५ वैशाख २०८१ बुधबार
विचार

अभिभावकका सपनामा डोरिएर...

बबर्जन शाही
कक्षा : ८ 
श्री तिला नमूना आधारभूत विद्यालय, 
महावै–२, कालिकोट

हाम्रो सिँगो परिवारलाई पालनपोषण गर्ने र हाम्रो पढाईलेखाइमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने हाम्रा अभिभावक हुन्। विश्वमा फैलिदै गएको कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकारले लगाएको लकडाउनका कारण घरमा बसेका बेला पनि अभिभावकले हामीलाई उत्तिकै माया गरिरहनु भएको छ।  घरमा मेरा भाईवहिनी कठिन महसुस गर्दैछन्, सायद स–साना भएकाले होला। बरोबर म उनीहरूलाई सम्झाउँछु। आफुले जानेका कथा र कविता सुनाएर उनीहरूलाई खुसी बनाउने कोशिस गर्दैछु। 

मेरा अशिक्षित आमाबुबा र भाईवहिनीलाई रेडियो र समाजमा चेतनामुलक काम गर्ने सहजकर्ताहरूबाट सिकेका कुरा बुझाउँदै छु। आज कोरोना भाइरसका कारण विश्वभर त्रास फैलेको छ। कोभिड–१९ को प्रभाव पहिलो र दोस्रो विश्व युद्दको भन्दा अलि फरक खालको देखिएको छ। सुन्दा सामान्य जस्तो देखिने यो भाइरस महामारीका रूपमा फैलेको छ। विश्वका हरेक मानिस डराएका छन्। जनजीवन कठिन बन्दै गएको छ। म नेपाल देशको एक अनकन्टार र विकट गाउँमा जन्मेको मान्छे हुँ। भौगोलिक विकटता र सूचना संचारको पहुँचबाट टाढा रहेको सानो गाउँमा कोभिड–१९ को प्रभाव ठुलो परेको छ। यस प्रभावलाई न्यूनीकरण गर्न मेरो पनि भूमिका रहनु स्वाभाविक छ। महामारीको संकटकालीन अवस्थामा मैले बुझेका कुरा अभिभावक र भाईवहिनीलाई सुनाउँदै आएको छु। 

अघिपछि कहिले पढाइको त कहिले कामको व्यस्तता हुन्थ्यो, लकडाउनमा घरमा बस्दा सन्तानप्रति अभिभावकको माया कति हुँदोरहेछ भन्ने बुझ्न पाएको छु।

लकडाउनमा बन्द घरभित्र बस्नु रहर होइन बाध्यता हो। कोभिड–१९ को सामना र यस भाइरसलाई न्यूनीकरण गर्न, आफु जोगिन र अरुलाई जोगाउन लकडाउनको विकल्प छैन। संसारका सबै प्राणी भन्दा सर्वश्रेष्ठ मानव। विवेकको प्रयोग गरेर कोरोना भाइरसलाई जित्नु पर्छ हामीले। लकडाउनमा बस्दा धेरै कुरा सिक्न पाएको छु। आफ्ना सन्ततिको भविष्यका लागि अभिभावक सधैं सकारात्मक हुँदा रहेछन्। बल्ल मैले लकडाउनमा आमाबुबा, बाजेबज्यै लगायत सम्पूर्ण अभिभावकसँग बस्ने मौका पाएँ। मन खोलेर कुरा गर्न पाएँ। कहिले साथीभाईसँग, कहिले पढाईमा र कहिले काममा अल्मलिएर समय बिताइरहेको म यो समयमा अभिभावकसँग घरभित्र बसि उनीहरूको ममता र म प्रतिको जिम्मेवारी देख्दा लाग्यो कि म कुन संसारमा हराईरहेछु।

आमाबुवाले मलाइ गर्ने माया र मैले उहाँहरूप्रति गर्ने मायामा धेरै फरक रहेछ। छोरा बिग्रिन्छ कि भनि हरपल चिन्ता गर्ने मेरा अभिभावक साँच्चै महान छन्। जसरी अभिभावकले मलाई पलपल सम्झाउनु, बुझाउनु हुन्छ त्यस्तै गरी भोलि आउने मेरा सन्ततिलाई पनि मैले सम्झाएर उनीहरूलाई असल बाटोमा लगाउनु पर्छ। यही कुरा अभिभावकबाट सिकिरहेको छु। समाजको राम्रो मान्छे बनेर देशको सेवा गर्नुपर्छ, कुसङ्गत र नराम्रो काम गर्नुहुदैन भन्ने कुरा अभिभावकबाट सिक्ने अवसर पाएको छु। लकडाउन नभइदिएको भए म कहिल्यै अभिभावकँंग यसरी बसेर राम्रा कुरा सिक्ने मौका पाउने थिइन् होला ! 

अभिभावकमा सधैं सन्तानका बारेमा सोची उनीहरूलाई कस्तो बाटोमा लैजाने र उनीहरूको भविश्य कस्तो बनाउने ठूलो चिन्ता र चासो हुँदो रहेछ। लकडाउनमा बसेका बेला मैले आफ्ना अभिभावकको चाहना र सपना राम्ररी बुझ्न पाएँ। 

प्रकाशित: २४ चैत्र २०७६ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App