coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘स्वाब’ लिन सेनाको टोली आएन

अछाममा थ्रोट स्वाब लिन पुगेका सेना र स्वास्थ्यकर्मी बोकेको हेलिकप्टर । तस्बिर साभारः फेसबुकबाट

डोटी- क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि ‘थ्रोट स्वाब’ लिन नेपाली सेनाको टोली मंगलबार डोटीमा आउने कार्यक्रम थियो। यो खबर सञ्चार माध्यमबाट सुनेका शिखर नगरपालिका–१० को सिद्धेवर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेकाहरु विहानैदेखि व्यग्र प्रतिक्षामा थिए।

दिउँसोसम्म नआएपछि निराश बनेका छन्। ‘छिट्टै परीक्षण होला र यताको बसाई टुङ्गीएला भन्ने चाहना थियो,’ क्वारेन्टाइनमा रहेका दीपक बलायरले भने,‘खै के भयो? अहिलेसम्म सेनाको टोली नै आएन।’ यो सम्बन्धी खबर कसैले जानकारी नगराएको उनले बताए।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार मंगलबार आउने भनिएको सेनाको कार्यक्रम स्थगित भएको छ। उनले भने,‘आउन चाँही पक्का आउछ भन्ने छ। तर कहिले आउछ अझै जानकारी आएको छैन।’

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीका लागि स्वाब संकलन सामग्री कम भएका कारण आउन नसकेको खबर पाएको बताए। ‘तत्काललाई कम सामग्री भएर नआएको खबर पाएका छौ,’ उनले भने,‘भोली(बुधबार) वा पर्सी(बिहिबार)सम्ममा आउला!’

मंगलबारै आउने भनेका जिल्लाहरु अछाम र जुम्लामा भने सेनाको टोली पुगेर संकलन कार्य गरिरहेको समाचार छ। डोटीमा बढी मात्रामा मानिसहरु क्वारेन्टाइनमा रहेकाले अलि गाह्रो भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। ‘अछाम र जुम्लामा कम संख्यामा रहेछ। हामीकहाँ बढी छ। त्यो भएकाले सामग्रीको जोहो मिलाएर एकदिन अगावै जानकारी गराउन भनेको छु,’ उनले भने। बुधबार वा बिहीबारका लागि मंगलबार दिउँसोसम्म जानकारी नआएको उनले बताए।

डोटीमा हाल नौ वटा स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनहरुमा चार सय २१ जना छन्। जसमध्ये दुई सयदेखि दुई सय ५० जनासम्मको स्वाब सेनाले परीक्षणका लागि संकलन गरेर लैजाने खबर स्वास्थ्य कार्यालयसंग रहेको प्रमुख मलासीले बताए।


 

प्रकाशित: २५ चैत्र २०७६ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App