४ वैशाख २०८१ मंगलबार
समाज

वीरगन्जमा कोरोना विशेष अस्पतालको तयारी

वीरगन्ज - अधिक जनघनत्वसहितको सीमावर्ती सहर वीरगन्जमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नियन्त्रणका लागि पूर्वाधार अभाव तत्कालका लागि टर्ने देखिएको छ। यहाँस्थित एक सय बेडको सुविधासम्पन्न वीरगन्ज हेल्थकेयर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रस्ताव अघि सारिएको छ। यसका लागि विज्ञसहितको टोलीले मंगलबार सम्भाव्यता अध्ययन गरेको छ।

प्रदेश २ को सरकारले कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि गठन गरेको टोलीले वीरगन्जका विभिन्न अस्पतालको अध्ययन गरेको छ। पर्याप्त पूर्वाधार, २५ बेडको आइसियू, २५ वटा भेन्टिलटर र अन्य आवश्यक चिकित्सकीय उपकरण तथा जनशक्ति भएकाले हेल्थकेयर उपयुक्त देखिएको र सञ्चालक पनि प्रस्तावमा सकारात्मक देखिएकाले कोरोना विशेष अस्पताल बनाउन सम्भव देखिएको बताइएको छ। टोलीले हेल्थकेयर अस्पताललाई भाडामा लिएर कोरोना अस्पताल बनाउन सकिने जनाएको छ।

टोलीले नारायण अस्पताल, नेसनल ट्रेडिङ र कृषि ज्ञान केन्द्रमा कोरोनाअस्पताल स्थापनाको सम्भाव्यता अध्ययन गरेको थियो। विज्ञ टोलीलाई लिएर स्थलगत अध्ययनमा पुगेका पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले वीरगन्ज हेल्थकेयरसँग कुरा मिल्न सक्ने बताए। ‘अध्ययन टोलीका सदस्यले हालका लागि वीरगन्ज हेल्थकेयरलाई भाडामा लिएर कोरोनाको विशेषअस्पताल बनाउन सकिने बताएका छन्। टोलीले प्रतिवेदन दिएपछि यसको टुंगो लाग्छ,’ सांसद यादवले भने, ‘अहिले नै तय भने भइसकेको छैन,ठाउँ सबैलाई उपयुक्त लागेको छ। अस्पताल सञ्चालकले सकारात्मक प्रतिक्रिया जनाइसकेका छन्।’

अस्पतालका संचालक डा. बअुलैस अन्सारीले आफूहरु अस्पताल हस्तान्तरण गर्न तयार रहेको बताएका छन्। तर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको सवालमा के गर्ने भन्ने चासो पनि भएको उनले स्पष्ट पारे। ‘सरकारले मागेको अवस्थामा हामीले अस्पताल दिँदैनौं भन्ने कुरा आउदैन, यतिखेर संवेदनशील अवस्था हो, राज्यलाई सबैले सघाउनुपर्छ,’ डा. अन्सारीले भने, ‘हाम्रो जनशक्तिको उचित व्यवस्थापन र ४० भन्दा बढी रहेका नियमित डाइलाइसिसका बिरामीलाई राम्रो अस्पतामा स्थानान्तरण, यी दुई कुरामा ध्यान दिन मैले आग्रह गरेको छु।’ सांसद यादवले सरकारी सुपरीवेक्षणमा नारायणी अस्पतालकै मातहतसञ्चालन हुनेगरी कोरोना विशेष अस्पताल त्यहींको जनशक्तिको सदुपयेग गर्दै सञ्चालन गर्न सकिने बताए।

क्याप्सनः कोरोना विशेष अस्पताल बनाउन प्रस्तावित वीरगन्ज हेल्थकेयर अस्पताल। तस्बिरः नागरिक

प्रकाशित: २६ चैत्र २०७६ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App