coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

ओबामा अभिव्यक्ति

अमेरिकाका ४४औँ राष्ट्रपति बाराक ओबामाले ह्वाइटहाउसमा दुई कार्यकाल बिताएर फर्किने क्रममा दिएको अन्तिम अभिव्यक्ति लोकतान्त्रिक बाटोमा हिँडेका र हिँड्न लागेका संसारका सबै मुलुकका निम्ति निकै अनुकरणीय छ। आठ वर्ष विश्वशक्ति राष्ट्रको शीर्ष पदमा बिताएका ओबामाका अभिव्यक्ति राजनेता बन्न चाहने जोकोहीका लागि उपयोगी देखिन्छ। उनी पदबाट बाहिरिनुपर्दाको कुण्ठा होइन, आफ्नो मुलुकले आगामी बाटो कस्तो समाउँछ, जनताको जीवनस्तर र लोकतन्त्रको भविष्य कस्तो हुन्छ भन्ने चिन्तामा थिए। संविधान वास्तवमा कागजी खोस्टोमात्रै भएकाले त्यसलाई जीवन तथा शक्ति प्रदान गर्ने भनेको जनसहभागिता तथा चुनावबाट सम्भव हुने उनको धारणा थियो। उनले आवधिक निर्वाचन र जनसहभागितालाई प्रजातन्त्रको खास विशेषताका रूपमा अर्थ्याए। प्रजातन्त्रको स्तर कस्तो छ भनी बु‰न स्वतन्त्रता, कानुनी शासनको सम्मान र त्यसको पालना हेर्नुपर्ने उनको भनाइ थियो। मंगलबार आफ्नो गृहनगर सिकागोमा ओबामाले गरेको सम्बोधनले हरेक प्रजातन्त्रप्रेमीलाई भावुक बनाएको छ। उनले आफूलाई कुनै पार्टीको नभई जनताको राष्ट्रपति भएको बताउनुका साथै अमेरिकी प्रजातन्त्र जोगाउन जनतासँग अपीलसमेत गरे। आफूले हरेक दिन जनताबाट सिकेको हुनाले आफूलाई एउटा असल राष्ट्रपति पनि जनताले नै बनाएको अनि एउटा असल मान्छे पनि बन्न सकेको उनको अभिव्यक्ति साँच्चै मर्मस्पर्शी थियो। 

ओबामाका भनाइ निश्चय पनि सारगर्भित लाग्छन्। कुनै पनि मुलुकमा जतिसुकै उत्कृष्ट संविधान भए पनि त्यसको परिपालना र कार्यान्वयन पक्ष फितलो हुँदा नतिजा अकल्पनीय हुन पुग्छ। नेपालजस्तो भर्खरै नयाँ संविधान प्राप्त गरेको मुलुकमा ओबामाको भनाइ झनै मननीय लाग्छ। हामी यतिखेर संविधानको किचलोमा अल्भि्कएका छौँ। संविधानमै सारा कुरा राखिनुपर्ने हठ गरिरहेका छौँ। त्यो 'कागजको खोस्टो'मा भालेजुधाइ गरिरहेका छाँै! संविधानका पक्ष/विपक्षमा उभिएका हाम्रा दलहरूका कुरा सुन्दा यस्तो लाग्छ– संविधान नै नेपालको समुन्नतिको एकमात्र आधार हो। संविधान भनेको साध्य होइन, साधनमात्रै हो भन्ने कुरा हामी भुलिरहेका छौँ। र, लोकतन्त्रको जग मजबुत पार्ने आवधिक निर्वाचनलाई सकेसम्म पर सार्ने क्रियाकलाप गरिरहेका छौँ। यही कारण पनि हाम्रो लोकतन्त्र कहिल्यै परिपक्व(म्याच्योर्ड) बन्न सकेन। ओबामाले भनेजस्तै वास्तवमै संविधान भनेको एउटा कागजको खोस्टोबाहेक केही होइन। संविधालाई शक्ति दिन लोकतन्त्र बलियो पार्नु जरुरी छ र लोकतन्त्र बलियो पार्ने प्रमुख आधार आवधिक निर्वाचन हो। त्यसमा जनसहभागिताको सुनिश्चितता गरिनु अत्यावश्क हुन्छ। ओबामाकै भनाइ सापट लिएर भन्नुपर्दा– हरेक व्यक्तिलाई आर्थिक अवसर हुन्छ भन्ने भावना नभएसम्म प्रजातन्त्रले काम गर्दैन। न्यायप्रणालीमा शिक्षा, अवसर आवास आदि कुनैमा पनि भेदभाव नहुने कानुन आवश्यक पर्छ। संविधान र उच्च आदर्शमा यसको खाँचो छ। तर, कानुनमात्र यथेष्ट हुने छैन। यसका लागि हृदय नै परिवर्तन हुनपर्छ। अमेरिका विश्वमै धनीमात्र होइन शक्तिशाली र सम्मानित राष्ट्रका रूपमा उभिएको छ। त्यसो हुन सक्नुको प्रमुख आधार प्रजातन्त्र, विविधता र खुलापन, जोखिम मोल्ने क्षमता, राजनीतिमा जनताको मर्यादाजस्ता कुराको पालना प्रमुख हुन्।

वास्तवमै लोकतन्त्र सबैभन्दा उत्तम राजनीतिक व्यवस्था हो, यसको कुनै विकल्प हुँदैन। यही व्यवस्थामा असल राजनीतिकर्मी शासनसत्तामा पुग्न सक्दा जनताको मतको मर्यादा हुन्छ। संविधान तथा कानुनको अक्षरशः पालना हुन्छ। समाज समावेशी बन्न पुग्छ र राज्यसंयन्त्रमा सबैको समान पहुँच हुन जान्छ। तर, लोकतन्त्रका नाममा राजनीतिकर्मी जब जनताको मर्यादा गर्न चाहँदैनन्, कानुनभन्दा माथि आफूलाई राख्न खोज्छन् तब लोकतन्त्र वा त्यसको बलमा बनेको संविधान नै खोटो बन्न पुग्छ। त्यो लोकतन्त्रको कमजोरी होइन, कार्यान्वयनको तहमा बस्ने राजनीतिक दल र तिनका नेताको दोष हो। संविधान र कानुन आखिर  सबै कागजका खोस्टा नै हुन्। त्यसमा लेखिएका अक्षर जतिसुकै सुन्दर र समावेशी भए पनि तिनको पालना हुन नसक्दा कुनै अर्थ रहँदैन। नेपालका राजनीतिक दलका नेताहरूले जनमर्यादाका साथै संविधानलाई समयानुकूल संशोधन गर्दै लोकतन्त्रका तमाम अवयवको पालना गर्न सक्दामात्रै साँचो अर्थमा परिवर्तको सार्थकता रहन्छ। राजनीतिक परिवर्तनले मात्र जनताको हित गर्न नसक्ने प्रमाणित भइसकेको छ, अब हाम्रो नेतृत्ववर्गको हृदय नै परिवर्तन हुनुपर्ने अवस्था आएको छ।

प्रकाशित: २९ पुस २०७३ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App