coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चालु आवमै सकिने दुई सय पुल अर्काे वर्ष धकेलिने निश्चित

काठमाडौं – विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले देश लकडाउन गरेसंगै चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्य राखिएका दुई सयभन्दा बढी पुलको निर्माण कार्य प्रभावित भएका छन्।

सरकारले चालु आर्थिक वर्षभित्र रणनीतिक सडक पुल र स्थानीय सडक पुल गरेर तीन सय वटा पुल निर्माण गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म करिव एक सय पुल निर्माण सम्पन्न भएपनि अन्य दुई सय पुल कोरोना संक्रमणको सन्त्रासकै कारणले एक वर्ष धकेलिने निश्चित भएको हो। 

सडक विभाग मातहतको पुल महाशाखा प्रमुख दिपक भट्टराईले पुल निर्माणको मुख्य सिजनमै कोरोनाको कारणले मुलुक लकडाउन भएसंगै पुल निर्माण कार्यमा प्रभावित भएको बताए। ‘चैत वैशाख महिनामा नदीको बहाव अत्याधिक मात्रामा घट्ने गर्छ। सोही समयलाई उपयोग गर्दै नदीमा पुलका ढलानको काम गरिन्थ्यो। तर,अहिले कोरोनाको कारणले ढलानको कामै हुन पाएको छैन,’ उनले भने, ‘यो बेला गर्न नसके। फेरि यही काम गर्न अर्काेवर्ष कुनुपर्ने बाध्यता हुन्छ। त्यसैले कोरोनाकै कारणले चालु आर्थिक वर्षमा नै निर्माण सम्पन्न हुने पुल अर्काे वर्ष धकेलिने निश्चित भइसक्यो।’

पुल महाशाखाले चालु आर्थिक वर्षमा स्थानीय तथा रणनीतिक सडकको ९० प्रतिशतभन्दा धेरै प्रभावित भएको जनायो। महाशाखा प्रमुख भट्टराईले चैत २५ गतेसम्म लडडाउनकै अवधि रहेकाले कहिलेदेखि निर्माण कार्य सुरु हुन्छ भन्ने कुनै निश्चित नभएको बताए। ‘अधिकांश पुल निर्माणमा भारतीय तथा बंगलादेशका कामदार कार्यरत छन्। कोरोनाको संक्रमणको त्रास सकिएपछि पनि उनीहरु कहिले फर्किने अहिलेसम्म टुंगो लागेको छैन,’ उनले भने, ‘चालु आवमा सकिने पुलका आयोजना कुनै पनि हालतमा सकिने सम्भावना देखिदैंन।’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह पनि कोरोना भाइरसको कारणले मुलुक लकडाउनहुँदा सबैभन्दा धेरै  पुल निर्माणको कार्य प्रभावित भएको बताउँछन्। ‘पुल निर्माणको लागि फागुनदेखि वैशाख महिना पुल निर्माणको लागि उपयुक्त सिजन हो,’ उनले भने, ‘यही बेला नदी डाईभटदेखि पुलको फर्मा निर्माण गरेर ढलानको काम गरिन्थ्यो। तर, कोरोनाको कारणले यो उपयुक्त मौसम खेरा जाने काम भयो। अब यो सिजन कुरेर पनि पाइदैन।’ उनका अनुसार नदीको बहाव नियन्त्रण गरेर नदीसँग प्रत्यक्ष जोडिएका निर्माणका काम धेरै प्रभावित भएको छ।

‘जेठ महिना लाग्ने बित्तिकै नदीको बहाव बढ्ने भएकाले पुल निर्माणको काम चाहेर पनि गर्न सकिदैने,’ उनले भने, ‘जेठमहिनाबाटै मनसुनसुरु भएसँगै पुल निर्माणको काम ठप्प हुन्छ ।त्यसैले अर्काे वर्ष कुर्नुको विकल्प देखिदैन्।’
सरकारले चालु आर्थिक वर्षमा बहुवर्षे ठेक्का अन्र्तगत विभिन्न आयोजनाको लागि १६ सयभन्दा धेरै पुल निर्माणको ठेक्का लगाएको छ। कोरोना भाइरसको कारणले ति सबै आयोजनाको काम प्रभावित हुने लगभग निश्चित प्रायः छ।

पुल महाशाखाका अनुसार सरकारले चालु आर्थिक वर्षमा स्थानीय सडकमा पुल निर्माणको लागि सुरुमा चार अर्ब ५७ करोड र चालु आवको बिचमा चार अर्ब ७५ करोड रुपैयाँ बजेट थप गरेको थियो। त्यसैगरी रणनीतिक सडक पुलको लागि भने तीन अर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा मुलुकभर तीन सयभन्दा धेरै पुलनिर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। चालु आवको दोस्रो चौमासिकसम्म एक सय अर्थात ३३ प्रतिशत पुल निर्माणको काम सम्पन्न भइसकेको छ। आर्थिक वर्ष ०७४ ७५ मा मुलुकभर ८२ वटा मात्रै पुल निर्माण सम्पन्न भएको थियो।  गत आर्थिक वर्षमा मुलुकभर दुई सय ४३ वटा पुलनिर्माण सम्पन्न भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एक सय ६१ वटा बढी निर्माण समपन्न भएको थियो। 


 

प्रकाशित: २५ चैत्र २०७६ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App