coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दाम्लोमा बाधिएकी सम्झना : जो १४ वर्षदेखि लकडाउनमा छिन्

१४ वर्षदेखि नै बाख्राको खोरमा बाधिएकी सम्झना तामाङ । तस्बिर: अनिल/नागरिक

सिन्धुली- बाख्राको खोरमा सामान्य बोरा ओछ्यान, त्यहि ओछ्यानमा खुट्टाको दाम्लोसँगै पल्टिएकी छिन् एक बालिका। उनी त्यसरी दाम्लोमै बसेको १० वर्षभन्दा बढी भयो। गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेसँगै मानिसहरु घरमै बसेर दिन कसरी विताउने भन्ने तनावमा छन्। दुई सातामात्रै घरभित्रै बस्न नसक्ने अवस्था सबैलाई हुँदा एक बालिका भने १४ वर्षदेखि लकडाउनमा रहेकी छिन्।

कमलामाई नगरपालिका-५ चिसापानीकी १४ वर्षिय सम्झना तामाङ हिड्न सक्ने भएदेखिनै दाम्लोमा बाधिएर बसेकी छिन्। देश लकडाउन भएर सबै घरमा बस्न सरकारले अनुरोध गरिरहदा उनी भने सधै दाम्लोमा बाधिएर लकडाउन भन्दा कठोर जिन्दगी जिउन बाध्य भएकी छिन्। केहि दिन अगाडीसम्म फलामको सिक्रिलेनै खुट्टामा बाधिएकी सम्झनालाई पछिल्लो समय भने कपडाको दरिलो डोरी बनाई खुट्टामा बाधेर राखिएको छ। सम्झनालाई दिनमा दुई पटक खाना परिवारका आफन्तले खुवाउने गरेका छन्। बाँकी दिनभर उनी त्यहि दाम्लोमै हुन्छिन्।

सम्झनाका आफन्तका अनुसार उनको दिमाग ठिक नभएकाले बाधिएको हो। दाम्लोबाट फुकाउने वित्तिकै कहाँ जान्छे पत्तै हुदैन, सुरुदेखिनै दाम्लोमै हो, उनका दाजु अगम तामाङले भने, उनलाई बाख्राकै खोरमा राखेका छौ। उमेरले १४ वर्ष पुगेकी उनको दिमाग ठिक नभएकै कारण दाम्लोमा बाधिएको परिवारका आफन्तको दावी छ। तर उपचार पाए उनको दिमाग ठिक हुने स्थानीय स्वयम् बताउँछन्। जथाभावी हिड्ने र जे पायो त्यहि खाने भएकाले सुरुदेखिनै बैनीलाई दाम्लोमा बाधिएको हो, पीडित बालिकाका दाजु अगमले भने, धेरै टाढासम्म नगएपनि जथाभावी फोहोर खाने भएकाले दाम्लोमा बाध्नु परेको छ।

वडा कार्यालयले उनलाई अपाङ भत्ता समेत दिँदै आएको छ। हामीले बाख्राको खोरमा नराख्नुस भनेर धेरै पटक भनेका हौ, वडाअध्यक्ष पुर्णबहादुर खड्काले भने बाख्रोको खोरमा राखे सरकारी सेवा सुविधा सबै रोकिदिन्छु भनेर चेतावनी समेत दिएको छु, तर खोरमै राखेका छन्। मानवीय व्यवहार घरपरिवारले देखाउन सक्नुपर्ने उनले बताए। मान्छेलाई पशुसँग राख्न मिल्दैन, उनले भने, फेरी पनि अरुनै ठाँउमा व्यवस्थित गरि राख्न भनेका छौ। सानैदेखि दाम्लोमै बाधिएकी हुनाले बालिका हाल दाम्लो फुत्काउने कुनै प्रयास नगर्ने गरेको स्थानीय बताउँछन्। जहाँ बाधेको छ, त्यहि उनी बस्छिन्, छिमेकी एक स्थानीयले भने, हामीले पनि उनको उपचार गरौ भनेका हौ। उचित उपचार पाएमा उनको दिमाग र शारीरिक अवस्था ठिक हुने स्थानीय बताउँछन्।

कमलामाई नगरपालिका प्रमुख मेयर खड्गबहादुर खत्रीले बालिकाको उपचारमा आफूले सहयोग गर्ने बताए। नगरभित्रका यस्ता बालकालिकाको उपचार नगरपालिकाले गर्छ, उनको उपचारका लागि कहाँ पठाउने भन्ने बुझेर हामी उनलाई उपचार गर्न पठाउछौ। मानसिक अवस्था स्वास्थ नभएकाले उनलाई मानवसेवा आश्रम वा अन्यन्त्र कतै पठाएर उनको हेरचाह र उपचारमा सहयोग गर्ने मेयर खत्रीले बताए। बाख्रा राख्ने खोरमा उनको दैनिकी वितेकाले समेत बालिकाको मानसिक अवस्था ठिक नभएको र उपचार पाएमा बालिका स्वस्थ जिवन जिउन सक्ने अवस्था देखिएको मेयर खत्रीको भनाई छ।
 

                                        

प्रकाशित: २६ चैत्र २०७६ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App