काठमाडौं- शरद भेषावकरको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाली राइनोजले बिहीबार रूस्लान कप क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बलको एपिएफलाई ५ विकेटले पराजित गरेको छ।
शरद भेषावकरले ४ ओभरमा १६ रन दिएर दुई विकेट लिए भने २० रनमा अविजित रहे। कर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्त्याइएको एपिएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो। १ सय २४ रनको लक्ष्य नेपाली राइनोजले दुई बल अघि ५ विकेट गुमाएर पूरा गरेको थियो।
एपिएफका ओपनर सुवाश खकुरेल र असिफ शेखले समान १८ रन बनाए। भुवन कार्कीले ३३ रन जोडे भने कप्तान पारस खड्का १८ रनमा पवेलियन फर्किए। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। राइनोजको शरदबाहेक सुशिल कँडेल, पवन सर्राफ, रिजन ढकाल र रुपेश श्रीवास्तवले १–१ विकेट लिए।
ओपनर प्रकाश विष्ट २ रनमा आउट भए पनि संजय श्रेष्ठ र जितेन्द्र मुखियाले राइनोजको इनिङ सम्हालेका थिए। संजयले १६ बलमा २६ रन बनाए भने जितेन्द्रले ३१ बलमा ३२ रनको योगदान गरेका थिए। सोनु तामाङले १४ बलमा ४ चौका र २ छक्का सहित ३३ रनमा अविजत रहँदा २५ बल खेलेका शरद २० रनमा अविजित रहे। एपिएफका वसन्त रेग्मीले २ विकेट लिए भने भुवन र पारसले १–१ विकेट लिए।
बिहीबारै दोस्रो खेलमा मेहबुब आलामको अलराउन्डर प्रदर्शन मद्दतमा हिमालयन ह्वाइट हाउस कलेजले पिसी फाइटर ११ माथि १ सय ७ रनको विजय हासिल गरेको छ। मेहबुब अलामले ४५ बलमा ४ छक्का र ५ चौका सहित ५१ रन बनाएपछि टस हारेर ब्याटिङ निम्त्याइएको ह्वाइट हाउस कलेजले ९ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो।
ओपनर हसिम अन्सारी र आकाश थापा शुन्य रनमा पवेलियन फर्किए पछि शुबेन्दु पान्डे र महेबुबले ह्वाइट हाउसको इनिङ सम्हालेका थिए। सुबेन्दुले २८ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाएका थिए।
प्रशान्त थापामगरले ३२ रन बनाए भने अमरसिंह रौतेलाले २५ रन जोडे। प्रशान्तले १८ बलमा ५ चौका प्रहार गरे भने अमरसिंहले १९ खेलेर २ चौका प्रहार गरे। पिसी फाइटरक चन्द्रदेव जोशीले ३ विकेट लिए भने अरुण चन्द र चन्द्रदेव पन्तले २–२ विकेट लिए। अनिल अर्यालको नाममा १ विकेट रह्यो।
पिसी फाइटरका नरेश चन्दले २२ र अरुण चन्दले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
४ ओभरमा बलिङ गरेका मेहबुब अलामले २ मेडन सहित २ रन दिएर ३ विकेट लिए। सन्दीप ढुंगाना र हसिम अन्सारीले समान २–२ विकेट लिए भने अमरसिंहले १ विकेट लिए। ह्वाइट हाउसले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
प्रकाशित: २९ पुस २०७३ ०३:४५ शुक्रबार