७ वैशाख २०८१ शुक्रबार
अर्थ

बजारमा ५० रुपैयाँ प्रतिकिलो, बारीमै सडे किसानका काँक्रा

किसानको तरकारी बारी। तस्विरः योगेश रावल

टीकापुर  - टीकापुर बजारमा काँक्रा प्रति किलो ५० रुपैयाँ पर्छ। त्यो पनि केही सीमित तरकारी पसलमा मात्रै किन्न पाउँछ। अघिपछि जहाँ कहीँ काँक्रा किन्न सम्भव छैन।
 
तर टीकापुर बजारबाट झण्डै ५ किलोमिटर टाढा रहेको टीकापुर नगरपालिका–३ कटानपुर गाउँमा भने काँक्राको कुनै मुल्य छैन। किसानको बारीमा फलेको काँक्रा सडेर खेर गैरहेको छ। त्यहाँ कसैले काँक्रा खरिद बिक्री नै गर्दैनन्।

देशमा जारी लकडाउनका कारण किसानको काँक्रा मात्रै हैन लौका, काउली, बन्दागोभी, टमाटर, खुर्सानी लगायतको तरकारी बाली बारीमै सड्न थालेको छ। न त किसानले बजारसम्म पुर्याउन पाएका छन् न त कोही ब्यापारी कटानपुर किन्न पुगेको छ।
 
कटानपुरका २७ घरपरिवार विगत १५ वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। उनीहरुले झण्डै १६ विगाहमा तरकारी खेती गरेका छन्। स्थानीय लहानु चौधरी र जोहारी चौधरीले सुरु गरेको तरकारी खेतीलाई त्यहाँका बासिन्दाले प्रमुख आयस्रोतको माध्यम बनाएका छन्। 
उनीहरु डेढ दशक यता धान, गहुँ, मसुरो, तोरी लगायतका अन्य बाली लगाउँदैनन्। 

स्थानीय प्रेमचन्द चौधरीले १० कठ्ठामा तरकारी खेती गरेका छन्। उनको बारीमा लटरम्म काँक्रा फलेको छ। गतवर्ष यतिबेला उनले बारीबाटै ५० रुपैयाँ प्रति किलो काँक्रा बेचेका थिए। ‘पोहोर त राम्रै आम्दानी भएको थियो’ उनले भने–‘तर यो वर्ष बारीमै सडेको छ।’

कटानपुरका पुरुषभन्दा पनि महिला तरकारी खेतीमा अग्रसर छन्। उनीहरुले दिपज्योति महिला कृषक समूह गठन गरेका छन्। समूहकी अध्यक्ष दीपादेवी चौधरीले ४ कठ्ठामा तरकारी खेती गरेकी छन्। उनले त्यत्ति जमिनबाट फलेको तरकारीले समेत घर खर्च चलाउन निकै सहज हुने बताइन्। तर उनी यसवर्ष भने तरकारी खेतीमा गरेको सबै लगानी खेर गएकोमा चिन्तित छिन्। 

‘यो वर्ष गरेको लगानी पनि असुल नहुने भयो’ उनले भनिन्–‘सबैले नोक्सानी व्यहोरेका छन्। हामीले मात्रै हैन।’

विगत वर्षहरुमा कटानपुरको तरकारी टीकापुरमा मात्रै नभई लम्की, सुखड, धनगढी, अत्तरीया लगायतका बजारमा समेत खपत हुने गरेको थियो। यसका अलावा कैलाली बाहिरका जिल्लाबाट समेत व्यवशायीहरु तरकारी किन्न कटानपुर पुग्ने गरेका थिए। यो वर्ष भने टीकापुर बाहिरबाट व्यवशायीहरु तरकारी किन्न आउन पाएका छैनन्। 

टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले कृषकको उत्पादनलाई स्थानीय स्तरमै खपत हुने गरी व्यवस्थापन भैरहेको बताए। उनले बाह्य ठाउँबाट व्यवशायी खरिद गर्न आउन नसकेका कारण मात्रै समस्या भएको बताए। ‘हामी स्थानीय स्तरमै बिक्रीको व्यवस्था गरिरहेका छौं’ उनले भने–‘यो अवस्थामा बाहिर बिक्रीका लागि पठाउन सकिने अवस्था छैन।’

रानी जमरा कुलरीया सिँचाई आयोजनाले कटानपुरका किसानका लागि तरकारी संकलन गृह निर्माण गरेको छ। गतवर्ष टीकापुर नगरपालिकाले संकलन गृहको छत निर्माण गरेको छ।

प्रकाशित: २६ चैत्र २०७६ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App