६ वैशाख २०८१ बिहीबार
समाज

स्थानीय तहले राहत रकम पाए तर विपन्नले पाएनन्

जनकपुरधाम- लकडाउनको अवधिमा गरिब तथा विपन्न परिवारलाई खाद्यन्न र राहत सामग्रीका लागि रकम पठाएको एक साता वितिसक्दा समेत प्रदेश २ का अधिकांश स्थानीय तहले राहत वितरण गर्न सकेको छैन। समन्वय अभाव, झन्झिटलो प्रक्रिया र स्थानीय जनप्रतिनिधिको उदासिनताले राहत वितरण हुन नसकेको हो।

प्रदेश सरकारले लकडाउनको अवधिमा विपन्न तथा ज्याला मजदुरी गरी खाने परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराउने भन्दै गत चैत १७ गते महानगरपालिकालाई २५, उपमहानगरपालिकालाई २०, नगरपालिकालाई १५ र गाउँपालिकालाई १० लाख रुपैयाँ निकासा गरेको थियो। तर प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरी रकम पठाएको र कार्यविधि बनाएकाले राहत वितरणमा समस्या भएको जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झाले बताइन्। ‘प्रदेशले सिधै पैसा पठाएको जानकारी दियो। तर त्यसपछि के भयो, के समस्या भैरहेको छ केही मतलब गरेको छैन,’ उपप्रम्ुख झाले भनिन्, ‘स्थानीय तहलाई कति रकम आवश्यक थियो। राहत कसलाई दिने÷नदिने, कसरी बाँड्ने भनेर सरकारले हामीसँग केही समन्वय नै गरेन। अहिले हामीलाई जनताबाट गाली सुन्नु परेको छ।’

प्रदेश सरकारले सिमित व्यक्तिलाई मात्र राहत दिन कार्यविधि बनाएर पठाएकाले सरकारकै निर्देशनमा चल्दा धेरै व्यक्ति भोकै बस्नुपर्ने उनको भनाइ छ। ‘सरकारले जेष्ठ नागरिक पेन्सन पाइरहेका, एकल महिलाको पेन्सन पाइरहेकालाई राहत नदिन भनेको रहेछ। १० जनाको गरिब परिवारले त्यो पैसाले कसरी धान्ने,’ उपप्रमुख गुनासो सुनाउँदै थपिन्, ‘राहत वितरणमा प्रदेश सरकारको मापदण्डमा नपर्ने जनतालाई उपमहानगरपालिकाले आफ्नै रकमबाट राहत वितरण गर्नेछ। लिस्ट तयार पारीसकेका छौँ पर्सीदेखि वितरण सुरु हुनसक्छ।’ झन्झटिलो कार्यविधि बनाएर पठाएको प्रदेश सरकारले विपद्को बेला समेत कुनै किसीमले समन्वय नगर्दा राहत वितरणमा ढिलाई भएको औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादवले गुनासो पोखे।

‘गाउँमा हुनेखानेले पनि राहत मागिरहेको छ। सर्वदलीय समितिमा पनि समस्या भइरहेको छ। हामी लागि परेका छौँ। छिट्टै राहत वितरण हुन्छ,’ अध्यक्ष यादवले भने। उनका अनुसार गाउँपालिकाको तर्फबाट हालसम्म कुनै राहत सामग्री वितरण भएको छैन। गाउँमा राहत वितरणमा समेत राजनीति गर्ने प्रयास हुँदा राहत वितरणमा कठिनाइ भइरहेको वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले बताए। ‘सरकारले समन्वय, सल्लाह सुझाव केही दिएको छैन। कार्यविधि अनुसार राहत बाँड्ने हो भने कठिन् छ तैपनि हामी छिट्टै वितरण गछौँ,’ उनले भने।

 

प्रकाशित: २४ चैत्र २०७६ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App