७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारलाई नयाँ शक्तिको तीन बुँदे ज्ञापनपत्र

काठमाडौं – जनताका सरोकारका मुद्दाहरुमा सरकार उदासिन देखिएको भन्दै नयाँ शक्ति पार्टीले सरकारको ध्यानकर्षण गराएको छ। शुक्रबार नयाँ शक्ति पार्टीले देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरी सरकारको ध्यानाकर्षण गरेको हो।

नयाँ शक्तिले राजनीतिक दलहरुको चरम सत्ता स्वार्थका कारण उत्पन्न दलिय झगडाले राष्ट्रिय पुर्ननिर्माण, संविधान कार्यान्वयन, राष्ट्रिय स्वाधिनता र जनजिविकाका विषयहरु ओझेलमा परेको भन्दै जनताको सरोकारका मुद्दाहरुमा ध्यान दिन सरकारलाई तीन बुँदे ज्ञापनपत्र पेश गरेको छ।

ज्ञापनपत्रमा मुलुकको राजनीतिक स्थायित्वका लागि नेपालको शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्ने, भ्रष्टाचारविरुद्धको शून्य सहनशिलता, पारदर्शी र सुशासनका लागि शक्तिशाली स्वायत्त संवैधानिक लोकपाल गठन गर्नुपर्ने, भुकम्पपछिको पुनःनिर्माणको काम तत्काल तीव्र रुपमा अघि बढाउनुपर्ने, महंगी कालोबजारीको अन्त्य गर्नुपर्ने लगायतका मागहरु राखेको छ।

 ‘वर्तमान संसदीय प्रणालीबाट राजनीतिक स्थायित्व, विकास र प्रगति सम्भव देखिदैँन। त्यसर्थ वर्तमान शासकीय स्वरुपमा परिवर्तन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद रहने व्यवस्था सबैभन्दा उत्तम विकल्प हो । संविधान संशोधनको क्रममा यो विषयलाई समेत समाविष्ट गर्न सरकार समक्ष जोडदार माग गर्दछौँ ’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

त्यस्तै देशका लागि भ्रष्टाचार महारोग बनेको भन्दै राजनीतिक दलहरुकै आड, भरोसा र संरक्षणमा   भ्रष्टाचार मौलाउने गरेको भन्दै सोको अन्त्यका लागि लोकपालको गठन गर्न माग गरेको छ ।

 

प्रकाशित: २९ पुस २०७३ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App