coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आइसोलेसनमा राखिएका तीनसहित उदयपुरका ५ को रिपोर्ट ‘नेगेटिभ’

उदयपुर- कोरोना भाइरस (कोभिड–१९) संक्रणको आशंकामा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका ३ सहित उदयपुरका ५ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ पाइएको छ। ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकीजस्ता कोरोना लक्षण देखिएपछि एकसातादेखि आइसोलेसनमा राखेर उपचाररत दुई महिलासहित ३ जनाको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

अस्पतालका अनुसार सातादिनदेखि उपचाररत त्रियुगा नगरपालिका ११ की ३१ वर्षीया र त्रियुगा ५ की ३४ वर्षीया महिलाको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरुसँगै त्रियुगा ११ का २६ वर्षीय युवकको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले बताए।

आइसोलेसनमा राखेर उनीहरको थ्रोट स्वाब (खकार) परीक्षणका लागि संकलन गरी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। तीनैजनाको रिपोर्ट नेगेटिभ आएपछि शनिबारै उनीहरुलाई डिस्चार्ज गरिएको छ। महिलाद्वयलाई ज्वरो र रुघाखोकी लागेकाले आइसोलेसनमा राखिएको हो भने सकुशल रहे पनि दुवईबाट फर्केका युवकलाई आइसोलेसनमा राखिएको हो। यसअघि सिंगापुरबाट फर्केका त्रियुगा ६ का विजय चौधरी, कतारबाट फर्केका बेलका नगरपालिका ३ का विद्यानन्द चौधरीको रिपोर्ट नेगेटिभ आएको थियो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारका अनुसार संक्रमणको आशंका गरिएकाहरु सबैको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। यसअघि दुई युवाको रिपोर्ट नेगेटिभ आएको र पछि आइसोलेसनमा बस्नेहरुको पनि नेगेटिभ आएको उनले बताए। अहिलेसम्म परीक्षण गर्न पठाइएका ५ जनाको रिपोर्ट नेगेटिभ आएको अध्यक्ष परियारले बताए।

यसैबीच फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवती सवार जहाजमा आएका लिमचुङबुङका एक युवकको स्वाब परीक्षण गर्न धरान पठाइएको छ। उनीसँगै भारतको कालेम्पोङबाट आएका लिमचुङबुङकै थप ३ को स्वाब पनि धरान पठाइएको मेसु डा. मण्डलले बताए।

उनीहरुसँगै अस्पतालले संकलन गरेको भारतकै दार्जिलिङबाट आएका अन्य ४ को स्वाव पनि आइतबारै परीक्षण गर्न धरान पठाइएको छ। डा. मण्डलका अनुसार उनीहरुको रिपोर्ट २ दिनभित्र आउनेछ।
    

प्रकाशित: २४ चैत्र २०७६ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App