७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकारमाथि प्रदेश सांसदले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

वीरेन्द्रनगर- नागरिक दैनिकका कर्णाली ब्यूरो प्रमुख नगेन्द्र उपाध्यायलाई मुगुका कर्णाली प्रदेशका सांसद दानसिंह परियारले अपशब्द प्रयोग गरेको प्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार शाखाका सचिव सुदीप पुरीले एक विज्ञप्ती जारी गर्दै सांसद जस्तो गरिमामय पदमा रहेकै व्यक्तिबाट पत्रकार अपमानित हुनु दुर्भाग्य भएको जनाएका छन्।

पत्रकार उपाध्यायले उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको गाडी सांसद परियारकी श्रीमतीलाई लिन बाँकेको अगैया गएको विषयमा प्रतिक्रिया लिन खोज्दा अपशब्द प्रयोग गरी गालीगलौज गरेका थिए।

‘सांसद परियारले सामाजिक सञ्जालमा भ्रमपूर्ण सामग्री राखी पत्रकार र पत्रकारिताको प्रतिष्ठामा ठेस पुर्‍याउने कार्य गरेको प्रति महासंघ खेद व्यक्त गर्दछ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ। यसैबीच कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रसारित जागरण एफएमका समाचार वाचक नन्द कठायत रेडियोमा जाँदै गर्दा प्रहरीले हातपात गरेको विषयमा पनि महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्तो संकटका बेलामा पत्रकारहरूलाई सहज ढंगले समाचार संकलन गर्ने वातावरण सिर्जना गरिदिन पनि महासंघ स्थानीय प्रशासनसँग माग गरेको छ। ‘घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न पनि सम्बन्धित निकायसँग महासंघ माग गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ।

 

प्रकाशित: २४ चैत्र २०७६ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App