने चेतना र व्यवस्था गरिएको हुन्थ्यो भने अवस्था अर्कै हुन्थ्यो।

त्यस्तै, संसारको कसैले पनि मनलागी खाँदैनथ्यो, सरसफाइमा ध्यान दिन्थ्यो, कुनै पनि खानेकुरा वैज्ञानिक परीक्षणपछि मात्रै बजारमा पुर्‍याइन्थ्यो भने अवस्था अर्कै हुन्थ्यो। एक्लै सफल र धनी हुने होडबाजीले मानिसले मानवता गुमाउँदै गएको छ र बजारमा गुणस्तरीय वा अर्गानिक खाद्यवस्तुको अभाव हुन थालेको छ, जसले मानिसलाई रोगी बनाएको छ।

यो खुला पृथ्वीमा जति सावधानी अपनाए पनि कुनै व्यक्ति कुनै भाइरस वा ब्याक्टेरियाको सम्पर्कमा पुग्न सक्छ। तर, त्यस व्यक्तिको मजबुत स्वास्थ्य अवस्था, सरसफाइ रमहामारीबारे चेतना, राज्यको मजबुत स्वास्थ्य संयन्त्र हुन्छ भने स्थिति विकराल हुँदैन।

मानिसहरू ब्याक्टेरियाको संक्रमणबाट बच्न अहिले नमस्कार गर्ने, अंकमाल नगर्ने वा हात नमिलाउने कुरा गर्दै छन्। यो केही हदसम्म ठीक हो। तर, यसले संसारका सबै मानिस सफा, स्वस्थ हुनुपर्छ भन्ने तथ्य लुकाउँछ। नमस्कार गर्ने, हात मिलाउने वा अंकमाल गर्ने– यीमध्ये जे गरे पनि सम्बन्धित व्यक्तिसँगको क्रियाकलाप हो। बाटो–बाटोमा जहाँसुकै जो–कोहीसँग हात मिलाउँदै वा नमस्कार गर्दै हिँड्ने कुरा आउँदैन। निश्चय नै, औँलाहरूको स्पर्श, हात दिनु र हात समाउनुले मानिसबीचको स्नेह, आत्मीयता झल्काउँछ।यसको बेग्लै विज्ञान वा मनोविज्ञान छ, बेग्लै ठाउँ पनि छ। तर, नमस्तेका कारण मानिसलाई छुँदै नछुने भन्ने धारणा विकास हुँदै गयो भने भोलि कतै कुनै दुर्घटनामा ढलिरहेको मानिसलाई उठाउने कसले ? समस्या त अनेक सिर्जना हुन सक्छन्।

अबको विश्व

आज महाशक्ति बन्ने भ्रममा केही देश जबर्जस्त लागेका छन्। यहाँ प्रकृतिबाहेक कुनै अर्को शक्ति महाशक्ति बन्नै सक्दैन, कसैले यस्तो सोच्छ भने त्यो उसको क्षणिक भ्रम हो। मानिस महाशक्ति बन्ने पनि प्रकृतिको दोहन गरेरै हो।प्रकृतिको दोहन गर्नु भनेको मानिसले आफ्नै विनाशको बाटो खन्नु हो, अब दुनियाँका मानिस प्रकृतिप्रति जिम्मेवार हुनैपर्छ।

सभ्य, सहरिया र आधुनिक बन्ने होडमा कतिपय मानिसले प्रकृतिलाई बिर्सेको अवस्था थियो र छ, तर अब एउटा खतरा देखिन्छ– धनाढ्य मानिसले ‘एन्टी–एजिङ’ र अर्गानिक खानालाई अझ जोड दिन सक्नेछन्, त्यसका लागि विशेष लगानी र व्यापार गर्नेछन् र त्यसलाई महँगो बनाउने छन्। विभिन्न रूपमा यस्तो नदेखिएको पनि होइन, अब भने यसले ठूलो रूप लिने अनुमान गर्न सकिन्छ। यसो भयो भने फेरि धनी र गरिबबीचको जीवनशक्ति वा स्वास्थ्य अवस्थाकै खाडल बढ्नेछ, परिणामतः उही महामारीकै सामना गर्नुपर्ने हुन सक्छ। अनि, पुनः सामाजिक न्यायको बाटोमा हिँड्नुपर्ने हुन्छ।

यसो भनेर सबै कुरा प्रकृतिले ठीक गर्छ भन्ने होइन। यसका लागि हामीसँग राजनीतिक सिद्धान्त पनि छन्। हामी राजनीतिक रूपमै सबै समस्याको हल गर्दै सामाजिक न्यायको बाटोमा अघि बढ्न सक्छौँ।

प्रकाशित: २६ चैत्र २०७६ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App