८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रौतहटमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण

रौतहट – जिल्लाको स्थानीय तहले लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ। रौतहटको गढीमाई, मौलापुर, देवाही गोनाही लगायतका नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो। 

त्यस्तै रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ९ बाट नगरपालिकाले समस्यामा परेका गरिब परिवारलाई खाद्यान्न राहत वितरण गर्न सुरु गरेको छ। स्थानीय प्रहरी चौकीमा आयोजित एक समारोहमा मेयर श्यामप्रसाद यादव तथा निमित्त नगर कार्यपालिका कार्यालय प्रमुख नागेन्द्र यादवले एक सय परिवारलाई चामल, दाल, तरकारी, नून र तेलसमेत प्रदान गरेका छन्। वडा कार्यालयबाट छनौट गरिएका वडाका एक सय गरिब परिवारलाई राहत वितरण गरिएको मेयर यादवले बताएका छन्।

हरेक वडा कार्यालयलाई समस्यामा परेका गरिब परिवारको तथ्यांक संकलन गर्न निर्देशन दिइएको र पहिलो चरणमा हरेक वडाका कम्तीमा एक सय परिवारलाई खाद्यान्न राहत सहयोग गर्ने निर्णय भएकोले कार्यान्वयनतर्फ गएको निमित्त कार्यालय प्रमुख नागेन्द्र यादवले बताएका छन्। दोस्रो चरणमा राहतको थप कार्यक्रम ल्याउन सकिने सम्भावना पनि रहेको कार्यालय प्रमुख यादवको भनाइ छ।

लकडाउन लम्बियो र अन्यमा पनि समस्या देखियो भने त्यसै अनुसारको कदम चाल्न स्थानीय सरकार तयार रहेको कार्यालय प्रमुख यादवको भनाइ छ। पहिलो चरणमा नगरपालिकाले स्वास्थ्य सामग्री हरेक घरमा वितरण गरिसकेको र दोस्रो चरणमा खाद्यान्न वितरण गरिरहेको तथा तुरुन्तै नगरपालिकाको सम्पूर्ण घरघरमा औषधि छर्न सबै प्रक्रिया र तयारी पूरा भएको पनि यादवको भनाइ छ।

यसै गरी मौलापुर र देवाही गोनाही नगरपालिकाले पनि अति विपन्न श्रमिक परिवारलाई खाद्यान्न वितरण गरेको छ। समस्या परेका अति गरिबलाई दुई हप्तासम्म पुग्ने चामल, दाल, तरकारी तथा नून र तेल वितरण गरिएको छ।
समस्यामा परेको बेला स्थानीय सरकारले सबै किसिमको सहयोग गर्दै आएकोले खाद्यान्न सहयोग गरिएको मौलापुर नगरपालिकाकी मेयर रीनादेवी साहले बताइन्।

यसै गरी देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले गरिब परिवारलाई खाद्यान्न राहत प्रदान भइरहेको र आवश्यकताअनुसार अन्य सहयोग हुने पनि बताएका छन्।
यसै गरी रौतहटको वृन्दावन नगरपालिकाले पनि पाँच हजार दुई परिवारलाई राहत दिने तयारी गरेको मेयर राम सिनेही यादवले बताएका छन्।

जिल्लामा अन्य स्थानीय सरकारहरुले पनि सर्वसाधारण गरिबलाई केही सहयोग गरिरहेको र खाद्यान्न सहयोगको लागि योजना बनाइरहेको बुझिाएको छ। 

प्रकाशित: २४ चैत्र २०७६ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App