काठमाडौं- नयाँ वर्षको सुखद सुरुआत गर्ने क्रममा यसबीच कुनै अन्तर्राष्ट्रिय खेल नखेले पनि नेपाल फिफा विश्व वरियताक्रममा ६ स्थान माथि उक्लिएको छ। विश्व फुटबलको सर्वोच्च निकायले बुधबार जारी गरेको वरियताक्रममा नेपाल १ सय ८१ बाट १ सय ७५ औं स्थानमा उक्लिएको छ। एसियाली वरियतामा ३७ औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली प्रतिद्वन्द्वीबीच पनि चौथो स्थानमा छ। दक्षिण एसियाली देशमध्ये भारत सबभन्दा माथि १ सय २९ औं स्थानमा छ। भारतले अघिल्लो वरियताको तुलनामा ६ स्थान फड्को मारेको छ। दक्षिण एसियाबाट दोस्रो स्थानमा माल्दिभ्स १ सय ४५ तथा तेस्रो स्थान (१ सय ५१)मा रहेको अफगानिस्तान नेपालभन्दा माथि छन्। माल्दिभ्सले दक्षिण एसियाली देशमध्ये सबभन्दा लामो ९ स्थान फड्को मार्न सफल हुँदा अफगानिस्तान भने ५ स्थान तल झरेको थियो।
पछिल्लो पटकको वरियतामा नेपालभन्दा माथि रहेको भुटान यसपल्ट १ स्थान तल झर्दा नेपालभन्दा पछि परेको छ। भुटान १ सय ७६ औं स्थानमा झर्दा ५ स्थान तल झरेको बंगलादेश १ सय ९० तथा १ स्थान तल झरेको श्रीलंका १ सय ९६ औं स्थानमा छन्। पाकिस्तान भने १ सय ९७ औं स्थानमा यथावत छ।
अर्जेन्टिना शीर्ष स्थानमा कायम रहेको वरियताको माथिल्ला ३४ स्थानसम्म अघिल्लो संस्करणबाट कुनै परिवर्तन आएको छैन। ब्राजिल दोस्रो स्थानमा कायम रहँदा जर्मनी तेस्रो तथा चिली चौथो स्थानमा यथावत छन्। पाँचौं स्थानमा बेल्जियम, छैटौं स्थानमा कोलम्बिया, सातौं स्थानमा फ्रान्स, आठौं स्थानमा पोर्चुगल, नवौं स्थानमा उरुग्वे तथा १० औं स्थानमा स्पेन कायम छन्।
एसियाली देशमध्ये शीर्ष स्थानमा रहेको इरान विश्व वरियताको २९ औं स्थानमा छ भने दोस्रो स्थानको दक्षिण कोरिया ३७ तथा अस्ट्रेलिया ४४ औं स्थानमा छन्। एसियाली वरियतामा भारत १९ औं स्थानमा रहँदा माल्दिभ्स २५ तथा अफगानिस्तान २८ औं स्थानमा छ। नेपाल ३७ औं स्थानमा छ भने भुटान ३८, बंगलादेश ४२, श्रीलंका ४४ तथा पाकिस्तान ४५ औं स्थानमा छन्। ४६ सदस्य रहेको एसियाली फुटबल महासंघका सदस्यमध्ये पुछारमा मंगोलिया छ।
प्रकाशित: २९ पुस २०७३ ०३:४२ शुक्रबार